१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०७:३७:००
Read Time : > 1 मिनेट
सम्पादकीय

प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०७:३७:००

नेपाल लगानी बोर्डले दक्षिण कोरियाको मोटर उत्पादक कम्पनी मोट्रेक्सलाई नेपालमा मोटर उत्पादन प्लान्ट स्थापना गर्न अनुमति दिएको छ । आगामी एक वर्षभित्रै पार्ट्सहरू ल्याएर नेपालमै जोडजाड गरी चारपांग्रे सवारी साधन उत्पादन थाल्ने र केही वर्षमा नेपालमै पार्ट्स पनि उत्पादन गर्ने लक्ष्य राखेको मोटे«क्सले हुन्डाई र किया कम्पनीका गाडी उत्पादन गर्नेछ । यो प्लान्ट स्थापनापछि एकातिर नेपालीले पाउने प्रत्यक्ष रोजागरीका अवसर थपिनेछन् भने अर्कातिर चारपांग्रे सवारी साधनको मूल्य सस्तो हुनेछ । नेपालले बाह्य व्यापारका लागि आवश्यक वातावरण अनुकूल बनायो भने यस्ता सावारी साधनको निर्यातसमेत हुनेछ ।

प्रत्यक्ष वैदेशिक लगानीका दृष्टिले यो प्लान्ट स्थापना महत्वपूर्ण हुने अनुमान गर्न सकिन्छ । यद्यपि भारतमै चारपांग्रे सवारी साधन उत्पादन गरी नेपाली बजारको मुख्य हिस्सा ओगटेका सुजुकी, फोर्ड, टाटालगायत उत्पादक र स्थानीय व्यापारीका तर्फबाट यसमा अवरोध आउन सक्ने सम्भावना भने जीवितै छ । तैपनि, कोरियाली कम्पनीको यस प्रस्तावले बहुराष्ट्रिय कम्पनीहरू अनुकूल अवस्था पाए नेपालमा आउन सक्छन् र नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सम्भावना बढ्छ भन्नेतर्फ यसले संकेत गरेको छ । केही दिनमै हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आएको यो समाचार अवश्य पनि सरकारका लागि सुखद रहनेछ ।

वास्तवमा नेपाल अब वैदेशिक लगानीको एउटा आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बढ्दै गएको छ । यसका मुख्यतः दुई कारण छन् । पहिलो– नेपालमा बिस्तारै मध्यम वर्गको उदय हुँदै छ, जो खर्च गर्न सक्छ र विभिन्न उपभोग्य वस्तु खरिद गर्ने क्षमता बढाउँदै छ । बर्षेनि आयात हुने वस्तुको सूची हेर्दा पनि यो थाहा हुन्छ । अर्कोचाहिँ नेपालका दुई छिमेकी मुलुकको आर्थिक उत्थान तीव्र हुँदै छ र यहि तिव्रतासँगै एकातिर तिनीहरू आयातीत सामानको उपभोक्तामा फेरिँदै छन् भने अर्कातिर उनीहरूको आन्तरिक बजारमा उत्पादनका साधनको मुल्य तीव्र रूपमा बढिरहेको छ । जमिनको भाउ बढेको छ, ज्यालादर बढेको छ । यसले नेपाललाई आधार बनाएर कम लागतमा उत्पादन गरी ती देशमा निर्यात गर्ने सम्भावनातिर विभिन्न वस्तु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीको ध्यान नेपालतिर खिचेको हुनुपर्छ । भारतसँगको कनेक्टिभिटी अहिले नै नेपालका लागि अनुकूल छ भने केही सुधार गर्दा चीनसम्मको पहुँच पनि विस्तार हुने देखिन्छ ।

नेपालमै मोटर निर्माण गर्ने कोरियाली कम्पनीको प्रस्तावले बहुराष्ट्रिय कम्पनीहरू अनुकूल अवस्था पाए नेपालमा आउन सक्छन् र नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सम्भावना बढ्छ भन्ने देखिन्छ

यसका लागि नेपाल सरकारको पहिलो काम भनेको यस्तो सडक यातायातको सम्पर्क सञ्जालको तीव्र विस्तार गर्नु हो । दोस्रो, आन्तरिक बजारमा माग भएजति पूर्ति गर्न सक्ने गरी विद्युत्को उत्पादन बढाउनु हो । दोस्रो पक्षमा नेपाल केही वर्षमै पर्याप्त विद्युत् उत्पादन गर्ने तयारीमा छ । सडक यातायातका दृष्टिले भने सरकारले प्राथमिकतासाथ समयसीमा तोकेर काम गर्‍यो भने दुई वर्षमै चीनसँगको यातायात सञ्जालमा जोडिने गरी आधारभूत रूपमा सहज पहुँच स्थापित हुन सक्ने देखिन्छ । वैदेशिक लगानीका लागि जेजस्ता नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने हो, त्यसका लागि कुनै लगानी पनि चाहिँदैन, धमाधम गरे तत्काल त्यसमा पर्याप्त सुधार ल्याउन सम्भव छ । सरकारमा बस्नेले यत्ति बुझे पुग्छ, भाग्यमा त छ तर दूधले डोको भरिन्न ।