१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रुकुम (पूर्व)
२०७५ चैत ४ सोमबार ११:१४:००
Read Time : > 1 मिनेट
प्रदेश

चिस्यान केन्द्रमै सुन्तला कुहिए 

Read Time : > 1 मिनेट
रुकुम (पूर्व)
२०७५ चैत ४ सोमबार ११:१४:००

चिस्यान केन्द्रमै सुन्तला कुहिएपछि जिल्लाको सिस्ने गाउँपालिका–८ का सुन्तला उत्पादक किसानहरू चिन्तित बनेका छन् । आफैंले निर्माण गरेका परम्परागत चिस्यान केन्द्रमा सुन्तला कुहिएपछि किसानहरू चिन्तित बनेका हुन् ।

सुरु–सुरुका वर्ष सुन्तला राम्रोसँग भण्डारण गरेका किसानहरू पछिल्लो समय सुन्तला कुुहिने क्रम बढ्दै गएपछि समस्यामा परेका छन् । ढुंगा, काठ र बाँसको सहयोगमा बनाइएको चिस्यान केन्द्र सफल छैनन् । सुन्तला टिप्नबित्तिकै बोटबाटै बिक्री नहुने र बजार पु¥याउन सडकको सुविधा नहुँदा किसान समस्यामा परेका हुन् । कात्तिक र मंसिर महिनामा किसानले सुन्तला भण्डारण गर्ने गर्दछन् । भण्डारण गरेका सुन्तला ५० प्रतिशतसम्म कुहिने गरेको किसानको गुनासो छ । 

स्थानीय सुन्तला उत्पादक किसान खड्कबहादुर पुनले यो वर्ष एक सय २० क्विन्टल सुन्तला चिस्यान केन्द्रमा राखेका थिए । अहिले करिब २० क्विन्टल सुन्तला चिस्यान केन्द्रमा छन् । चिस्यान केन्द्रमा रहेकामध्ये २५ प्रतिशत सुन्तला कुहिसकेको बताए । भण्डारण गरेका सुन्तला सबै बिक्री हुने वेलासम्म ५० प्रतिशत कुहिने गरेको बताए । कतिपय किसानले कुहिने डरले भण्डारण गरेका सुन्तला सस्तोमा बिक्री गरेका छन् ।

किसान भद्रवीर पुनले अहिले करिब १० क्विन्टल सुन्तला चिस्यान केन्द्रमा भण्डारण गरेका छन् । यो वर्ष उनले करिब ४० क्विन्टल सुन्तला भण्डारण गरेकामा अरू सुन्तला सस्तो मूल्यमा बिक्री गरिसके । चिस्यान केन्द्रमा त्यतिकै कुहिएर जानुभन्दा सस्तोमै धमाधम सुन्तला बेचेको उनको भनाइ छ । 

सरकारले केही नगरेको गुनासो 
किसानहरूले सुन्तलाको बजार, ढुवानी तथा भण्डारणका लागि केही नगरेको गुनासो गरेका छन् । सुन्तला बेच्ने बजारसम्म सुन्तला पुर्‍याउन ढुवानी अनुदान दिनुपर्ने माग किसानले गरिरहेका छन् । गाउँसम्मै सडक नपुग्दासम्म सुन्तलामा ढुवानी अनुदान दिँदा फलेका सबै सुन्तला बिक्री हुने र कुहाउनुपर्ने बाध्यता हट्ने अर्का किसान गोपाल पुनले गुनासो गरे । ठूलो अत्याधुनिक चिस्यान केन्द्र स्थापना गर्नुपर्ने माग किसानको छ । 

 उत्पादन बढाउने योजना
उत्पादित सुन्तलाको बजार खोज्नेभन्दा पनि वडा कार्यालयले थप उत्पादन बढाउने योजना बनाएको छ । वडा कार्यालयले यो वर्ष सुन्तलाको क्षेत्र विस्तारका लागि सुन्तलाका बिरुवा वितरणको कार्यक्रम बनाएको छ । गाउँपालिकाले वडा नम्बर ५ र ६ को रुकुमकोटमै चिस्यान केन्द्र बनाउने निर्णय गरेको छ । तर, बजेट भने विनियोजन गरिएको छैन । चिस्यान केन्द्र रुकुमकोटमै बनाइने, तर त्यसका लागि अर्को वर्ष मात्रै बजेट विनियोजन हुने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् ।