मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १० शुक्रबार ०७:२१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफा वरीयतामा आठ स्थान खस्कियो नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १० शुक्रबार ०७:२१:००

फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जुन महिनाको राष्ट्रिय पुरुष टोलीको वरीयता सार्वजनिक गरेको छ । वरीयताअनुसार नेपालले एकैपटक आठ स्थान गुमाएको छ । फिफाका अनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल १६८औँ स्थानमा थियो । 

एएफसी एसिया कप २०२३ छनोट प्रतियोगिताअन्तर्गत कुवेतमा भएको तेस्रो चरणमा नेपालले खराब प्रदर्शन गरेको थियो । कुवेत, जोर्डन तथा इन्डोनेसियासँग नेपाल फरकिलो अन्तरले पराजित भएको थियो । सो प्रतियोगितामा नेपालले १३ गोल व्यहोरेको थियो । नेपालले कुवेतविरुद्ध चार दशकपछि एक गोल गरेको थियो । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर १० खेलाडीबीच विवाद हुँदा यसको प्रत्यक्ष असर छनोट प्रतियोगितामा परेको थियो । प्रशिक्षक अब्दुल्लाहले छनोट प्रतियोगितामा सिनियर १० खेलाडीलाई बाहिर राख्दै जुनियर १७ खेलाडीलाई मौका दिएका थिए । उनले प्रतियोगिताका लागि नवयुग श्रेष्ठलाई कप्तानीको जिम्मेवारी दिएका थिए । 

भारतको दुई स्थान सुधार
एसिया कप छनोटमा लगातार तीन खेलमा पराजित भएपछि नेपालले जुन महिनाको वरीयतामा २८.४१ अंक गुमायो । नेपालले समग्रमा ९५० अंक प्राप्त गरेको छ । दक्षिण एसियामा भारत शीर्षस्थानमा छ । 

भारतले वरीयतामा दुई स्थान सुधार गरेको छ । भारत १०४औँ स्थानमा छ । भारतले यसपटक १९.६८ वरीयता अंक जोडेको छ । समग्रमा भारतले ११९८ अंक जोडेको छ । दक्षिण एसियाली राष्ट्र माल्दिभ्स १५६औँ स्थानमा छ । माल्दिभ्सले १०१८ वरीयता अंक हात पारेको छ । यस महिनामा माल्दिभ्सले ७ अंक गुमायो । 

भुटान १८६औँ स्थानमा छ । बंगलादेशको कुनै स्थान परिवर्तन भएन । बंगलादेश १९२औँ स्थानमा छ । बंगलादेशले २० अंक गुमाएको छ । पाकिस्तान १९६औँ र श्रीलंका २०७औँ स्थानमा रहेको फिफाले जनाएको छ । विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा छ । ब्राजिलले १८३७ वरीयता प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको बेल्जियमले १८२१ अंक जोडेको छ । 

तेस्रो स्थानमा अर्जेन्टिना रहेको छ । अर्जेन्टिनाले १७७० वरीयता अंक हात पारेको छ । विश्व विजेता फ्रान्स चौथो स्थानमा झरेको छ । फ्रान्सले १७६४ अंक बटुलेको छ । 

इंग्ल्यान्ड पाँचौँ स्थानमा रहँदा स्पेन छैटौँ स्थानमा उक्लिएको छ । इटालीको वरीयता खस्कँदा नेदरल्यान्ड आठौं स्थानमा छ । पोर्चुगल नवौँ स्थानमा रहँदा डेनमार्क शीर्ष १० मा रह्यो । चारपटकको विश्व च्याम्पियन जर्मनी ११औँ स्थानमा छ ।