Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:३५:००
Read Time : > 2 मिनेट
खेलकुद

विश्व क्रिकेटमा  चम्किँदै अफगानिस्तान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:३५:००

गत वर्षको जुनमा भारतविरुद्ध पहिलो टेस्ट खेल्दै गर्दा अफगानिस्तानले विश्व क्रिकेटमा १२औँ टेस्ट खेल्न आफूलाई फिल्डमा उभ्यायो । अफगानिस्तानले पछिल्ला ५ वर्षमा विश्व क्रिकेटमा आफ्नो उपस्थिति साँच्चिकै लोभलाग्दो रूपमा विकास गरिरहेको छ । अफगानी क्रिकेटले छोटो समयमा धेरै प्रगति गर्न सफल राष्ट्रका रूपमा आफूलाई उभ्याउँदै गर्दा एकपछि अर्को सफलता कसरी सम्भव भयो ? अफगानी क्रिकेटबारे अस्ट्रेलियन स्टार माइकल क्लार्क भन्छन्, ‘अफगानिस्तानको क्रिकेटको विकास हाम्रा लागि नयाँ र सिक्नेखालको छ । अब हामीले दायरा र क्षेत्र बढ्दै गएको महसुस गरेका छौँ । हामीले गर्न नसक्ने क्रान्ति अफगानिस्तानले गरिरहेको छ ।’

युद्ध र हिंसा जितेर बढेको क्रिकेट
सन् १९९५ मा अफगानिस्तान क्रिकेट बोर्ड स्थापना भयो । सन् २००० मा अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा पइला राख्यो । अफगानिस्तानले क्रिकेटमा पदार्पण गर्दा घर भने युद्धको भुमरीमा फसेको थियो । युद्धलाई जितेर क्रिकेट बाहिर निस्कियो, त्यसपछि विश्व क्रिकेटमा अफगानिस्तान डार्कहर्सका रूपमा स्थापित भयो । त्यसो त अफगानी क्रिकेटलाई हुर्काउन पाकिस्तानको ठूलो योगदान रहेको मान्नेहरू कम छैनन् । अहिले पनि धैरै खेलाडीको प्रारम्भिक क्रिकेट करिअर पाकिस्तानबाटै सुरु भएको मान्निछ । अफगानिस्तानको क्रिकेट विकासमा भएको प्रगतिमा पाकिस्तानलाई आधार मान्न सकिएला, तर फैलाउने काम स्वयं अफगानिस्तानले नै गरेको हो ।

पहिलो विश्वकप यात्रा
अफगानिस्तान २०१५ मा एकदिवसीय विश्वकपमा स्थान बनाउन सफल भयो । न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा अफगानिस्तानले डेब्यु सहभागितालाई सम्झनलायक बनायो । पहिलो सहभागितामै स्कटल्यान्डलाई १ विकेटले पराजित गर्‍यो । त्यसपछि आइसिसीका हरेकजसो प्रतियोगितामा अफगानिस्तानले आफूलाई महत्वपूर्ण सदस्यका रूपमा स्थापित गराउँदै लगेको छ ।

टेस्ट डेब्युमा नथामिएको आँसु
एकपछि अर्को सफलता हात पार्दै गएको अफगानिस्तानले २०१७ मा टेस्ट राष्ट्रको मान्यता पायो । तर, उसले टेस्टमा डेब्यु भने मान्यता पाएको एक वर्षपछि २०१८ को जुनमा भारतविरुद्ध ग¥यो । कुनै चामत्कारिक नतिजा ननिकाले पनि डेब्युका दुई टेस्ट खेलपछि अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेटमा फरक पहिचान बनाउन सफल भयो । डेब्युको क्षणमा मैदानमा उपस्थित खेलाडी भावविह्वल बनेका थिए । टेस्ट राष्ट्रका रूपमा अफगानिस्तानले धेरै खेलमा मौका नपाए पनि एकदिवसीयमा आफ्नो रवाफ कायमै राखेको छ । अब २०१९ को एकदिवसीय विश्वकपमा अफगानिस्तान डार्कहर्सका रूपमा अघि बढेको छ ।

सम्झनलायक वर्ष २०१८
अफगानिस्तानका लागि २०१८ निकै सम्झनलायक वर्षका रूपमा रह्यो । विश्वकप छनोटमा जिम्बावेलाई समेत पाखा लगाउँदै विश्वकपमा स्थान बनायो । २०१८ मा जिम्बावे र आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिज कब्जा गर्न सफल भयो । एसियाकपमा पूर्वविश्व च्याम्पियन भारतलाई अफगानिस्तान बराबरीमा रोक्न सफल भयो । अफगानिस्तानले समूह चरणमा श्रीलंका र बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्‍यो । तर, सेमिफाइनलमा अन्तिम ओभरमा पाकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । २०१८ मै सम्झनयोग्य क्षणमध्ये भारतविरुद्धको बैंगलोर टेस्ट डेब्यु पनि एक हो । अफगानिस्तानले टी–२० मा बंगलादेशविरुद्धको सिरिज ह्वाइटवास गर्दै विश्व क्रिकेटमा सनसनीपूर्ण रवाफलाई निरन्तरता दिएको थियो । 

