मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ असार ६ सोमबार ०७:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको चुनावी रणनीति : पार्टीको शक्ति विस्तार, चाँडै सम्मानजनक सिट बाँडफाँड

Read Time : > 2 मिनेट
२०७९ असार ६ सोमबार ०७:१०:००

एकीकृत समाजवादीले पार्टी संगठनलाई विस्तार पहिलो प्राथमिकतामा राखेर संघीय चुनावका लागि सम्मानजनक सिट बाँडफाँडका लागि गठबन्धनभित्र दबाब बनाउने भएको छ । स्थानीय तह निर्वाचनमा गठबन्धनका अरू दलले अवमूल्यन गरेको निष्कर्षसहित एकीकृत समाजवादीले आफ्नो शक्ति विस्तार र चाँडो सम्मानजनक सिट बाँडफाँडका लागि दबाब बनाउने रणनीति तय गरेको हो । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनप्रति बढी भरोसा गर्दा आफ्नो पार्टीले स्थानीय तहमा अपेक्षित नतिजा हासिल नगरेका कारण छिटोभन्दा छिटो संघ र प्रदेशको सिट बाँडफाँड हुनुपर्ने पक्षमा पार्टी उभिएको बताए । ‘अबको चुनावको तालमेल वा सिटको बाँडफाँडमा ढिला गर्नुहुँदैन । केही मापदण्ड र आधार तय गर्नुपर्छ भन्नेबारे अब छलफल सुरु हुनेछ,’ नेपालले भने, ‘छलफल छिटो गरियोस् भन्नेमा हाम्रो बढ्ता ताकेता छ, जोड छ । अरूले पनि छिटो गर्नुपर्छ भनिरहनुभएको छ ।’ 

नेपालले गठबन्धन भने कायमै रहने स्पष्ट गरे । ‘हाम्रो निर्वाचन प्रणाली नै एउटै पार्टीको बहुमतको सम्भावना अत्यन्तै कम छ, एकभन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्ने अवस्था छ । नेपाली समाजमा मिलेर काम गर्ने संस्कृति छ, यसलाई जोगाउनुपर्छ,’ नेपालले भने, ‘आगामी चुनावसम्म त गठबन्धन कायम रहन्छ । त्यसपछि पनि यसलाई अघि बढाएर लैजानेमा ध्यान जानुपर्ने आवश्यकता छ ।’

नेपालले आइतबार सम्पादकसँग पछिल्लो राजनीतिक अवस्था र आफ्नो पार्टीको रणनीतिबारे छलफल गरेका थिए । मंसिरभित्रै संघ र प्रदेशको चुनाव हुने सम्भावना भएका कारण सिट बाँडफाँड छिटो टुंग्याउनुपर्ने नेपालको भनाइ छ । उनले स्थानीय तह निर्वाचनको तुलनामा प्रदेश र संघमा तालमेल अलि सजिलो हुने सुनाए । ‘स्थानीय तहमा तुलनात्मक रूपमा गठबन्धन पेचिलो हुँदो रहेछ । तुलनात्मक रूपमा माथि सजिलो छ, किनभने एक सय ६५ वटा सिट प्रतिनिधिसभामा छ, तीन सय ३० वटा प्रदेश सभामा छ । एउटा निर्वाचन क्षेत्रमा दुईवटा प्रदेश सभाका सदस्य सिट छन्,’ नेपालले भने, ‘त्यहाँ मिलाउन सजिलो हुन सक्छ । सहमति भएको ठाउँमा सहमतिले र नभए अरू ढंगले हुन सक्ला ।’

नेपालले स्थानीय निर्वाचनमा जस्तो गठबन्धनप्रति भरोसा नगरी आफ्नै शक्तिको बलमा चुनाव लड्ने तयारीमा पार्टी रहेको जानकारी गराए । ‘६ महिनाभित्रै चुनाव हुन्छ । मंसिर महिनालाई आधार मान्दा अहिलेदेखि नै चुनावका छलफल चलाउनुपर्छ । उम्मेदवार या सिट विभाजनबारे छलफल चलाउनुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘स्थानीय तह निर्वाचनमा गठबन्धनसँग बढी नै आशावादी भयौँ, नतिजा सोचेजस्तो आएन, त्यसैले हामीले आफ्नो पार्टीपंक्तिलाई भनिरहेका छौँ– गठबन्धनको गीत गाउने काम बन्द गर्नुस्, आफ्नो शक्ति वृद्धि गर्नेमा जोड लगाउनुस्, संगठन विस्तारमा लागिपर्नुस् ।’ स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र भएको सहमति लागू नभएकोप्रति असन्तुष्टि जनाउँदै नेपालले कमजोरीबाट पाठ सिकेर आफ्नो पार्टी अगाडि बढ्ने र गठबन्धनभित्रका दल पनि कमजोरी सच्याउन तयार हुनुपर्ने बताए । 

