मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ६ सोमबार ०९:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१९ सयको मनोवैज्ञानिक बिन्दुमा नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ६ सोमबार ०९:१५:००

आइतबार सेयर बजार परिसूचक नेप्से ३७ दशमलव २७ अंकले घटेर एक हजार नौ सय ३४ दशमलव ११ बिन्दुमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पनि सात दशमलव २९ अंकले घटेर तीन सय ७३ दशमलव ८५ बिन्दुमा आइपुगेको छ ।

 सेयर बजार पछिल्लो पाँच कारोबार दिनसम्म एक हजार नौ सयको मनोवैज्ञानिक बिन्दुमा नेप्से सूचक अडिरहेको छ । बजार यस बिन्दुबाट उकालो लागेको पनि छैन र घटेको पनि छैन । यद्यपि, लगानीकर्ता यही बिन्दुलाई आधार बिन्दु मान्दै सेयर खरिद–बिक्री गरिरहेका छन् ।

कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । यस दिन जलविद्युत् समूह, फाइनान्स समूह, विकास बैंक समूह र ‘अन्य’ समूहको सूचक ३ प्रतिशतले घटेको छ । लगानीगत समूहको सूचक दुई दशमलव २७ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूह, जीवन बिमा समूह, माइक्रो फाइनान्स समूह, निर्जीवन बिमा समूह र ट्रेडिङ समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

घटेको बजारमा आँधी खोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर मूल्य अघिल्लो हप्तादेखि सर्किट मूल्यमा कारोबार भइरहँदा यस संस्थाका लगानीकर्ता निकै उत्साहित बनेका छन् । त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स, सिवाइसी लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपालको सेयर मूल्य २ प्रतिशतदेखि ४ प्रतिशतसम्मले बढेको छ । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ कम्पनीको ३६ लाख ६६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब १३ करोड ४० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । कम्पनीको १० करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
त्यसैगरी, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक र एनआइसी एसिया बैंकको तीन करोड रुपैयाँदेखि पाँच करोड ६४ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ । 

आइतबार रिभरफल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सानी व्यहोरेका छन् । कम्पनीको सेयर मूल्य नौ दशमलव ५६ प्रतिशतले घटेको छ । त्यसैगरी, बलेफी हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतदेखि आठ दशमलव १९ प्रतिशतले घाटा व्यहोरेका छन् ।