१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तेजराज भट्ट सुदूरपश्चिम
२०७९ असार १३ सोमबार ०९:०८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्तापक्षकै सांसद विरोधमा उत्रेपछि सुदूरपश्चिम प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेन

माओवादी, एकीकृत समाजवादी, कांग्रेस तथा एमालेका सांसदले बजेट संशोधन हुनुपर्ने अडान राखेपछि बैठक स्थगित

Read Time : > 2 मिनेट
तेजराज भट्ट, सुदूरपश्चिम
२०७९ असार १३ सोमबार ०९:०८:००

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल हुन सकेको छैन । सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बजेट संशोधन हुनुपर्ने मागमा एकजुट भएपछि बजेटमाथिको छलफल सुरु हुन नसकेको हो । छलफल रोकेर सरकार असन्तुष्टलाई मनाउने प्रयासमा जुटेको छ ।

सरकारको आग्रहमा सभामुख अर्जुनबहादुर थापाले बजेटमाथिको छलफलका लागि बोलाएका दुईवटा बैठक स्थगित भएका छन् । गत ८ असारमा बोलाइएको प्रदेश सभाको बैठकमा बजेटमा छलफल सुरु हुने कार्यसूची समावेश गरिएको थियो । तर, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित सत्तारूढ एकीकृत समाजवादी र कांग्रेस तथा प्रमुख प्रतिपक्षी एमालेका सदस्यले बजेट संशोधन हुनुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।

सरकारले समय माग गरेपछि प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर विशेष कारणवश बैठक स्थगित गरिएको जनाउँदै अर्को बैठक १२ असारमा बस्ने जनाएको थियो, तर आइतबार पनि बैठक बस्न सकेन । आर्थिक मामिलामन्त्री प्रकाश रावल काठमाडौं रहेकाले सरकारको आग्रहमा आइतबारको बैठक पनि स्थगित गरिएको संसद् सचिवालय स्रोतले जनाएको छ । बैठक १६ असारसम्म सारिएको छ ।

बिचौलियाको प्रभावमा परेर सरकारले मनपरी र हचुवा ढंगले आर्थिक अनुशासनविपरीत योजनाहरू रातो किताबमा राखेको भन्दै प्रदेश सांसदहरू आक्रोशित छन् । प्रदेश सांसद र स्थानीय तहले सिफारिस गरेका योजनाभन्दा बिचौलियाबाट आएका योजनाहरूमा सरकारले बजेट विनियोजन गरेको उनीहरूको आरोप छ । त्यस्ता योजनाहरू संशोधन गर्नुपर्ने मागसहित प्रदेश सांसदहरू विरोधमा उत्रिएपछि संसद्मा बजेटमाथिको छलफल सुरु हुन नसकेको हो ।

बजेट संशोधन गर्न माग
माओवादीको संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले आवश्यक नभएको ठाउँमा पनि सरकारले योजनाहरू हालेको आरोप लगाए । यसलाई संशोधन गर्नुपर्छ भन्ने आफूहरूको साझा धारणा रहेको उनले बताए । ‘योजना छनोट जुन ढंगले भएको छ, त्यो बजेटको सिद्धान्तविपरीत छ । यसले आर्थिक अराजकता बढाउने देखिन्छ,’ रावलले भने, ‘आवश्यक नभएका ठाउँमा पनि बजेट गएको छ । बजेटप्रति व्यापक असन्तुष्टि छ ।’

आर्थिक मामिलामन्त्री रावलले गत १ असारमा आगामी आर्थिक वर्ष ०७९/८० का लागि प्रदेश सरकारको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सार्वजनिक गरेका थिए । केही मन्त्रीको मिलेमतोमा कमिसनका लागि बिचौलियाका योजनालाई प्राथमिकता दिइएको प्रदेश सांसदहरूको आरोप छ ।

कांग्रेस सांसद भरतबहादुर खड्काले वित्तीय अनुशासन, बजेटको सिद्धान्त र प्राथमिकताविपरीत ‘सेटिङ’का आधारमा बजेट ल्याइएको आरोप लगाए । ‘हामीले दिएका योजनाहरू काटिए । कमिसनका लागि सेटिङमा आएका योजना राखिएका छन् । बिचौलियामार्फत बेचिएका योजनामा बजेट हालिएको छ,’ खड्काले भने, ‘बजेट संशोधन हुनुपर्छ भन्नेमा हामी एकजुट छौँ ।’ औचित्यहीन योजना नसच्याएसम्म संसदीय दलको ह्विपसमेत आफूहरूले नमान्ने उनले बताए । सरकारको नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर रहेको खड्काको आरोप छ । 

एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामीले सरकारको आग्रहमा दुईपटक संसद् बैठक स्थगित भए पनि बजेटका कमजोरी सच्याउनेबारे सरकारले आफूहरूसँग छलफल नगरेको बताइन् । परामर्श समितिको बैठकमा सबै दलका सांसदले बजेट संशोधन हुनुपर्ने आवाज उठाएको उनले बताइन् । ‘आवश्यकता नभएका ठाउँमा योजना गएका छन् । पानीको मुहान नभएको ठाउँमा खानेपानीका योजना परेका छन् । डाँडामा तटबन्ध छ । सम्पन्न भएका योजनामा पनि बजेट गएको छ,’ प्रमुख सचेतक कामीले भनिन्, ‘त्यस्ता योजना सच्याएर बजेट अन्य योजनामा हाल्नुपर्छ ।’ आफूले सिफारिस गरेका अधिकांश योजना काटिएको उनले बताइन् । ‘न हामीले सिफारिस गरेका योजना परे, न स्थानीय तहबाट आएका योजना,’ उनले भनिन्, ‘योजना छनोटमा पारदर्शिता देखिएन ।’ मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादी साझेदार छन् । एमाले प्रमुख प्रतिपक्षी तथा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षमा छन् ।

 अलिअलि असन्तुष्टि स्वाभाविक हो : मन्त्री रावल
आर्थिक मामिलामन्त्री प्रकाश रावलले बजेटको सीमितताले सांसदले भनेका सबै योजनामा बजेट हाल्न सम्भव नभएको बताए । आफूले भनेका योजनामा बजेट नपरेपछि अलिअलि असन्तुष्टि देखिनु स्वाभाविक भएको उनले बताए । ‘हामीसँग थोरै बजेट छ, योजना धेरै आउँछन् । मन्त्रीले चाहेका सबै योजना पनि पर्दैनन्,’ उनले भने, ‘योजना नपरेपछि अलिअलि असन्तुष्टि देखिनु स्वाभाविक हो । विगतमा पनि देखिएको थियो ।’ असन्तुष्ट सांसदहरूसँग छलफल गरिने उनले बताए ।

 आर्थिक मामिलामन्त्री प्रकाश रावलले बजेटको सीमितताले सांसदले भनेका सबै योजनामा बजेट हाल्न सम्भव नभएको बताए । आफूले भनेका योजनामा बजेट नपरेपछि अलिअलि असन्तुष्टि देखिनु स्वाभाविक भएको उनले बताए । ‘हामीसँग थोरै बजेट छ, योजना धेरै आउँछन् । मन्त्रीले चाहेका सबै योजना पनि पर्दैनन्,’ उनले भने, ‘योजना नपरेपछि अलिअलि असन्तुष्टि देखिनु स्वाभाविक हो । विगतमा पनि देखिएको थियो ।’ असन्तुष्ट सांसदहरूसँग छलफल गरिने उनले बताए ।