१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३० सोमबार ०७:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिभुवन विमानस्थलमा आन्तरिक टर्मिनल विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३० सोमबार ०७:३१:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को आन्तरिकतर्फको टर्मिनल भवनमा विस्तारित प्रस्थान कक्ष सञ्चालनमा आएको छ । आइतबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले नवनिर्मित प्रस्थान कक्षको उद्घाटन र आगमन टर्मिनल भवनको शिलान्यास गरेका हुन् । एकैपटक चार सय यात्रुलाई सेवा दिन सकिने क्षमताको नयाँ प्रस्थान कक्षको भवन निर्माणमा १० करोड रुपैयाँ खर्च भएको छ । नवनिर्मित प्रस्थान कक्षको व्यवस्थापन बुद्ध एयरले गर्ने बताइएको छ ।

आन्तरिकतर्फ आगमन टर्मिनल भवन ब्राइट मल्टी कन्स्ट्रक्सन कम्पनीले भ्याट र सेवा शुल्कबाहेक पाँच करोड नौ लाख ८३ हजारमा निर्माण गर्ने गरी ठेक्का पाएको छ । आन्तरिक टर्मिनलका अगाडि रहेको प्रार्किङसँगै जोडिएको जग्गामा नयाँ आगमन कक्ष निर्माण हुनेछ । एक तलाको भवन स्टिल स्ट्रक्चरबाट बनाइनेछ, जुन सात हजार वर्गमिटरमा फैलिनेछ ।

एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको यो भवनबाट एकैपटक दुई सयजनालाई सेवा दिन सकिने क्यानले जनाएको छ । आन्तरिक यात्रु बढ्दै गइरहेको र अहिले भइरहेको टर्मिनल भवन साँघुरो भएपछि क्यानले अस्थायी रूपमा नयाँ टर्मिनल भवन बनाउन लागेको हो । कोभिडपछि आन्तरिक यात्रु ह्वात्तै बढेका छन् । सन् २०२१ मा आन्तरिक यात्रु ३५ लाख नाघेका थिए । यात्रु बढेपछि आगमन र प्रस्थान दुवै कक्षले धान्न नसक्ने भएपछि क्यानले टर्मिनल भवन विस्तार गरेको हो । अहिले एकैपटक दुई–तीन आन्तरिक जहाज उडान–अवतरण भएमा टर्मिनल भवनले धान्न नसक्ने अवस्था छ । 

टिआइएको गुरुयोजनाअनुसारको नयाँ टर्मिनल भवन बनाउन समय लाग्ने भएपछि क्यानले अस्थायी संरचना निर्माण गर्न लागेको हो । गुरुयोजनामा ४० अर्ब खर्चिएर अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवन बनाउने उल्लेख छ, जसमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा ३२ अर्ब र आन्तरिक टर्मिनल भवनमा आठ अर्ब रुपैयाँ खर्च हुनेछ । यस्तै, आइतबार नै मन्त्री आलेले टिआइए परिसरमा बुटिक अवधारणाअनुसार निर्माण गरिएको वाटर फाउन्टेन पनि उद्घाटन गरेका छन् ।