मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार ११ शनिबार ०९:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेको १० स्थानीय तहको बजेट आठ अर्ब १४ करोड

तीन स्थानीय तहको नीति तथा कार्यक्रम मात्रै

Read Time : > 1 मिनेट
२०७९ असार ११ शनिबार ०९:५६:००

काभ्रे जिल्लामा १३ स्थानीय तहमध्ये १० स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित बजेट पेस गरेको छ । तीन स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । असार १० गतेभित्रमा राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्नुपर्ने समयसीमाभित्रै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जिल्लामा १० स्थानीय तहको अनुमानित बजेट आठ अर्ब १४ करोड ३७ लाख ३५ हजार पेस गरेको छ ।

जिल्लामा १३ स्थानीय तहमध्ये ६ नगरपालिका र सात गाउँपालिका रहेको छ । सबै नगरपालिकाले अनुमानित बजेटको अंक प्रस्तुत गरेको छ भने तीन गाउँपालिकाले अनुमानित अंक पनि प्रस्तुत गर्न सकेको छैन । पनौती नगरपालिकाले एक अर्ब ६० करोड १३ लाख अनुमानित बजेट आगामी आर्थिक वर्षका लागि पेस गरेको छ ।

त्यसरी नै बनेपा नगरपालिकाले एक अर्ब ५५ करोड २४ लाख, धुलिखेल नगरपालिकाले एक अर्ब ३५ करोड, पाँचखाल नगरपालिकाले एक अर्ब २९ करोड ९६ लाख, मण्डनदेउपुर नगरपालिका एक अर्ब एक करोड ९३ लाख ७२ हजार दुई सय ३५ र नमोबुद्ध नगरपालिकाले ४७ करोड ४८ लाख ४५ हजार अनुमानित बजेट पेस गरेका छन् ।

त्यसैगरी रोशी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । महाभारत गाउँपालिकाले २८ करोड ५० लाख, खानीखोला गाउँपालिकाले ४७ करोड चार लाख सात हजार र बेथानचोक गाउँपालिकाले ५९ करोड ११ लाख २९ हजार अनुमानित बजेट अंक प्रस्तुत गरेका छन् ।

तीन स्थानीय तहमा नीति तथा कार्यक्रम मात्रै
जिल्लाका तीन स्थानीय तहले नीति तथा कार्यक्रम मात्रै पेस गरेका छन् । भुम्लु गाउँपालिका, तेमाल र चौरीदेउराली गाउँपालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम मात्रै पेस गरेका हुन् । केही दिनमा नै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।