मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १० शुक्रबार १७:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीमा बढ्दै असन्तुष्टि, गठबन्धनलाई लिएर टाढिँदै खनाल-नेपाल

Read Time : > 1 मिनेट
२०७९ असार १० शुक्रबार १७:३०:००

नेकपा (एकीकृत समाजवादी)मा पछिल्लो समय विवाद बढ्दो छ। मन्त्री हेरफेर, गठबन्धनलगायतका विषयलाई लिएर सो पार्टीमा चर्को असन्तुष्टि देखिएको हो। पार्टीका १० सांसदहरूले मन्त्री फिर्ता गर्ने विषयमा आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र बुझाउँदै गर्दा शीर्ष नेताहरूसमेत गठबन्धनलाई लिएर दुई धारमा देखिएका छन्। मन्त्री हेरफेरको विषयमा भने दुई शीर्ष नेता पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने पक्षमा छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पाँचदलीय गठबन्धनलाई  प्रदेश र स्थानीय तह निर्वाचनसम्म कायम राख्नुपर्ने पक्षमा देखिएका छन्। उनी स्थानीय तह निर्वाचनमा भएका कमजोरीलाई सुधारेर गठबन्धनलाई प्रदेश र स्थानीय तह निर्वाचनसम्म कायम राख्नुपर्ने पक्षमा छन्। नेपाल निकट नेताहरूका अनुसार उनी निर्वाचनपछि पनि वर्तमान गठबन्धन रहनुपर्छ भन्ने पक्षमा रहेका छन्। ‘त्यसमा कुनै शंका नै छैन, उहाँ निर्वाचनपछि पनि यही गठबन्धनको पक्षमा हुनुहुन्छ। तत्काल वाम गठबन्धन गरेर जाने पक्षमा हुनुहुन्न,’ ती नेताले नयाँ पत्रिकासँग भने, ’उहाँले सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिनुभएको छैन। तर, पार्टीमा उहाँ यसबारे स्पष्ट हुनुहुन्छ।’

अध्यक्ष नेपालले २०७८ असोज ५ मा राजनीतिक प्रतिवेदनमार्फत नै पाँचदलीय गठबन्धन स्थानीय तह निर्वाचनसम्म कायम राख्न प्रस्ताव गरेका थिए। नेकपा (एमाले)सँग नजिकिएर बाम एकता गर्नुभन्दा वर्तमान गठबन्धन नै फाइदाजनक रहेको उनको निष्कर्ष छ। ‘त्यसैले त उहाँ स्थानीय निर्वाचनमा गठबन्धनबाट धोका भएको भन्दै सोच्नुपर्ने आवाज उठिरहँदा पनि स्थानीय निर्वाचनको कमजोरी  सुधारेर जानुपर्ने पक्षमा हुनुहुन्छ,’ नेपाल निकट ती नेताले भने।

यता सम्मानित नेता झलनाथ खनालले भने सार्वजनिक अभिव्यक्तिमार्फत नै गठबनधन एकीकृत समाजवादीलाई नफापेको अभिव्यक्ति दिँदै आएका छन्। उनले एमालेसहितका वाम दलहरूबीच तत्काल गठबन्धनको आवश्यकता रहेको बताउने गरेका छन्।

गठबन्धनबाट धेरै असन्तुष्ट छौँ, तत्काल वाम एकता आवश्यक : खनाल
साे पार्टीका सम्मानित नेता खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनसँग धेरै असन्तुष्ट रहेको सार्वजनिक प्रतिक्रिया दिँदै आएका छन्। जेठ २१ मा सचिवालय बैठकपछि उनले तत्काल वामपन्थी दलहरूबीच एकताको आवश्यकता रहेको बताएका थिए। तत्काल एकताको सम्भावना कमजोर रहेकोमा भने उनी जानकार छन्। ‘वामपन्थीहरूबीच एकता हुनु वस्तुगत आवश्यकता हो। तर, यतिबेला वामपन्थी आन्दोलनका मुख्य नेताहरू अहिले वामपन्थी एकताको पक्षमा देखिनुहुन्न। यसो हुनाले तत्काल एकताको आवश्यकता भए पनि त्यो सम्भावना निकै कमजोर छ,’ खनालले भनेका थिए।

खनालले स्थानीय तह निर्वाचनको परिणामपछि पार्टीमा असन्तुष्टि बढेको बताउँदै आएका छन्। ‘हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौँ। सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन। हाम्रो असन्तुष्टि पाँच दलभित्र पनि राखेका छौँ। हामी आफैँ पनि समीक्षा गर्दै छौंँ। अब हामी ठ्याक्कै यो समीक्षाको बीचमा छौँ,’ खनालले गबठन्धनको विकल्प हुन सक्ने आशयसहितको प्रतिक्रिया दिएका छन्।

खनाल निकट एक नेताले यसको पुष्टि गर्दै वाम गठबन्धनको प्रयास भइरहेको बताए। उनले नयाँ पत्रिकासँग अहिलेको गठबन्धन प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नरहन सक्नेतर्फ पनि संकेत गरे। अहिलेको गठबन्धन समयको विशिष्ट परिस्थितिमा बनेको हो। वाम गठबन्धन होस् भन्ने हामो चाहना अहिलेदेखिको होइन। यसमा त हामी लागि नै रहेका छौँ,’ ती नेताले भने, ‘अहिलेको गठबन्धन प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रहन पनि सक्छ तर अन्ततः हामीले गर्ने भनेको वाम गठबन्धन नै हो।’