मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०७९ असार ५ आइतबार ०९:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिप नदीमा खस्दा एकको मृत्यु, सात घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ असार ५ आइतबार ०९:५९:००

मृतक बालक र सातजना घाइते एकै परिवारको हुन सक्ने प्रहरीको आशंका

छठियारको भोज खाएर फर्कँदै गरेका यात्रु सवार जिप सर्लाहीको धन्कैलमा दुर्घटनामा परेको छ । आइतबार बिहान धन्कौल गाउँपालिका– ५, छठीघाट पुलबाट जिप नदीमा खसेको हो । दुर्घटनामा परेर एक बालकको मृत्यु भएको छ ।  सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका– ४ निवासी चार वर्षका गम्भीर यादव रहेको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको हो । जिपमा चालकसहित नौजना सवार रहेको प्रहरीले जनाएको छ ।

घटनामा परेर वृन्दावन नगरपालिका– ४ निवासी ७० वर्षका महेन्द्र राय, चार वर्षका अमितकुमार यादव, १४ वर्षकी मीराकुमारी यादव, ३२ वर्षका जितेन्द्रकुमार यादव, १७ वर्षकी शाेभाकुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव घाइते भएका छन् । 

इलाका प्रहरी जिप्यलय बरहथवाका अनुसार घाइतेमध्ये वृद्ध रायको अवस्था गम्भीर रहेको छ । उनकाे शरीरको विभिन्न भागमा चोट लागेको तथा बायाँ खुट्टाको तिघ्रासमेत भाँचिएको प्रहरीले जनाएको हो । 

मृतक बालक र सातजना घाइते एकै परिवारको हुन सक्ने प्रहरीको आशंका छ । घाइतेमध्ये ६ जनाकाे अवस्था सामान्य छ । उनीहरूकाे  बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कँदै गर्दा उनीहरू सवार भारतीय नम्बर प्लेट भएको बिआर ०५ एआर ५१३७ नम्बरको जिप दुर्घटनामा परेको हाे । जिप पुलबाट १५ फिट तल नदीमा खसेको प्रहरीले जनाएको छ । 

घटनालगत्तै जिपका चालक फरार रहेको इलाका प्रहरी बरहथवाले जनाएको छ ।  प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।