Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ जेठ ३१ मंगलबार ०८:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मनोज पाण्डेलाई १५ वर्ष  कैद सजाय मागदाबी

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ जेठ ३१ मंगलबार ०८:२३:००

१९ दिनको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो प्रतिवेदन

सौन्दर्य प्रतियोगिताका नाममा किशोरी बलात्कार घटनामा संलग्न मनोज पाण्डे भनिने मनोजकुमार जैसीविरुद्ध १५ वर्ष कैद सजायको माग दाबी गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 

आठ वर्षअघि किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले पाण्डेलाई गत ७ जेठमा स्वयम्भूबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । बलात्कार अभियोगमा हद म्याद तगारो देखिएपछि प्रहरीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । करिब १९ दिनको अनुसन्धानपछि महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरेको हो । 

एसपी दिनेशराज मैनाली, प्रवक्ता महानगरीय प्रहरी परिसर, काठमाडौं 

मनोज पाण्डेविरुद्ध मानव बेचबिखनअन्तर्गत म्याद थप भएको थियो । सोहीअनुसार हामीले अनुसन्धान गरेका छौँ । घटना पुष्टि गर्न प्रहरीले सबै उपाय अपनाएको छ । यस क्रममा घटनासँग सम्बन्धित विभिन्न व्यक्तिसँग बयान लिइएको छ ।

परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले पाण्डेविरुद्धको अनुसन्धान सकेर मुद्दा सरकारी वकिलको कार्यालयमा पेस गरिएको बताए । ‘पाण्डेविरुद्ध मानव बेचबिखनअन्तर्गत म्याद थप भएको थियो । सोहीअनुसार हामीले अनुसन्धान गरेका छौँ । घटना पुष्टि गर्न प्रहरीले सबै उपाय अपनाएको छ । यस क्रममा घटनासँग सम्बन्धित विभिन्न व्यक्तिसँग बयान लिइएको छ,’ उनले भने ।

बलात्कार घटनालाई पुष्टि गर्न प्रहरीले पूर्व मिस नेपाल माल्भिका सुब्बा, सौन्दर्य प्रतियोगिताका तत्कालीन प्रतियोगी मोडेल, भिसाज् कल्सल्टेन्सीका कर्मचारी, फोटोग्राफर श्रीधर पौडेललगायतका व्यक्तिसँग बयान लिएको थियो । प्रतियोगितापछि सक्सेस पार्टी आयोजना गरिएको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा उपलब्ध त्यसवेलाका कागजातको पनि प्रहरीले मिहिन ढंगले जाँच गरेको जनाएको छ ।

प्रहरीका अनुसार पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन ०६४ को दफा ३ उल्लंघन गरेको भन्दै जाहेरी दर्ता गरिएको थियो । सोही कसुरअन्तर्गत प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेको थियो । कसुर प्रमाणित भए कसुरदारलाई १० देखि १५ वर्षसम्मको कैद सजाय र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था सोही ऐनको दफा १५ को उपदफा १ ‘ख’मा उल्लेख छ । 

एसपी मैनालीले पाण्डेविरुद्ध अधिकतम सजायको मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरिएको बताए । ‘पीडितलाई न्याय दिलाउने प्रहरीको प्रयास हो । यसका लागि प्रहरीले आवश्यक अनुसन्धान गरेको छ । प्रमाणहरू संकलन गरिएका छन् । उपलब्ध सोही प्रमाणका आधारमा कानुनमा व्यवस्था भएअनुसार हदैसम्मको सजाय मागदाबी गर्दै प्रतिवदेन पेस भएको छ,’ उनले भने ।

पाण्डे मोडेल भिसाज् कन्सल्टेन्सीका सञ्चालक हुन् । सोही कन्सल्टेन्सीमार्फत उनले ‘मिस ग्लोबल इन्टरनेसनल ०१४’ आयोजना गरेका थिए । १७ भदौ ०७१ मा आयोजना भएको प्रतियोगिता भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको थियो । सोही प्रतियोगितामा सहभागी एक प्रतियोगीलाई पाण्डेले एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेका थिए । यसका लागि उनले होटेलको कोठा बुक गरेका थिए । त्यसअघि किशोरीलाई होटेलको वेटरमार्फत उनले ‘लेमन जुस’सँग लठ्याउने औषधि खुवाएको प्रहरीको भनाइ छ । बेहोस भएकी उनलाई पाण्डेले बलात्कार गर्नुका साथै भिडियोसमेत खिचेका थिए । सोही भिडियोमार्फत ब्ल्याकमेल गर्दै पाण्डेले ६ महिनासम्म किशोरीलाई बलात्कार गरेका थिए । डिप्रेसनमा पुगेकी उनले आठ वर्षपछि सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेकी थिइन् । 

यौन दुर्व्यवहारबारे अर्को अनुसन्धान पनि सकियो 
पाण्डेविरुद्ध अर्की एक किशोरीले पनि यौन दुर्व्यवहार भएको भन्दै काठमाडौं परिसरमा जाहेरी दिएकी थिइन् । उक्त कसुरविरुद्धको अनुसन्धान पनि प्रहरीले सकेको छ । प्रहरीका अनुसार अनुसन्धान सकेर सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरिएको छ । सौन्दर्य प्रतियोगिताका नाममा आठ वर्षअघि भएको बलात्कार घटनालाई लिएर पक्राउ परेपछि अर्की किशोरीले पनि यौनदुर्व्यवहार भएको भन्दै पाण्डेविरुद्ध जाहेरी दिएकी थिइन् । मोडेल बनाउने प्रलोभनमा होटेलमा बोलाएर यौनदुर्व्यवहार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । ‘पाण्डेविरुद्ध यौनदुर्व्यवहारको कसुर पनि दर्ता भएको थियो । यसमा पनि प्रहरीले अनुसन्धान सकेको छ । अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयमा पेस गरिएको छ । यसमा पनि हदैसम्मको सजाय मागदाबी गरिएको छ,’ एसपी मैनालीले भने ।