मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ असार १० शुक्रबार ०६:२०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मन्त्री हेरफेर गर्न नेता नेपालको निरन्तर ताकेता, प्रधानमन्त्रीको आलटाल 

Read Time : > 2 मिनेट
२०७९ असार १० शुक्रबार ०६:२०:००

पार्टीभित्रै एकातिर फेरिने निर्णयमा परेका ‘मन्त्री टिम’ र अर्कातिर नियुक्तिको पर्खाइमा रहेका नयाँ ‘मन्त्री टिम’बीच तिक्तता 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन्त्री हरेफेर गर्ने २० दिनअघिको पार्टी निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई निरन्तर ताकेता गरेका छन् । प्रतिनिधिसभाबाट बजेट पारित भएपछि हेरफेरको आश्वासन दिए पनि प्रधानमन्त्री देउवाले एक सातासम्म आलटाल गरेका छन् । 

नेपालले बुधबार र बिहीबारको अधिकांश समय त्यही पुरानो निर्णय कार्यान्वयन गराउने दौडधुपमै व्यतीत गरे । पार्टी सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनालसहित पदाधिकारीले दबाब दिएपछि तत्काल कार्यान्वयन गराउने पुरानै निर्णय बोकेर अध्यक्ष नेपाल बुधबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । २ असारमा विनियोजन विधेयक पारित भएको साता दिन बित्दा पनि पार्टीबाट सहभागी चारजना मन्त्री हेरफेर गराउन नेपाललाई सकस भएको छ । 

बुधबार सत्तारूढ गठबन्धनको शीर्ष बैठकमा नेपालले प्रधानमन्त्रीबाट सकारात्मक संकेत त पाए, तर अलग्गै बस्न चाहेको सन्देश बुझेपछि नेपाल बिहीबार पनि पुरानै एजेन्डामा ताकेता गर्न फेरि बालुवाटार पुगे । त्यसअघि आफ्नै निवास, कोटेश्वरमा भएको भेटवार्तामा गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेरबदलको बाध्यताबारे अध्यक्ष नेपालले ‘कन्भिन्स’ गरेका थिए । 

प्रचण्डसँगको भेटलगत्तै साँझसम्म शपथका लागि प्रधानमन्त्री कार्यालयबाट खबर आउने प्रधानमन्त्री देउवाको आश्वासन पाएर बालुवाटारबाट फर्किएका नेपालले लगत्तै बसेको पार्टी सचिवालय बैठकमा त्यही सन्देश प्रवाह गरे । र, नेपालको ‘ब्रिफिङ’ सुनेका उपमहासचिव तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले ‘दिनमा होइन, अब हेरफेरको निर्णय केही घन्टामै कार्यान्वयन हुन लागेको’ दाबी सञ्चारकर्मीलाई सुनाए । 

‘व्यक्तिगत छलफल कसले कोसँग कतिवेला गर्‍यो भन्ने एउटा कुरा होला, तर एकदमै चाँडै, दिनहरूमा होइन, केही घन्टामै मन्त्रीहरूको हेरफेर गर्ने दिशातिर गइरहेको छ,’ उनले भने । सञ्चारकर्मीहरूलाई खतिवडाले यस्तो सन्देश प्रवाह गरेको केही घन्टामा मन्त्रीहरूको शपथ बिहीबार होइन, शुक्रबारका लागि सारिएको नेपाललाई प्रधानमन्त्री कार्यालयले सूचना दियो । तर, शुक्रबारको समय भने अझै बताइएको छैन । 

पार्टी निर्णय कार्यान्वयनमा प्रधानमन्त्री देउवाबाट सकारात्मक सहयोग नपाउँदा एकातिर फेरिने निर्णयमा परेका ‘मन्त्री टिम’ र अर्कातिर नियुक्तिको पर्खाइमा रहेका नयाँ ‘मन्त्री टिम’ छुट्टिएको छ । यति मात्रै होइन, पार्टी नेताहरूले नेतृत्वक्षमतामाथि प्रश्न उठाएपछि नेपाल दोहोरो चेपुवामा छन् । नेपालले यतिवेला गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवा र पार्टीभित्रैबाट अप्ठ्यारो झेलिरहेका छन् । 

