मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत ४ सोमबार ०७:४७:००
Read Time : > 1 मिनेट
विश्व

विमान दुर्घटना : पीडितका आफन्तलाई  अन्तिम संस्कारका लागि एक–एक किलो डढेको माटो

इथियोपियन एयरलाइन्स विमान दुर्घटना

Read Time : > 1 मिनेट
२०७५ चैत ४ सोमबार ०७:४७:००

गत आइतबार इथियोपियामा विमान दुर्घटनामा मारिएका व्यक्तिका आफन्तलाई दुर्घटनास्थलको माटो दिइने भएको छ । इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनामा मारिएका १५७ जनाका आफन्तलाई अन्तिम संस्कारका लागि दुर्घटनाग्रस्त क्षेत्रबाट संकलन गरिएको डढेको माटो दिइने भएको हो । 

राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको सो विमान उडेको केही मिनेटमा नै दुर्घटनाग्रस्त भएको थियो । सो विमानको इन्जिनमा प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् । विमान दुर्घटनामा नेपाललगायत ३५ देशका नागरिक मारिएका थिए ।

सो दुर्घटनापछि बोइङ ७३७ म्याक्स मोडलका विमान उड्न संसारभर प्रतिबन्ध लगाइएको छ । यसअघि गत अक्टोबरमा लायन एयरलाइन्सको सोही मोडलको विमान इन्डोनेसियाको जाभा प्रान्तमा खस्दा विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनाग्रस्त विमानमा एउटै प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताएका छन् ।

 ‘अनुसन्धान गर्न धेरै समय लाग्छ’
विमान दुर्घटनाबारे अनुसन्धान सुरु गरिए पनि अनुसन्धान प्रक्रिया लामो हुने इथियोपिया सरकारले जनाएको छ । इथियोपियाका यातायातमन्त्रीले विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै समय लाग्ने बताए । ‘यति ठूलो दुर्घटनाको कारण पत्ता लगाएर निष्कर्षमा पुग्न सावधानीपूर्वक विश्लेषण गर्नुपर्ने हुन्छ, त्यसका लागि धेरै समय लाग्छ,’ यातायातमन्त्री दागमाविट मोगेजले पत्रकार सम्मेलनमा बताए ।

 एयरलाइन्सको कार्यालमा डिएनए नमुना दिन सकिने
मृतकको पहिचान गर्न सजिलो होस् भनेर विमान दुर्घटनामा मारिएका यात्रुका आफन्तलाई आफ्नो डिएनए नमुना राजधानी अदिस अबाबा वा इथियोपियन एयरलाइन्सको जुनसुकै देशको कार्यालयमा छाड्न आग्रह गरिएको छ । आगामी दुई साताभित्र मृत्युको प्रमाणपत्र उपलब्ध गराइने अपेक्षा गरिएको छ । 

आफन्तलाई किन दिइयो माटो ?
शारीरिक अवशेषको परीक्षण गरेर विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न ६ महिनासम्म लाग्ने भएकाले उनीहरूका आफन्तजनलाई माटो दिइने निर्णय भएको रोयटर्सले जनाएको छ । विमान दुर्घटनामा सम्पूर्ण यात्रुहरूको शव जलेर नष्ट भएको बताइएको छ । ‘शव पहिचान र अवशेष परिवारलाई बुझाउन असम्भव भएकाले माटो दिइएको हो, ‘एक अधिकारीको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ । तर, आफ्ना प्रियजनको अंग प्राप्त नभएसम्म आफूहरूले शान्तिको सास फेर्न नसक्ने पीडतहरूले बताएको समाचार विवरणमा जनाइएको छ । ‘हामीलाई आफ्ना प्रियजनको शव वा अंश नदिइएसम्म हामी आराम गर्दैनौँ,’ पीडितका एक आफन्तले भने । पीडितका आफन्तलाई दुर्घटनाग्रस्त क्षेत्रको डढेको एक–एक किलो माटो राखिएको झोला दिन सुरु गरिएको छ ।

 दुर्घटनाबारे अनुसन्धान सुरु
विमान दुर्घटनाको कारण पत्ता लगाउन अमेरिका, फ्रान्सलगायत संसारका विभिन्न अनुसन्धानकर्ताहरूको समूहले सहयोग गरिरहेका छन् । विमानको फ्लाइट डेटा रेकर्डर र ब्ल्याक बक्स अर्थात् ककपिट भ्वाइस रेकर्डर फेला परिसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन दिनअघि बोइङ ७३७ म्याक्स मोडलका विमान उडाउन रोक लगाउन अमेरिकी संघीय उड्डयन नियामक निकाय (एफएए)लाई निर्देशन दिएका थिए । गत वर्षको अन्त्यतिर केही अमेरिकी विमान चालकले बोइङ ७३७ म्याक्स मोडलको विमानलाई उडाउने वेलामा नियन्त्रण गर्न समस्या भएको भन्दै कम्पनीविरुद्ध उजुरी गरेका थिए ।