मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १४ मंगलबार १४:३६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा 

Read Time : > 1 मिनेट
२०७९ असार १४ मंगलबार १४:३६:००

चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ। चितवनको भरतपुर महानगरपालिका– ११आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलाेमिटर प्रसारण लाइनमा सोमबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो। 

यसअघि नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएको थियो। त्यसलगत्तै प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो। ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने दुई सय ४६ वटा टावरमध्ये दुई ४४ वटाको निर्माण गरी तार टाँगिएको छ। भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ। भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो। भरतपुर सबस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत् प्रवाह हुनेछ। 

अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेसनमार्फत विद्युत् आपूर्ति हुनेछ। ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत् खपत हुने गरेको छ। पुरानो १३२ केभी लाइनबाट कावासोतीलगायतका  क्षेत्रमा विद्युत् आपूर्ति भएपछि सोमबारबाट सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ करिब एक सय मेगावाट विद्युत् सीधै पठाउन सकिनेछ।

अहिले भरतपुर–बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षेत्रमा विद्युत् आपूर्ति गरी बाँकी विद्युत् बर्दघाटतर्फ प्रवाह हुन्थ्यो। हाल चालू रहेको भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन सिंगल सर्किट मात्रै छ। जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत् पठाउन नसकिने अवस्था थियो। भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोतीलगायतका क्षेत्रको करिब २५ मेगावट लोड सिफ्ट भएकाले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् आपूर्ति गर्न सकिने भएको छ।

भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि भरतपुरबाट बर्दघाटतर्फ करिब २५ विद्युत् थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘भरतपुरतर्फ विद्युतको माग बढी रहेको, तर हाल सञ्चालनमा रहेको १३२ केभी लाइनको क्षमतालाई नधानेर थप विद्युत् पठाउन सकेका थिएनौँ,’ उनले भने, ‘अब कावासोती क्षेत्रको लोड सिफ्ट गरिएकाले थप विद्युत् बर्दघाटतर्फ पठाउन सक्छौँ।’ उनले यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा केही सहज भएको दाबी गरे। 

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका– २ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुईवटा टावर निर्माण कार्य अलपत्र अवस्थामा थियो। सर्वोच्च अदालतले गत आइतबार रिट खारेज गरिदिएपछि दुईवटा टावर निर्माणको बाटो खुलेको छ। प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गर्दै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि लाइन निर्माणको काम ०७७ चैतबाट रोकिएको थियो। सर्वोेच्चले रिट खारेज गरेसँगै मुआब्जा निर्धारणको प्रक्रिया सुरु गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताए।