१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका नवलपरासी
२०७९ असार २ बिहीबार १२:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

परासी जिसस निर्वाचनमा घात गरेको भन्दै कांग्रेस नेता कँडेल र कलवारलाई कारबाहीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
२०७९ असार २ बिहीबार १२:२१:००

जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ।

कांग्रेसभित्रबाटै अन्तर्घात भएका कारण हार व्यहोर्नुपरेको दाबी गर्दै कांग्रेसबाट जिसस प्रमुख पदमा उम्मेदवारी दिएका बालिन्द्रविक्रम शाहीले दुई नेताविरुद्ध पार्टी जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन्।

सात स्थानीय तह रहेको जिल्लामा कुनै पनि दलको बहुमत नपुगेपछि कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो। गठबन्धन गरेर आवश्यक पर्ने आठ मत पुर्‍याएको कांग्रेसका उमेदवार शाही एक मतले पराजित भए। प्रमुखबाहेक गठबन्धनका अन्य सबै उम्मेदवार भने विजयी भएका छन्। यता पाँच मत रहेको एमालेले एक मत रहेको राप्रपासँग गठबन्धन गरेको थियो। चुनावमा एमालेका प्रमुख पदका उम्मेदवार सात मत ल्याएर विजयी भएका थिए। पराजित शाहीको ६ मत थियो। चुनावमा प्रमुख पदको एक मत बदर भएको थियो। अर्को एक मत अन्य पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई दिए पनि प्रमुख र उपप्रमुखमा सूर्य चिह्नमा दिइएको थियो।

अनुशासन समितिका जिल्ला संयोजक एवं पार्टी जिल्ला उपाध्यक्ष विक्रम यादवलाई बुझाएको उजुरीपत्रमा गठबन्धनमा रहेका माओवादी केन्द्रका दुई जनप्रतिनिधिले गठबन्धनमै मत दिएको प्रमाण पेस गरेकाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै मत नदिएर पराजित भएको दाबी गरिएको छ। नेता कँडेल र कलवारकै निर्देशनमा आफ्नै मतदातालाई एमाले गठबन्धनका उम्मेदवारलाई भोट दिन लगाएकाे दाबीसहित उनीहरूमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको हो।

जिल्लामा रहेका कांग्रेसका दुई गुटका कारण हरेकपटक विवाद हुँदै आएको छ। एउटा गुट केन्द्रीय सदस्य कँडेलको छ भने अर्को गुट कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं संविधानसभा सदस्य विक्रम खनालको छ। स्थानीय निर्वाचनमा पनि कांग्रेसको वर्चस्व भएका पालिकामा गुटकै कारण हार व्यहोर्नुपरेको जिल्लामा चर्चा छ।

पछिल्लोपटक भएको जिसस चुनावमा पनि गुटकै कारण कांग्रेसले हारेको बताइएको छ। जिससको प्रमुख पदमा कँडेलले आफ्नो गुटका व्यक्तिलाई उम्मेदवार बनाउन चाहेका थिए। तर, खनाल गुटका उम्मेदवारले टिकट पाएपछि कँडेल गुटले हराउन चलखेल गर्न सक्ने भन्दै कांग्रेसकै मतदातामाथि निगरानी बढाउन थालिएको थियो। गुटकै कारण हार व्यहोर्नुपरेको भन्दै अहिले खनाल गुटका कार्यकर्ता नेताद्वय कँडेल र कलवारप्रति आक्रोशित छन्।