मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १३ सोमबार १९:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस समाजवादमा नआए समाजवादका पक्षधरहरू मिल्नुपर्ने नेता खनालको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १३ सोमबार १९:३३:००

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गरेका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले नेपाली कांग्रेसलाई वामपन्थीहरूसँग मिलेर समाजवादको यात्रातर्फ आउन आग्रह गरेका हुन् । उनले कांग्रेस समाजवादमा आए स्वागत गर्न तयार रहेको बताए । 

कांग्रेस समाजवादमा नआउने हो भने समाजवादका पक्षधरहरू मिल्नुपर्ने नेता खनालको धारणा थियो । उनले गठबन्धन संसद् विघटनको विरुद्धमा उभिएर संविधान बचाउन सफल भएको भन्दै आगामी दिनमा कुनै पनि प्रधानमन्त्रीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बाटोमा गएर संसद् विघटन गर्न नसक्ने बताए । उनले प्रतिपक्ष दल नेकपा(एमाले)ले स्थानीय निर्वाचन पछाडि विनासर्त संसद् चल्न दिनु वाम लोकतान्त्रिक गठबन्धनको विजय भएको उल्लेख गरे । 

‘अब प्रस्ट रूपले समाजवादको यात्रातर्फ अगाडि बढौँ । नेपाली कांग्रेस पनि समाजवादकै यात्रातर्फ लाग्छौँ, हामी वामहरूसँग मिलेरै जान्छौँ भन्नुहुन्छ भने स्वागत छ,’ नेता खनालले भने, ‘तर, अब उहाँहरू हामी त अलि यस्तै उस्तै हो, कहिलेकाहीँ प्रजातान्त्रिक समाजवाद भन्छौँ, ०१२ सालमा वि.पि.ले ल्याइदिनुभो । अब म एकजना त छु नि रामचन्द्र पौडेल यो कुरा भन्ने अरूले बिर्सिहाले भन्नुहुन्छ भने अब जो-जो समाजवादको पक्षमा तयार छौँ, उहाँहरूले अगाडि बढेर जानुपर्यो ।’
नेता खनालले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले यस्तो निर्वाचन प्रणाली अपनाएर समाजवादको बाटोमा जान कठिन हुने बताए । उनले एक करोड रुपैयाँ नभई निर्वाचन लड्न नसक्ने अवस्था आएको भन्दै निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए । उनले आमश्रमिक जनताले चुनाव लड्न सक्ने व्यवस्था बनाउनुपर्ने बताए ।

सम्मानित नेता खनालले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना नेपाल आएमा चारपाटा मोडियोस् भन्नेहरू कहाँ छन् भन्ने प्रश्नसमेत गरे । उनले अमेरिकासँगको एसपिपी सम्झौता रोकेर नेपालको राष्ट्रियता जोगिएको पनि बताए । ‘कतिपयले मलाई चारपाटा मोडेर निकाल्नु अमेरिकन सेना यहीँ आयो भने भनेका थिए । आज ती चारपाटा मोडियोस् भन्नेहरू कहाँ छन् ? त्यो डकुमेन्टले देखाएन ?’ उनले भने, ‘मैले संसदमा सोध्न बाँकी नै छ यो कुरा । एसपिपी आयो तर रोकियो । नेपालका पहाडहरूमा अमेरिकी सेना परेड खेल्नबाट रोकियो । अलिकति भए पनि हाम्रो देशको राष्ट्रियता जोगियो ।’

एसपिपी सम्झौता गरेको भए नेपालको असंलग्न परराष्ट्र नीति र एक चीन नीतिको विपरीत हुने उनको भनाइ थियो ।