१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जोनाथन मार्कस
२०७५ चैत ४ सोमबार ०८:०३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

आणविक हतियारको डर कति ?

नयाँ हतियारका साथ पुरानो शत्रुताले पनि एकपटक फेरि शिर उठाउन थालेकाले निश्चय नै यसपटक खतरा पहिलेभन्दा पनि बढी छ

Read Time : > 2 मिनेट
जोनाथन मार्कस
२०७५ चैत ४ सोमबार ०८:०३:००

‘हामी विस्फोटक पदार्थबाट भरिएको इलाकामा यात्रारत छौँ, जहाँ कहिले र कुन स्थानमा विस्फोट हुने हो, हामी अनुमानसम्म गर्न सक्ने अवस्थामा छैनौँ ।’ यो चेतावनी रुसका पूर्वविदेशमन्त्री इगोर इभानोभले दिएका हुन् । उनले वासिंटन डिसीमा ‘अन्तर्राष्ट्रिय आणविक नीति’सम्बन्धी सम्मेलनमा यस्तो बताएका हुन् । 

यस्तै भनाइ पूर्वअमेरिकी सिनेटर तथा लामो समयदेखि हतियार नियन्त्रणसम्बन्धी आन्दोलनका कार्यकर्ता स्याम ननले पनि दोहोर्‍याए । उनले चेतावनी दिँदै भने— अमेरिका, रुस र चीनले मिलेर काम गरेनन् भने हाम्रा सन्तान र उनका पनि सन्तानका लागि यो संसार डरलाग्दो सपनासरह हुनेछ । उनले वर्तमान नेताहरूले अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगन र सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभका आणविक हतियार अप्रसारसम्बन्धी सहमति पालना गर्नुपर्नेमा पनि जोड दिए । ती दुवै नेताले शीतयुद्धको चरणमा आणविक हतियारको बलमा युद्ध जित्न नसकिने यथार्थ स्विकारेका थिए । रेगनले मिसाइलप्रुफ ब्यालेस्टिक मिसाइल डिफेन्सको सपना देखे पनि रुसी समकक्षी गोर्भाचेभसित आणविक निःशस्त्रीकरणसम्बन्धी सम्झौता पनि गरे । यो सम्झौतापछि नै शीतयुद्ध समाप्तिको दिशामा लम्केको मानिन्छ । तर, वर्तमानमा आणविक निःशस्त्रीकरण सम्झौता संकटमा परेको देखिँदै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार रुसले वर्षौं पुरानो यो सन्धि तोडेको छ । अर्कातिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यी आरोप ठाडै नकारेका छन् । गम्भीरतापूर्वक हेर्ने हो भने अमेरिकाका सहयोगी देश पनि ट्रम्पको विदेश नीतिबाट खुसी छैनन् । अमेरिकाका लागि जर्मन राजदूत एमिली हेबरले सन्धिका नियम उल्लंघन भएकोतिर संकेत गरेकी छिन् । उनले अमेरिकाले अन्य देशमाथि आर्थिक प्रतिबन्ध लगाएर भविष्यको योजनालाई संकटमा धकेलिरहेको बताएकी छिन् । उनले ट्रम्प प्रशासनको आलोचना पनि गरिन् । 

आणविक हतियारमाथि भएको सम्मेलनमा कैयौँ वक्ताले हतियारसम्बन्धी पुराना सम्झौता टुट्नु या आणविक शक्ति सम्पन्न देशबीच तनाव बढ्नु मात्र चिन्ताको विषय नभएकोमा जोड दिए । चीन सुपर पावर बन्ने दिशातर्फ अघि बढ्नु र भारत–पाकिस्तानबीच बढ्दो तनावभन्दा पनि केही नयाँ संकटबारे पनि खासखुस सुनिँदै थियो । यी खतराका केही उदाहरण यस्ता छन्– सुपरसोनिक गतिमा उड्ने र सटिक निसाना लगाउने मिसाइल निर्माण हुनु, साइबर हतियार प्रयोग हुनु र अन्तरिक्षमा हुने सम्भावित सैनिकीकरण र कृत्रिम बौद्धिकताको उपयोग । यस्ता संकटका अगाडि पुराना खतरा कमजोर हुँदै गएजस्तो लाग्छ । 

रोनाल्ड रेगन र सोभियत नेता मिखाइल गोर्बाचेभले शीतयुद्धको चरणमा पनि आणविक हतियारको बलमा युद्ध जित्न नसकिने यथार्थ स्विकारेका थिए

यहाँनेर एउटा प्रश्न उठ्छ, के चीनलाई आणविक सन्धिमा सहभागी गराउन आइएनएफ सन्धि पुनः सुरु गर्न सकिन्छ ? यसको जवाफ अमेरिकी हतियार नियन्त्रण विभागका सचिव एन्ड्रिया थम्पसनले दिएकी छिन् । उनले भनिन्– चीनले यस्तो कुनै पनि सन्धिमा सहभागी हुने रुचि देखाएको छैन । के अमेरिका र रुसबीच आणविक निःशस्त्रीकरणका लागि हुनेवाला ‘न्यु स्टार्ट सन्धि’ सुरक्षित मान्न सकिन्छ ? त्यसो त यसका लागि निकै कम समय छ । यो सन्धि फेबु्रअरी, २०१२ मा समाप्त हुनेछ । यद्यपि, तमाम अमेरिकी र रुसी अधिकारीले यसको उपयोगितालाई स्वीकार त गरेका छन् तर फेरि यसलाई अघि बढाउन त्यति धेरै उत्साहित देखिएका छैनन् । 

भियतनामको हनोईमा ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो बैठक विनानिष्कर्ष समाप्त भएको थियो । उत्तर कोरियाली नेता आफ्नो देशको आणविक कार्यक्रमको एउटा सानो अंश बन्द गर्न तयार भए र यसको बदलामा उनले अमेरिकाका तर्फबाट लगाइएको आर्थिक प्रतिबन्ध हटाउनुपर्ने माग राखे । यसपछि अमेरिकी राष्ट्रपतिले वार्ताबाट उठेर हिँड्नु नै राम्रो ठाने । नयाँ हतियारका साथ पुरानो शत्रुताले पनि एकपटक फेरि शिर उठाउन थालेकाले निश्चय नै यसपटक खतरा पहिलेभन्दा पनि बढी छ । बढ्दो यस खतराप्रति न कोही जवाफदेही बन्न चाहन्छ, न त यसलाई नियन्त्रित गर्ने कुनै नीति नै बनिरहेको छ । 

(मार्कस बिबिसीका कूटनीतिक संवाददाता हुन्)
बिबिसी हिन्दी डट कमबाट
मार्कस अमेरिकी पूर्वराष्ट्रपति हुन् ।