मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव राजविराज
२०७९ असार ४ शनिबार १२:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याजी रामदेव प्रकरण : सम्पत्ति छानबिन गर्न अनुसन्धान विभागमा उजुरी

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ असार ४ शनिबार १२:३३:००

सप्तरीको मिटरब्याजी रामदेव साह तेली र उनका परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी पठाइएको छ। मिटरब्याजी साहबाट पीडित भएकाहरूद्वारा गठित संघर्ष समिति, सप्तरीले शुक्रबार विभागमा उजुरी पठाएको हो।

समितिका संयोजक छेदीलाल पासवानले मिटरब्याजी साह र उनका परिवारिक सदस्यहरूको सम्पत्ति छानबिनको मागसहित जिल्ला हुलाक कार्यालयमार्फत उजुरी पठाएका हुन्। उजुरीमा मिटरब्याजी साह र उनका परिवारले विगत ४० वर्षदेखि अवैध रूपमा आर्थिक कारोबार र लेनदेन गर्दै आएको तथा यसबाट प्रचुर मात्रामा सम्पत्ति आर्जन गरेको उल्लेख गरिएको छ।

गाउँघरका विपन्न व्यक्तिलाई एक सयको प्रतिदिन तीनदेखि पाँच रुपैयाँको चर्काे ब्याज (खेपी)मा लगानी गर्ने, जग्गा पास तथा सुनचाँदी राखेर मात्र ऋण दिने र सोको रकम चुक्ता गरिसकेपछि पनि बन्धकी राखेको जग्गा र गरगहना फिर्ता दिन आलटाल गर्ने र अधिकांशको बन्धकी राखिएको गरगहना र जग्गा नै हडपी अकुत सम्पत्ति जोडेको भन्दै साह परिवारको सम्पत्तिको छानबिन गर्न उजुरीमा माग गरिएको छ।

साह परिवारले सप्तरीमा मात्र नभई सुनसरी, सिराहा, महोत्तरी, धनुषालगायतका जिल्लामा समेत मिटरब्याजको अवैध कारोबार सञ्चालन गरी सयौँ परिवारलाई उठीबास गराएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा १ को खण्ड क, ख, ग तथा उपदफा २ र ३ को व्यवस्थाविपरीत कसुरमा आवश्यक छानबिन र कारबाही गर्न माग गरिएको छ।

जिल्लाको खडक नगरपालिका–७ निवासी साह र उनका परिवारविरुद्ध यसअघि नाैजना पीडितहरूले चौबरको कीर्ते कागजात बनाई जग्गा हडपेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा प्रहरीले रामदेवका छोरा नन्दकिशोर छोरी अनुराधालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिए पनि उनी अझै पक्राउ परेका छैनन् ।