‘विद्रोहमा साथ दिएका एकीकृत समाजवादीको पक्षमा दृढतापूर्वक उभिएका जनप्रतिनिधिको हकमा समर्थन गर्ने भनिएको थियो । तर, कतिपय ठाउँमा सहज रूपमा सहमतिको उम्मेदवार सारिएन । हाम्रा लागि देशभर निश्चित प्रतिशत सिट छुट्याउन मान्य भएन । कम्तीमा प्रत्येक जिल्लामा यति सिट एकीकृत समाजवादीलाई दिने र प्रत्येक वार्डमा पनि केही आधार बनाउने काम हुन सकेन,’ नेपालले भने, ‘अन्त्यमा, महानगर र उपमहानगरको हकमा केन्द्रमा छलफल गरेर बाँकी सबै जिल्ला र प्रदेशलाई छोडिदिने भनियो । यही नै ठूलो घातक भयो । प्रदेश र जिल्लालाई सँगै राखेर टुंगो लगाउनुपथ्र्यो ।’

 मन्त्री हेरफेर ढिलाढाला भो, दुई दिन पर्खिन्छौँ 
पार्टीले मन्त्री हेरफेरका लागि निर्णय गरिसकेको लामो समय बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगरेकोमा नेपालले असन्तुष्टि जनाए । यद्यपि, कांग्रेस र माओवादी केन्द्रले समय मागेकाले अझै हेरफेरका लागि एक–दुई दिन कुर्ने पक्षमा पार्टी रहेको उनको भनाइ छ । ‘मन्त्री पठाउने सन्दर्भमा ढिलाढाला भइरहेको छ । खासगरी प्रधानमन्त्री र माओवादी केन्द्रका साथीले हाम्रोभित्र पनि माग आएकाले केही दिन पर्खिदिनुप¥यो भन्नुभएको छ । एक–दुई दिन पर्खिन्छौँ । छिट्टै मन्त्रीहरू परिवर्तन गर्ने प्रधानमन्त्रीले बताउनुभएको छ,’ नेपालले भने । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको पछिल्लो विवादास्पद अडियोबारे सोधिएको प्रश्नमा नेपालले गोलमोटल जवाफ दिए । उनले मन्त्रीहरूले बोल्दा धेरै ख्याल गर्नुपर्ने बताए । ‘पयर्टनमन्त्रीबारे यहाँ सोध्नुभो, मान्छेबारे जवाफ दिन धेरै गाह्रो हुन्छ । यति मात्र भन्छु, कुनै कुरा विचार पु¥याएर मात्र बोल्नुपर्छ,’ नेपालले भने ।

 संसद् विघटनलाई गल्ती स्वीकार गरे एमालेसँग तालमेल सम्भव
एमालेले संसद् विघटनमा कमजोरी महसुस नगरेसम्म उससँग चुनावी गठबन्धन वा पार्टी एकताको सम्भावना नरहेको नेपालले प्रस्ट्याए । ‘जसले संविधान मिच्ने काम गर्‍यो, पटक–पटक संसद् विघटन गर्ने काम गर्‍यो, त्यो पक्षले आफ्नो गल्ती–कमजोरी कति महसुस गरेको छ, यो कोणबाट हेर्ने हो भने कहीँ–कतै महसुस गरेको देखिँदैन । जे गरियो, गजब गरियो भनिसकेपछि त्यसमा पनि कुरा मिल्ने देखिएन,’ नेपालले भने, ‘त्यसमा महसुस भएको छ भने हामीलाई सुनाइदिनुहोला । त्यसपछि जिन्दगीभरि नकारात्मक भइरहनुपर्ने आवश्यकता छैन, विचार मिल्नेहरू नै एक ठाउँमा उभिने हुन् ।’