मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार ०८:३९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

लयमा फर्किन नपाउँदै फेरि घट्यो सेयर बजार

३१ अंकले नेप्से घट्दा कारोबार रकम एक अर्ब पनि पुगेन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार ०८:३९:००

बुधबार नेप्से परिसूचक पुनः घटेकोे छ । नेप्से परिसूचक ३१ दशमलव २१ अंकले घटेर एक हजार आठ सय ९३ दशमलव ५३ बिन्दुमा आइपुगेको छ । त्यस्तैै, ‘क’ वर्ग कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव ९४ अंकले घटेर तीन सय ६९ दशमलव १५ बिन्दुमा आइपुगेको छ ।

अघिल्लो दिन मंगलबार करिब ४० अंकले बढेको बजारले निरन्तर नपाउँदै लगानीकर्ता थप निराश बनेका छन् । अघिल्लो दिन बजार बढ्नुमा नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको मागलाई सम्बोधन गर्ने भन्ने समाचार मुख्य कारण रहेको कतिपय लगानीकर्ता बताउँछन् । तर, साँझ तीन महिनाभित्र लगानीकर्ताले उठाउँदै आएको जायज मागलाई सम्बोधन गरे पनि वार्ता समिति भने नबनाउने बरु काम गरेर देखाउने बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताएका थिए । माग सम्बोधन नहुने संकेत पाएपछि लगानीकर्ता निराश भई सस्तोमै सेयर बेच्दा बजार पुनः मनोवैज्ञानिक बिन्दुबाट तल खसेको ब्रोकरको भनाइ छ । 

बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा ३५ करोड रुपैयाँले कारोबार रकम घटेको हो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ३० लाख ३४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । नबिल बैंकको सेयर कारोबार सबैभन्दा बढी भएको छ । बैंकको तीन करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यसैगरी, नेपाल बैंकको दुई करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक (एनसिसी), एनआइसी एसिया बैंक र नेसनल हाइड्रोपावर कम्पनीको सेयर दुई करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यी कम्पनीको सेयर मूूल्य निकै घटेकाले लगानीकर्ताले खरिद गरेका हुन् । यस दिन एक सय ७३ वटा कम्पनीको सेयर मूल्य घटेका छन् भने १९ वटा कम्पनीको सेयर मूल्य बढेका छन् ।

घटेको बजारमा दुईवटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नत स्किमको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । त्यसैगरी, नबिल इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन प्रतिशतदेखि चार दशमलव २१ प्रतिशतले बढेका छन् ।

युनाइटेड इदीमर्दी आरबी हाइड्रो पावरको ६ दशमलव ४८ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरैले गुमाउन पुगेका छन् । त्यसैगरी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, सिन्धु विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स र किसान लघुवित्त वित्तीय संस्थाको सेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ । 
यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका । विकास बैंक समूह, फाइनान्स समूह, जलविद्युत् समूह, ‘अन्य’ समूह र निर्जीवन बिमा समूहको सूचक दुई प्रतिशतभन्दा बढीले घटेका छन् । बाँकी सातवटा समूहको सूचक एक प्रतिशतभन्दा बढीले घटेको छ । 

 लगानीकर्ताको माग सम्बोधन गर्न कार्यान्वयन समिति गठन, बिहीबार वार्ता हुने
पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन गर्नका लागि  कार्यान्वयन समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले  कार्यान्वयन समिति बनाएर जायज मागलाई कार्यान्वयन गर्न सकिने बताएपछि समिति गठन भएको हो । बजार न्यून बिन्दुमा आइपुगेको र यसमा चार करोड र १२ करोडको सेयर धितो सीमा कर्जा  हटाउनेलगायतको १९ बुुँदे माग राख्दै लगानीकर्ता तिलक कोइराला आठ दिनदेखि अनशनमा बसेका छन् । बुधबार उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर तत्काल कार्यान्वयन गर्न सकिने बुुँदालाई कार्यान्वयन गर्न समिति गठन भएको बोर्ड अध्यक्ष हमालले बताए । 

आन्दोलनरत लगानीकर्तासहित अनशन बसेका तिलक कोइरालाको १९ बुँदे माग कार्यान्वयनमा लगानीकर्ताको तर्फबाट राधा पोखरेल, तुलसी ढकाल र उत्तम अर्याल तथा नेपाल धितोपत्र बोर्डका तर्फबाट निमित्त कार्यकारी निर्देशकद्वय मुक्तिराज श्रेष्ठ र विनयदेव आचार्य रहने भएका छन् । थप समितिमा बाँकी दुईजना तिलक कोइरालाले चयन गर्ने लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए । ‘अहिले एककिसिमको समिति गठन गर्न बोर्ड तयार भएको छ । अब हाम्रा साथीहरू उहाँहरूसँग बसेर निर्णय गर्ने र कार्यान्वयन हुने मितिसहित टुंगो भएपछि मात्र अनशन तोड्नुहुन्छ,’ उनले भने ।