मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ जेठ ३० सोमबार ०७:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लैंगिक हिंसाले मानसिक समस्या

चिकित्सकहरू भन्छन्– महिलामा शारीरिक, यौनिक, मनोवैज्ञानिक हिंसाका घटनाले गम्भीर खालका स्वास्थ्य परिणाम निम्त्याउने गरेको पाइयो

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ जेठ ३० सोमबार ०७:००:००

काठमाडौंकी ३२ वर्षीया सृष्टि डिप्रेसनको काउन्सिलिङका लागि प्रत्येक साता टिचिङ अस्पताल पुग्छिन् । डिप्रेसन बढेपछि चार महिनायता काउन्सिलिङसँगै चिकित्सकहरूले औषधिसमेत चलाएका छन् । नियमित काउन्सिलिङ र औषधि सेवनबाट उनको स्वास्थ्यमा सुधार आइरहेको चिकित्सकहरू बताउँछन् । कोभिड महामारीले निम्त्याएको बेरोजगारी, संक्रमणको तनाव, व्यवसायमा घाटालगायत विभिन्न कारण पछिल्लो समय अस्पतालहरूमा डिप्रेसनका बिरामीको चाप बढेको छ । तर, सृष्टिमा भने घरायसी हिंसाले डिप्रेसन बढेको छ ।

अन्तर्जातीय विवाहका कारण परिवारका सदस्यले दिने मानसिक तनावका कारण सृष्टि डिप्रेसनको सिकार भएकी हुन् । चार वर्षीया छोरीकी आमासमेत रहेकी उनले पाँच वर्षअगाडि अन्तर्जातीय विवाह गरेकी थिइन् । परिवारमा नियमित मानसिक हिंसा हुँदासमेत श्रीमान्ले परिवारबाट छुट्टिन नमान्दा आवेग कम गर्न नसकिएको उनी बताउँछिन् । एमबिए गरेकी उनले घरायसी हिंसाकै कारण राम्रो जागिरसमेत छाडेको बताएकी छन् । उनको उपचारमा संलग्न प्रा.डा. सरोज ओझाका अनुसार उपचार गरिरहे पनि पारिवारिक तनावबाट टाढा राख्न नसकिएकाले समस्या बारम्बार बल्झिने गरेको छ । 

शिक्षण अस्पतालमै कृति (नाम परिवर्तन) पनि तीन महिनायता पोस्ट ट्रम्याटिक डिसअर्डरको नियमित उपचारमा छिन् । चिकित्सकका अनुसार उनमा मानसिक समस्याको कारकमध्ये ‘सानो छँदा यौन दुव्र्यवहारमा पर्नु’समेत एक हो । समस्या बढ्दै गएपछि उपचारका क्रममा उनी स्वयंले यौन दुव्र्यवहारको सिकार भएको बताएकी थिइन् । उनका अनुसार नजिकको आफन्तबाट यौन दुव्र्यवहारमा परेको घटना बारम्बार सम्झिने, जसकारण विद्यालय र काम गर्ने स्थानमा पनि घुलमिल हुन नसक्ने समस्याका कारण उनमा एन्जाइटी बढ्दै गएको हो । २३ वर्षीया कृति हाल नियमित उपचारमा छिन् । 

 हिंसाबाट महिला तथा बालिका बढी प्रभावित : अध्ययन 
सिभियर एन्जाइटी, डिप्रेसन, पोस्ट ट्रम्याटिक डिसअर्डर र अन्य खालका कडा मानसिक रोगका मुख्य कारणमध्ये महिलामा यौन दुव्र्यवहार, बलात्कार, घरायसी हिंसा रहने गरेको वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. ओझा बताउँछन् । ‘सबैले डिप्रेसनको कारण खुलाउँदैनन्, तर बच्चामा भोगेका विभिन्न खाले हिंसाले ल्याउने मानसिक अस्थिरताले जीवनभर नै असर गरिरहेको देखिन्छ । हिंसाका घटनालाई नकारात्मक दृष्टिकोणले केलाइरहने व्यक्तिहरू मानसिक समस्याबाट पीडित भइरहेका छन् । जसमध्ये कतिपयले डिप्रेसन बढ्दै गएर आत्महत्या गरेकोसमेत देखिन्छ,’ उनले भने ।

