मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत ४ सोमबार ०९:३६:००
Read Time : > 2 मिनेट
अर्थ

ऊर्जामन्त्री पुनको एक वर्ष  : नीतिगत सुधार उल्लेख्य, भौतिक प्रगतिको आधार तयार 

Read Time : > 2 मिनेट
२०७५ चैत ४ सोमबार ०९:३६:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालको पहिलो वर्ष नीति–निर्माण तथा कार्यान्वयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएका छन् । आफ्नो नेतृत्वमा मन्त्रालयले एक वर्षमा गरेका प्रगति विवरण सार्वजनिक गर्न आइतबार आयोजित एक पत्रकार सम्मेलनमा उनले मन्त्रालयको भौतिक प्रगतिसमेत राम्रो भएको बताए । ३ चैत ०७४ मा कार्यभार सम्हालेका मन्त्री पुनले २५ वैशाख ०७५ मा ऊर्जा, जलस्रोत, सिँचाइ, जलविपद् व्यवस्थापन, जल तथा मौसम विज्ञानको क्षेत्रको भावी मार्गचित्र (श्वेतपत्र) जारी गरेका थिए । सो श्वेतपत्र कार्यान्वयनको आधार तयार भइसकेको उनको जिकिर छ ।   

३९ मेगावाट राष्ट्रिय प्रसारणमा 
 मन्त्री पुनले आफू नेतृत्वमा आएपछि  ९ आयोजनामार्फत ३९.३६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको बताए । त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो पनि यसै आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारणमा जोडिने उनले बताए । 

जनताको जलविद्युत्को सेयर ७ चैतबाट 
करिब ३ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित सुरु गरिएको जनताको जलविद्युत् कार्यक्रमको सेयर ७ चैतबाट वितरण गरिने उनले बताए । सोही कार्यक्रमअन्तर्गत नै ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, ४८ मेगावाटको भेरी–बबई र तामाकोसी ५ आयोजना अघि बढाउने तयारी भइसकेको उनले जानकारी दिए । 

३४ हजार ६ सय हेक्टरमा थप सिँचाइ
यस अवधिमा ३४ हजार ६ सय हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुगेको मन्त्रालयले जनाएको छ । सतह सिँचाइबाट ३५ सय ८७ हेक्टर, भूमिगत सिँचाइबाट २९ हजार ५ सय २८ हेक्टर र नयाँ प्रविधिमा आधारित सिँचाइ कार्यक्रमबाट १ हजार ५ सय ३६ हेक्टरमा थप सिँचाइ पुगेको उनले बताए । हालसम्म कुल १४,७३,९५६ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सेवाका लागि पूर्वाधार विकास भएको छ ।

१ हजार ७३४ मेगावाटको पिपिए 
आफ्नो नेतृत्वमा कुल ८९ विद्युत् आयोजनासँग १ हजार ७ सय ३४ मेगावाट विद्युत्को खरिद–बिक्री सम्झौता सम्पन्न भएको मन्त्री पुनले बताए । त्यस्तै, २८ सय ८२ मेगावाटका २५ आयोजनालाई उत्पादन अनुमति, ६ मेगावाटका २ बगास विद्युत् आयोजनालाई उत्पादन अनुमति दिइएको छ । कुल ५४ सय १५ मेगावाटका ५२ आयोजनालाई सर्वेक्षण अनुमति, ३ सय ३९ मेगावाटका २७ सौर्य विद्युत् आयोजनालाई उत्पादनको सर्वेक्षण अनुमतिपत्र दिइएको छ । 

यस्तो छ कानुनी तथा नीतिगत प्रगति

-ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) निर्माण तथा कार्यान्वयन 

- ६ खर्ब ४ अर्ब लागत अनुमानसहित ६ हजार ८ सय ६७ किलोमिटर प्रसारण लाइन र १ सय ३ सबस्टेसन निर्माण गर्ने

-लक्ष्यसहित प्रसारण लाइन गुरुयोजना २०४० तयार 

- नेपालमा उत्पादन हुने विद्युत्लाई भारत र बंगलादेशको बजार सुनिश्चित हुने गरी सहमति–समझदारी 

- नेपाल–भारत इनर्जि बैंकिङ गर्ने सैद्धान्तिक समझदारी 

-नेपालको विद्युत्ले भारतको बजारमा सहजै प्रवेश पाउने गरी भारतको क्रसबोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गराउन सफल 

-नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा ऊर्जा सहकार्यसम्बन्धी समझदारी 

- ग्रिड इन्टरकनेक्सनसम्बन्धी बिमस्टेक राष्ट्रस्तरीय समझदारी 

-जनताको जलविद्युत् कार्यक्रम घोषणा र कार्यान्वयन 

-२५ वर्षे सिँचाइ गुरुयोजनाको मस्यौदा तयार 

- नेपालका विभिन्न आयोजनामा लगानी गर्न सिसिके होल्डिङ चाइना, आइइजी होल्डिङ कोरिया, पावर चाइना, सांघाई इन्भेष्टमेन्ट डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट, टोक्यो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ, कोस्पो कोरियालगायत अन्तर्राष्ट्रिय कम्पनीहरूसँग समझदारी 

-राष्ट्रिय जलस्रोत नीति र जलस्रोत ऐन तर्जुमा

- नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रको विधेयक ०७५ तर्जुमा 

-नदी बेसिन आयोजना तथा जलविद्युत् विकास गुरुयोजना तर्जुमा 

-ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रम, नदी नियन्त्रण कार्यक्रम तथा जलस्रोत तथा सिँचाइ विभागको कार्यविधि तयार 

-राष्ट्रिय ऊर्जा दक्षता रणनीति ०७५ स्वीकृत गराई कार्यान्वयनमा 

- विद्युत् नियमन आयोग नियमावली ०७५ तयार 

- विद्युत् आयोजनासँग टेर अर पेमा विद्युत् पिपिए गर्ने नीति–निर्माण र कार्यान्वयन ।