मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टोपलाल अर्याल
२०७५ चैत ४ सोमबार १३:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रदेश सरकारको बिडम्वना: कर्मचारी बजार झरे कार्यालय नै बन्द !

Read Time : > 1 मिनेट
टोपलाल अर्याल
२०७५ चैत ४ सोमबार १३:५३:००

एक कार्यालय एक कर्मचारी । कार्यालय प्रमुखदेखि सहायक आफैँ । फिल्डको कुरै भएन, बजार झरेपनि गेटमा ताल्चा मार्नुपर्छ । ५ नम्बर प्रदेश अन्तरगत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाको सम्पर्क केन्द्र गुल्मीका प्रमुख डिल्लीराज मरासिनी हुन् । गत मंसिरमा कार्यालय स्थापना भएदेखि उनी एक्लै छन् ।

प्रदेश सरकारले विज्ञ केन्द्र पाल्पामा स्थापना गरेको छ । सो कार्यालय अन्तरगत १२ जनाको दरबन्दी रहेको छ । तर अहिले पाल्पामा तीन जना र गुल्मीका एक जना कर्मचारी रहेका छन् । पशुको गोबर, दिसापिसाव परीक्षण र औषधी बितरणको काम यो सम्पर्क कार्यालयबाट भैरहेको कार्यालय प्रमुख डिल्लीराज मरासिनीले जानकारी दिए ।

यो सेवा र कार्यालय प्रति विश्वास भएकाले धेरै जना सेवाग्राही विभिन्न स्थानबाट आउने गर्दछन् । तर कर्मचारीको अभावमा कार्यालय बन्द हुने गरेको छ । कार्यालय गत फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म बन्द थियो । कार्यालय प्रमुख मरासिनी स्थानीय तहहरुमा विभिन्न सामाग्री वितरण गर्न गएसंगै कार्यालय बन्द भएको हो । फागुन २८ र २९ गते इस्मा गाउँपालिकामा सामाग्री हस्तान्तरण गर्ने भएकोले कार्यालय बन्द रहने सूचना बाहिर गेटमा टाँसेको छ ।

तर त्यसयताको कुनै सूचना टाँस गरिएको छैन । जसले गर्दा सेवाग्राहि कार्यालय धाउदैँ–फर्कदै गर्न बाध्य छन् । कर्मचारी नै कार्यालयमा ताल्चा लगाएर हिँडेपछि सेवाग्राही मर्कामा परेका छन् । भैँसीको गोबर जाँच गर्न आएकी रेसुङ्गा नगरपालिका–४ रैदीकी मिना मरासिनी कार्यालय बन्द भएपछि घर फर्किन् । सोहि ठाउँकी शारदा पन्थीले पनि कार्यालयमा ताल्चा लाग्दा आाफू निराश भएको बताइन् । ‘बाख्राको औषधि चाहिएर डेढ घण्टाको बाटो आएँ, गेटमा ताल्चा लाएर कर्मचारी रैनछन्,’ उनले भनिन्, ‘गाउँ–गाउँमा सिहं दरबार थाहा पाइयो ।’ 

कार्यालय प्रमुख मरासिनीले कार्यालयमा आफू एक्लै भएकोले कार्यालय नै बन्द गर्नुपर्ने बाध्यता रहेको प्रतिक्रिया दिए । ‘सेवाग्राही पनि आइरहन्छ, कर्मचारी मै मात्र हो,’ उनले भने,‘एक दिन हैन, एक छिन बाहिर गएपनि ताला लगाउनुपर्ने बाध्यता छ ।’ भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका बरिष्ठ चिकित्सक चन्द्रबहादुर रानाले कर्मचारी अभावले यो समस्या सृजना भएको बताए ।

रानाले कर्मचारी समायोजनपछि समस्याको केहि हदसम्म समाधान हुने आशा व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले एक कार्यालय, एक कर्मचारी बिडम्बनापूर्ण भएको बताए । उनले त्यो कार्यालयका बिषयमा प्रदेश वा सम्पर्क केन्द्रबाट आफूलाई कुनै जानकारी नआएको बताए । ‘प्रदेशले कार्यालय खोल्ने तर व्यावस्थापन नगर्दा समस्या देखिएको होे,’ पौडेलले भने,‘मलाई न कर्मचारी न प्रदेश कसैले जानकारी गराएका छैनन् ।’