बुधबार राति फेरिने सूचीमा रहेका मन्त्रीहरू रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र किसानकुमार श्रेष्ठले नेपाललाई भेटेर नयाँ सर्त राखेका छन् । उनीहरूले निर्णय कार्यान्वयनका लागि कम्तीमा राष्ट्रिय सभाबाट बजेट पारित हुनुपर्ने, एउटै जिल्लाका दुईजनालाई मन्त्रीमा पठाउन नहुने र समावेशी प्रतिनिधित्वका लागि एकजना महिला अनिवार्य पठाउनुपर्ने सर्त राखेको स्रोतले जनाएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने नेपालसँग बुधबार राति पार्टीको पोलिटब्युरो बैठकका एजेन्डाका विषयमा मात्र कुराकानी भएको दाबी गर्दै प्रधानमन्त्रीलाई अध्यक्षले भेटेपछि हेरफेर गर्ने कि नगर्ने भन्ने विषय कुनै जानकारी नगराएको बताए । ‘हामीले त भेटमा पार्टी पोलिटब्युरो बैठकका एजेन्डाबारे छलफल गरेका थियौँ, अरू विषयमा होइन, तर पछि प्रधानमन्त्रीलाई उहाँले किन भेट्नुभो, के भन्नुभो, हामीलाई केही भन्नुभएको छैन,’ मन्त्री खतिवडाले भने ।

मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको अधिकार भएकाले आफूहरूले असहयोग गरेर रोक्दैमा ठूला नेता रोकिने अवस्था हो भने पार्टीको कुनै अर्थ नहुने कुरामा प्रस्ट रहेको उनको भनाइ छ । ‘हामीले किन असहयोग गर्नु ? प्रधानमन्त्रीले गर्ने कुरा गरे भैगो, पार्टीका ठूला नेतालाई हामीले रोकेर रोकिने, फुकुवा गरे फुकुवा हुने हो भने त पार्टीकै के अर्थ रहन्छ र ?’ मन्त्री खतिवडाले प्रश्न गरे । 

उता, एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने कसैले कसैलाई भेटेर व्यक्तिगत कुरा राख्ने विषय ठूलो नभएकाले पार्टीले कसैको सर्त नसुन्ने प्रस्ट्याए । ‘व्यक्तिगत छलफल कसले कोसँग कतिवेला गर्‍यो भन्ने कुरा होला, तर पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एक मात्र सर्त पार्टीको सचिवालय, स्थायी कमिटीले गरेको निर्णय नै यसको अन्तिम सर्तहरू हुन्,’ खतिवडाले भने, ‘पार्टीले जे निर्णय गरेको छ, त्यो पार्टीले कार्यान्वयन गर्नेछ ।’ 

उनले मन्त्री हेरफेर गर्ने विषय पठाउने वेलामै भद्र सहमति भइसकेकाले कसैले विद्रोह गर्ने कुराको कुनै गुञ्जायसै नरहेको बताए । ‘मन्त्री पद सधैँ कसैले चिरस्थायी प्राप्त गरेको हुँदैन । दुई–चार महिना, ६ महिना, वर्षदिन, त्यसपछि फेरि परिवर्तन हुने, स्थायी सरकार भए बढीमा पाँच वर्ष राम्रो काम गर्ने क्षमता देखाएको मन्त्री रहेछ भने उसप्रतिको मूल्यांकन बेग्लै होला । तर, एकपटक हुने मन्त्रीले ६ महिना काम देखाउनुस्, तलमाथि हुन सक्छ, परिवर्तन गर्ने जेन्टलमेन एग्रिमेन्ट पहिल्यै थियो । अहिले त आठ–नौ महिना बित्यो, त्यसैले बिदा गर्नुपर्ने परस्थिति आइलाग्यो, उहाँहरूलाई बिदा गरेका छौँ, त्यसैले विद्रोहको कुनै गुञ्जायस छैन,’ खतिवडाले भने । 

अध्यक्ष नेपालले सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवर श्रम तथा सामाजिक सुरक्षा तथा हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन नेपालले प्रधानमन्त्री देउवालाई सूची बुझाएका थिए । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने त्यही मन्त्रालयमा बढुवा गरी मन्त्री बनाउनुपर्ने सूची नेपालको प्रस्तावमा थियो । 

तर, पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरू प्रेम आले, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अलगअलग भेटेर आफ्नो पार्टीको निर्णय कार्यान्वयन नगराउन लबिङसहित दबाब सिर्जना गरेपछि अध्यक्ष नेपाल पछि हट्न बाध्य भएका थिए ।