१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत ४ सोमबार ०७:२८:००
Read Time : > 1 मिनेट
राजनीति

कार्यकर्तालाई ११ बुँदे सम्झाउँदै सिके राउत

सरकारसँगको सहमतिका पक्षमा छलफल गर्न स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबारदेखि सिरहाको लहानमा सुुरु

Read Time : > 1 मिनेट
२०७५ चैत ४ सोमबार ०७:२८:००

सरकारसँग २४ फागुनमा भएको ११बुँदे सहमतिपछि सिके राउतले पहिलोपटक कार्यकर्ता भेला गरेका छन् । सहमतिबारे अगुवा कार्यकर्तालाई सम्झाउन स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबार दिउँसोदेखि सिरहाको लहानमा सुुरु भएको हो ।

गठबन्धनका संयोजक राउतले ११बुँदे सहमतिपछि आगामी रणनीतिबारे छलफल गर्न परिषद् बैठक भइरहेको राष्ट्रिय परिषद् सदस्य सुदीपराज कुशवाहाले जानकारी दिए । कुशवाहाका अनुसार बैठकमा तराई–मधेसअन्तर्गत २२ जिल्लाबाट परिषद्मा प्रतिनिधित्व गर्ने करिब दुई सयजनाको सहभागिता छ ।

‘सहमतिप्रति खुसियाली’
कुशवाहाका अनुसार परिषद् बैठक राउतले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यमा राउतले ११बुँदे सहमतिकै सेरोफेरोमा बोलेको बताइएको छ । उद्घाटनपछि हरेक जिल्लाबाट सहभागीले सहमतिबारे आ–आफ्ना धारणा राखिरहेको उनले जानकारी दिए । ‘सहभागीहरू सबैले सहमतिको स्वागत गर्दै खुसी व्यक्त गरेका छन्,’ उनले भने, ‘सहमतिबारे सहभागीहरूको धारणा व्यक्तपछि आगामी रणनीति तय गरी सम्भवतः सोमबार रातिसम्म बैठक समापन गरिनेछ ।’ 

देखिएन गठबन्धनको झन्डा र ब्यानर
लहान नगरपालिका–७ स्थित मारवाडीसेवा सदनको सभाकक्षमा जारी बैठकमा सहभागी हुन राउत आइतबार बिहान करिब १० बजेतिर पिएसओ र सीमित कार्यकर्तासहित लहान आइपुगेका थिए ।  सरकारसँगको ११बुँदे सहमतिपछि पहिलोपटक २८ फागुनमा जनकपुर आएका उनलाई गठबन्धनसम्बद्ध कार्यकर्ताले स्वागत गरेका थिए । त्यहाँजस्तो गठबन्धनका पक्षमा प्रदर्शन र झन्डा र ब्यानर लहानमा भने देखिएन । 

बैठकमा सहभागी नेता कार्यकर्ताहरूलाई बस्नेखाने सुविधा सदनभित्रै व्यवस्था गरिएको कुशवाहाले बताए । परिषद् बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका सहभागीहरूलाई पनि आइतबार बिहान प्रवेश गर्नुअघि सदनको मूल गेटमा नेपाली नागरिकता अनिवार्य गरिएको थियो ।

सञ्चारकर्मीलाई निषेध
परिषद्को उद्घाटन राष्ट्रगानबाट गरिएको भन्नेबारे चर्चा थियो । कुशवाहाले भने लहान क्षेत्रका स्कुले विद्यार्थीहरू आफैँले रचना गरेको स्वागत गीत मात्र प्रस्तुत गरेको बताए । बैठकको विषयमा रिपोर्टिङका लागि भित्र जान चाहने पत्रकारलाई सदनको मूल गेटबाटै फर्काइएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आधाआधा गरी करिब एक दर्जन प्रहरी सदनको बाहिर सुरक्षामा खटिएका छन् ।

- २२ जिल्लाबाट २०० नेता–कार्यकर्ता सहभागी
- बैठकमा सहभागी हुन नेपाली नागरिकता अनिवार्य
- बन्दसत्रमा ११ बुँदे बारे छलफल
- सहभागीहरुलाई बस्ने–खाने व्यवस्था बैठक स्थलमै