Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार १३ सोमबार १०:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युरिया नपाएपछि डिएपी र पोटासको भरमा किसान

Read Time : > 1 मिनेट
२०७९ असार १३ सोमबार १०:२६:००

मकवानपुरका ५० हजारभन्दा बढी किसानहरू गत फागुनदेखि युरिया मल अभावको मार झेलिरहेका छन् । डिएपी र पोटास मल सहजै पाए पनि बाली उत्पादन बढाउन प्रयोग गरिने अत्यावश्यक युरिया मल नपाउँदा किसानहरू अन्योलमा परेका छन् । 

अघिल्ला वर्षमा पनि युरिया मलकै अभावका कारण मकै उत्पादन निकै कम हुँदा घाटा व्यहोर्नुपरेको मकवानपुरको पश्चिमी क्षेत्र मनहरि गाउँपालिका–१ का किसान शम्भुराम विष्टले बताए । मनहरि–१, चकरीमा आफ्नो १० कट्ठा बारीमा मकै उत्पादन गरिरहेका विष्टले यस वर्ष युरिया मलको अभाव अझ बढी झेल्नुपरेको बताए । ‘अघिल्ला वर्षहरूमा थोरै मात्रामा भए पनि मल पाइएको थियो,’ उनले भने, ‘यसपटक त थोरै मात्रामा पनि पाइएन, बाली उत्पादन बढाउन सकिएलाजस्तो छैन, घाटामै कृषि गर्नुपर्ने भयो ।’ 

मनहरि–१ का वडाध्यक्ष शिव खनालको समस्या पनि उस्तै छ । खनालले मल नहुँदा आफ्नो पाँच कट्ठा बारीमा लगाएको मकै नसप्रिने निश्चित भइसकेको बताए । आफू जनप्रतिनिधि भएकाले जनतालाई सहज मल दिलाउन नसक्दा जवाफविहीन भएको उनले बताए । ‘म आफैँ जनताको काम गर्न भर्खर दोस्रोपटक वडाध्यक्ष जितेको छु । तर, मल उपलब्ध गराउने पहुँच मेरो पनि छैन । आफ्नो गुनासो सुनाउन पनि अप्ठ्यारो लाग्छ,’ उनले भने । मनहरि मात्र होइन, मकवानपुरको उब्जनी क्षेत्र हेटौँडा उपमहानगरपालिकाको हटिया, हर्नामाडी, चौघडा भीमफेदी गाउँपालिकाको इपा, कोगटे, मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ र थाहा नगरपालिकाका किसानको अवस्था पनि उस्तै छ । उनीहरू पनि मल अभावका कारण मकै, चैते धानमा यस वर्ष पनि उत्पादनमा निकै कमी आउने चिन्तामा छन् ।

मकवानपुरमा चालू आर्थिक वर्ष ०७८/७९ का लागि युरिया मल एक हजार टन आवश्यक छ । कृषि सामग्री कम्पनी लिमिटेड हेटौँडा कार्यालयका अनुसार चालू आवको फागुन मसान्तसम्म एक हजार एक सय ५१ टन वितरण गरिएको युरिया किसानका लागि न्यूनतम माग पूरा गर्नका लागि पनि अझै एक हजार टन आवश्यक परेको हो । कार्यालयका प्रमुख बोलबहादुर पन्तले युरियाको अभावमा किसानले डिएपी र पोटास प्रयोग गरिरहेको बताए ।

उनले चालू आवको फागुन मसान्तसम्म मकवानपुरमा डिएपी चार सय २१ र पोटास १४ टन खपत भइसकेको जानकारी दिए । मकवानपुरमा कम्पनीको कार्यालय, सहकारीहरू र कम्पनीको विक्रेतामार्फत मल वितरण गरिँदै आएको छ ।