मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
चलचित्र ‘कबड्डी–४’ को प्रवद्र्धनमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता दयाहाङ राई र भाइरल किशोर ‘मिदी’ ।
२०७९ असार १३ सोमबार ०६:५६:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सिनेमालाई ‘भाइरल’ पात्रको भर

फिल्मकर्मीले फिल्म चलाउन र आफू चल्न ‘नियोजित’ रूपमै अनेक फन्डा गर्न थालेका छन्

Read Time : > 1 मिनेट
२०७९ असार १३ सोमबार ०६:५६:००

१० जेठमा ‘कबड्डी–४’ सिनेमा निर्माण टिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सामाजिक सञ्जालमा भाइरल भएका पात्र ‘मिदी भाइ’ पुगे । कार्यक्रममा फिल्मका निर्देशक रामबाबु गुरुङ, अभिनेता दायहाङ  राई, सौगात मल्ल, मिरुना मगरलगायत कलाकार उपस्थित थिए । एकसे एक चर्चित कलाकार भएको ठाउँमा ‘मिदी भाइ’ किन आए ? कार्यक्रममा सहभागीको मनमा प्रश्न उब्जियो । यति मात्रै होइन, अभिनेता दयाहाङ राईले ‘मिदी भाइ’सँग कुम जोडेर फोटो र भिडियो खिच्नसमेत भ्याए । उनले ‘मिदी भाइ’लाई कबड्डी–४ फिल्म हेर्न आग्रह पनि गरे । अभिनेता राई र ती पात्रसँग बनाएको भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा निकै भाइरल छ । कलाकारको आग्रहअनुसार उनले कबड्डी–४ को प्रचार पनि गरे ।   

दुई साताअघि भएको ‘चिसो मान्छे’ सिनेमाको ट्रेलर रिलिज कार्यक्रमा समेत ‘मिदी भाइ’ देखिएका थिए । निर्देशक दिपेन्द्र के खनाल, अभिनेत्री स्वास्तिमा खड्कालगायत निर्माण टिम कार्यक्रममा उपस्थित थियो । कार्यक्रममा अभिनेत्री खड्काले ‘मिदी भाइ’सँग भिडियो बनाउनसमेत भ्याइन् । स्वास्तिमाले उनीसँग बनाएको भिडियो सामाजिक सञ्जालमा निकै दिनसम्म भाइरल भयो । 

अनमोल केसी र सुहाना थापा अभिनीत फिल्म ‘ए मेरो हजुर–४’ को प्रमोसनल गीतमा भाइरल गायक दुर्गेश थापालाई  प्रयोग गरिएको थियो । तर, फिल्म रिलिजको संघारमा पल शाहसँग जोडिएको  विवादले  दुर्गेशले गाएको गीतको सिन हटाइयो । दुर्गेशको गीत हटाएपछि फिल्म निर्माण टिमले अर्का भाइरल ¥यापर जि–बबलाई गाउन लगायो । फिल्ममा जि–बबको गीत समावेश पनि छ । यति मात्रै होइन, जि–बबसँग फिल्म प्रचार–प्रसारका लागि अभिनेत्री सुहाना थापाले भिडियो क्लिपसमेत बनाइन्,  जुन भिडियो सामाजिक सञ्जलमा निकै चलेको पनि थियो । 

चार वर्षअघि पनि गायक दुर्गेश थापालाई ‘छक्का पञ्जा’ टिमले ‘छ माया छपक्कै’को प्रोमोसनल गीतमा प्रयोग गरेको थियो । दुर्गेशले गाएको तीज गीत ‘हामी पनि नाच्न पर्छ बीच बीचमा...’ निकै भाइरल पनि बन्यो । 

कलाकारले सिर्जनामा विश्वास गर्नुपर्छ : घिमिरे 

कतिपय चलचित्रकर्मी कलाकारमा आफ्नो सिर्जनामाथि विश्वास हुनुपर्ने बताउँछन् । आफैँमा विश्वास नहुनेहरूले प्रचारका अनेक फन्डा अपनाउने उनीहरूको भनाइ छ । 
रातारात युट्युबर र सामाजिक सञ्जालमा भाइरल बनेका सेलिब्रेटीले बनाएका प्रचार सामग्रीले चलचित्रको गरिमा घट्ने चलचित्रकर्मी सचिन घिमिरे बताउँछन् । उनी भन्छन्, ‘कतिपय फिल्म चुपचाप हलमा प्रदर्शनमा आउँछन् ।

त्यस्ता सिनेमालाई दर्शकले प्रचार गर्छन् । दर्शकका आफन्त, साथीभाइ, सहकर्मीमाझ सिनेमाको चर्चा र तारिफ गर्छन् । यसरी नै प्रदर्शन अवधि लम्बिँदै जान्छ, दर्शकको चाप बढ्दै जान्छ ।’ फिल्म आमसञ्चारको सशक्त माध्यम भएकाले यसले समाजसँग अन्तरसंवाद गर्नुपर्ने उनको तर्क छ ।

घिमिरे भन्छन्, ‘फिल्म समाजका लागि सशक्त माध्यम हो । तर, समाजमा विभिन्न समयमा उत्पादन भएका पात्रलाई प्रचार गर्नु क्षणिक मात्रै हो । हामीले नेपाली सिनेमाको रूपान्तरणको कुरा गर्छाैं, तर यसले दीर्घकालीन रूपान्तरणका लागि केही पनि भूमिका खेल्दैन । 

स्वाभाविक हो, अन्य देशमा पनि यस्तो हुन्छ : सुवेदी

चलचित्र समीक्षक अनुप सुवेदीको भने फरक मत छ । डिजिटल प्रविधिको युगमा फिल्म प्रचारको शैलीमा परिवर्तन हुनु आफैँमा स्वाभाविक ठान्छन् उनी । ‘आम मान्छेको चासो भएको पात्रलाई प्रयोग गरेर आफ्नो वस्तुको प्रचार गर्नु  स्वाभाविक  हो । नेपालमा मात्रै नभएर संसारभर नै यस्तो अभ्यास भइरहेको छ । त्यसकारण सिनेमा प्रचारका लागि भाइरल पात्र खोज्नुलाई नराम्रो भन्न मिल्दैन ।’

चर्चामा आउन अनेक फन्डा

नेपाली फिल्मकर्मीले चर्चामा आउन पछिल्लो समय अनेक फन्डा गर्न थालेका छन् । फिल्म चलाउन र आफू चल्न ‘नियोजित’ रूपमै अनेक चर्तिकला गर्ने र सञ्चारमाध्यममा हल्ला चलाउने क्रम बढेको छ । उनीहरूमध्ये कतिपयले त यसैलाई प्रचारको शैली बनाएका छन् । फिल्म प्रचारकै लागि  कहिले प्रेम–सम्बन्धलाई अस्त्र बनाउँछन् त कहिले गसिप अस्त्र प्रयोग गरिएको देखिन्छ ।