मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १० शुक्रबार ०७:०२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विनोद शाही हत्या प्रकरण : नगर र वडामा तालाबन्दी, अछाममा हडताल गर्ने चेतावनी 

Read Time : < 1 मिनेट
२०७९ असार १० शुक्रबार ०७:०२:००

बालक विनोद शाही हत्याका मुख्य आरोपी हालसम्म पनि पक्राउ नपरेको भन्दै अछामको पञ्चदेवल विनायक नगरपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नगरपालिकाको कार्यालय २२ जेठदेखि नै बन्द थियो । 

वडा नम्बर ४ कुच्चीको रिठारुख टोलका १५ वर्षीय विनोद २१ जेठ बिहान १० बजे गाउँनजिकैको भिरमा मृत अवस्थामा भेटिएका थिए । उनको हत्या गरिएको भन्दै नगरपालिकाका प्रमुख अम्बिका चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरिएको थियो । किटानी दिइएकामध्ये पाँचजना पक्राउ परे पनि मुख्य आरोपी मेयर चलाउने र वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सर्जन शाहीसहितका अन्य आठजनालाई पक्राउ नगरेपछि बिहीबारबाट नगरपालिकाका नौवटै वडा कार्यालयमा तालाबन्दी गरेको दाजु बखतबहादुर शाहीले बताए ।

उनका अनुसार हत्यामा संलग्नलाई पक्राउ गर्ने र नगरपालिकाको कामकाज सुचारु गर्न पटक–पटक छलफल गर्न खोजिए पनि अधिकांश वडाध्यक्षहरू उपस्थित नहुँदा छलफल प्रभावित भइरहेको छ । बुधबार प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीको समन्वयमा उपप्रमुख हर्कबहादुर रावलसहित सबै वडाध्यक्षहरूबीच छलफल गरी हत्याका आरोपीलाई पक्राउ गर्नेबारे लिखित प्रतिबद्धतासहित नगरपालिकामा लगाइएको ताला खोल्नेबारे छलफलको प्रयास गरिएको थियो । तर, जनप्रतिनिधिहरू नै नआएपछि बिहीबारबाट नौवटै वडा कार्यालयमा समेत तालाबन्दी गरेर आन्दोलनलाई कडा पारिएको शाहीले बताए ।

आन्दोलनरत पक्षले पञ्चदेवल विनायक नगरपालिकामा कुनै पनि सरकारी नम्बर प्लेटका गाडी चल्न दिएका छैनन् । अनिश्चितकालका लागि नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको पीडित पक्षले हत्याका मुख्य आरोपीहरू छानबिनको दायरामा नआए आइतबारदेखि जिल्लाभर हडताल गर्ने चेतावनी दिएका छन् । १९ दिनदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी हुनु र पुनः वडा कार्यालय बन्द गरिएपछि नगरपालिकाका सबै काम ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत माझीले बताए ।