२०१८ मा बनाएका रेकर्ड : सर्वाधिक कम उमेरमा ५ विकेट लिने खेलाडी
मुजिब उर रहमानले सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा ५ विकेट लिने कीर्तिमान बनाए । रहमानले जिम्बावेविरुद्ध सारजहामा ५० रन खर्चिएर ५ विकट लिँदा कम उमेरमा ५ विकेटको कीर्तिमान राखे । अफस्पिनर रहमान १६ वर्ष ३ सय २५ दिनका थिए । यसअघि यो कीर्तिमान वाकर युनिसले १८ वर्ष १ सय ६४ दिनमा १९९० मा श्रीलंकाविरुद्ध बनाएका थिए । 

स्पिनरको सनसनी
अफगानिस्तानका स्पिनरहरूले २०१८ मा सनसनीपूर्ण प्रदर्शन गरे । जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय शृंखलामा अफगानिस्तानका स्पिनरहरूले सामूहिक रूपमा ३७ विकेट लिएका थिए । ५ खेलको एकदिवसीय शृंखलामा कुनै एक टिमले स्पिनरबाटै झारेको यो सर्वाधिक विकेट हो ।

रसिद बने कम उमेरमा कप्तान
१९ वर्ष १ सय ६५ दिनका रासिद खानले स्कटल्यान्डविरुद्धको खेलमा कप्तानको जिम्मेवारी प्राप्त गरे । एकदिवसीयमा उनी अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा कप्तानी भूमिका निभाउने खेलाडीका रूपमा रहे । 

रसिद नम्बर एक
रसिद आइसिसी वरीयतामा पहिलोपटक नम्बर एक स्थान बनाउन सफल भए । रसिदले २०१८ को फेब्रुअरीमा पहिलोपटक १९ वर्ष १ सय ५२ दिनमा सो सफलता हात पारेका थिए । उनीबाहेक कुनै पनि क्रिकेटरले २१ वर्षभन्दा कम उमेरमा उक्त सफलता हात पार्न सकेका छैनन् ।
 
रसिदको १ सय एकदिवसीय विकेट
रासिद केवल ४४ अन्तर्राष्ट्रिय खेलमा सय एकदिवसीय विकेट लिन सफल भए, जुन सबैभन्दा कम इनिङमा शतकीय विकेट लिने खेलाडीको रेकर्ड हो । त्यसअघि ५२ एकदिवसीय खेलमा मिसेल स्टार्कले सय विकेटको कीर्तिमान बनाएका थिए । रसिदकै नाममा टी–२० अन्तर्राष्ट्रियमा छिटो ५० विकेटको कीर्तिमान पनि छ । २० वर्षको उमेरमै उनले सो आँकडा पूरा गरे । 

हारविहीन वर्ष
अफगानिस्तानले २०१८ मा ७ टी–२० खेलमा भाग लियो, जहाँ एक खेलमा पनि पराजय भोगेन । सबै खेलमा जित निकाल्दै सनसनीपूर्ण प्रदर्शन गर्‍यो । टी–२० क्रिकेटमा एक वर्षमा खेल नगुमाउने अफगानिस्तान इंग्ल्यान्डपछि दोस्रो राष्ट्र हो । 

पहिलो उपाधिपछिका १२ वर्ष 
अफगानिस्तानले पहिलोपटक २००७ मा उपाधि जित्यो । एसिसी टी–२० कपको फाइनलमा ओमानलाई हराएर अफगानिस्तानले पहिलो उपाधि घर भित्र्यायो । उपाधि जितेको १२ वर्षपछि अफगानिस्तानले अहिले टेस्ट खेल्ने कान्छो राष्ट्रका रूपमा आफूलाई चिनाएको छ । यसअघि एसोसिएट राष्ट्रबाट लगातार टी–२० र एकदिवसीय विश्वकपमा स्थान बनाउन अफगनिस्तान सफल भयो । अफगानिस्तानभन्दा अघि क्रिकेट खेलेका राष्ट्रहरू अझै पनि पुरानै फेजमा छन् र माथि आउन संघर्षरत छन् । तर, अफगानिस्तान अब विश्व क्रिकेटमा सर्वाधिक उदीयमान शक्तिका रूपमा आइसकेको छ । एकदिवसीय खेलमा अफगानिस्तानले आफ्नो एकरूप प्रदर्शन जारी राखेको छ ।