१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ चैत ४ सोमबार ११:१४:००
Read Time : > 1 मिनेट
प्रदेश

हिउँ पन्छाउँदै सडक खन्दै

Read Time : > 1 मिनेट
२०७५ चैत ४ सोमबार ११:१४:००

धवलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दा हिउँ पन्छाउँदै विकास निर्माणमा जुटेका छन् । गाउँपालिकाले विकास निर्माणमा विनियोजन गरेको बजेट हिमपातका कारण फिर्ता जाने अवस्था आएपछि उनीहरूले हिउँ पन्छाएर भए पनि काम सुरु गरेका हुन् । गुर्जा, चुरेन र पुथा हिमालले घेरिएको गुर्जामा चैत लाग्दासमेत हिउँ पग्लिएको छैन । जसका कारण विकास निर्माणमा ढिलाइ भएको छ । 

वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार वडाको सिफारिसमा गाउँपालिकाबाट बजेट विनियोजन भएका योजना कार्यान्वनयका लागि प्रतिकूल मौसमका बाबजुद पनि उपभोक्ता जुटेका छन् । ‘हिउँ नपग्लिएका कारण चिसो अत्यधिक छ, विकास निर्माणका योजना समयमै सक्न बिहानदेखि साँझसम्मै स्थानीय र उपभोक्ता समिति लागिपरेका छन्,’ वडाध्यक्ष छन्त्यालले भने । 

उनका अनुसार योजनाहरूको गुणस्तर र मापदण्ड कामय गर्न जनप्रतिनिधिहरूले नियमित अनुगमन गरिरहेका छन् । गाउँमा खेलमैदान निर्माण, ठाडोखोल्सा कुलो व्यवस्थापन, ढल व्यवस्थापन, स्वास्थ्य चौकी मर्मत र घेराबार, विद्यालयको छानो मर्मतलगायत काम भइरहेको वडा कार्यालयले जनाएको छ । 

कहाँ–कति बजेट ?
गुर्जामा खेलमैदान निर्माणका लागि ५ लाख, गाउँ प्रवेश गर्ने ठाडोखोल्सामा कुलो व्यवस्थापनका लागि ११ लाख बजेट विनियोजन भएको छ । यसैगरी, चुरेन हिमालको आधार शिविर जाने बाटोमा तल्लो झिमादेखि आधार शिविरतर्फ पदमार्ग निर्माणका लागि १० लाख बजेट विनियोजन भएको छ । 

लुलाङ हुँदै गुर्जा जाने बाटोमा देउरालीनजिकैको वनथानदेखि लत्रबाङसम्मको गोरेटो बाटो मर्मत र पदमार्ग निर्माणका लागि ११ लाख, गाउँमा ढल निकासका लागि ६ लाख, स्वास्थ्य चौकी भवन मर्मत र घेराबारका लागि १५ लाख, जनकल्याण माविको छानो मर्मत र घेराबारका लागि  १२ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । 

धवलागिरि गाउँपालिकामा चालू आव ०७५/०७६ का लागि १ सय २० वटा भौतिक पूर्वाधारतर्फका योजना छनोट भएकोमा अहिलेसम्म ७० प्रतिशत योजना सम्झौता भई कार्यान्वयन चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । गाउँपालिकाले असारे विकासलाई अन्त्य गर्ने लक्ष्य लिएको छ ।