कोभिड महामारीले निम्त्याएको बेरोजगारी, संक्रमणको त्रास, व्यवसायमा घाटालगायतका कारण पछिल्लो समय अस्पतालमा डिप्रेसनका बिरामीको चाप बढ्दो

हिंसाको घटनालाई विश्लेषण गर्दा महिला तथा बालिकामाथि हुने हिंसालाई सामान्य रूपमा लिने प्रचलन भएकाले त्यस्तो खालको हिंसाबाट विशेष गरी महिला तथा बालिका नै बढी प्रभावित भएको सिएमसीको अध्ययनले देखाएको छ । डा. ओझाका अनुसार समाजमा गहिरो रूपमा रहेको पितृसत्तात्मक सोच, व्यवहार, विभेदपूर्ण आर्थिक, सामाजिक संरचना र मान्यताले महिलामाथिको हिंसालाई लामो समयदेखि निरन्तरता दिइराखेको छ । जसकारण लैंगिक हिंसाले महिलाको स्वास्थ्यको सबै पक्षमा, जस्तै– शारीरिक, यौन तथा प्रजनन, मानसिक तथा व्यवहारजन्य स्वास्थ्यमा गम्भीर रूपमा असर पारिरहेको छ । लैंगिक हिंसाले स्वास्थ्यमाथिको असर तत्काल देखिने, गम्भीर प्रकृतिको दीर्घकालीन असर पर्ने बताउँछन् डा. ओझा । ‘हिंसाको घटना भएपछि लामो समयसम्म स्वास्थ्यमा नकारात्मक प्रभाव रहिरहन्छ । यसका साथै लैंगिक हिंसामा परेका व्यक्तिहरूमा मनोवैज्ञानिक डर, त्रास, आघात, बदलाको भावना, चिन्ताजन्य समस्या, दिक्दारीपन र आत्महत्याको सोच बढी आउने र जसले गर्दा आत्महत्याको दरसमेत बढेको छ,’ उनले भने ।

सिएमसी नेपालले सिन्धुली, ओखलढुंगा र उदयपुरमा सञ्चालन गरेको कार्यक्रमको अनुभवले लैंगिक हिंसा प्रभावितमध्ये लगभग एकतिहाइजति व्यक्तिमा कडा खालको दिक्दारीपन र आत्महत्याको सोचाइ बारम्बार आउने गरेको पाइएको छ । सिएमसी नेपाल र एपिरोन नेपालले सन् २०२० मा संयुक्त रूपमा उदयपुर, सिन्धुली र काठमाडौं उपत्यकाका सुरक्षित आवासगृह तथा प्रहरीको महिला सेलमा सेवा लिएका तीन सयजना लैंगिक हिंसा प्रभावितमा गरेको अध्ययनले पीडितमा डिप्रेसनको अवस्था ८८.३ प्रतिशत (सामान्य डिप्रेसन २७.७ प्रतिशत, मझौला खालको डिप्रेसन २५ प्रतिशत र ३५.७ प्रतिशतमा कडा खालको डिप्रेसन) पाइएको जनाएको थियो । जसमा सेवाग्राहीमध्ये १९ देखि ५० वर्ष उमेरका ७७.३ प्रतिशत थिए । यसका साथै एकभन्दा बढी प्रकारका हिंसा (शारीरिक, यौनिक, मनोवैज्ञानिक) अथवा बहुहिंसाका घटनाले गम्भीर खालका स्वास्थ्य परिणाम निम्त्याउने गरेको र जसकारण गम्भीर खालको मनोवैज्ञानिक असर पर्न गई कडा खालको मानसिक स्वास्थ्य समस्या हुने जोखिम बढेको सिएमसीको निष्कर्ष छ । लैंगिक हिंसाबाट प्रभावितहरूको सुरक्षा, सामाजिक जीवन तथा न्याय प्राप्तिका साथै समग्र विकासमा समेत गम्भीर प्रभाव परिरहेको मनोविद्हरू बताउँछन् ।

दबाइएको डर र त्रास दैनिक व्यवहारमा देखिन्छ, कतिपयमा समस्या बल्झिँदै जान्छ
 प्रा.डा. सरोज ओझा, वरिष्ठ मानसिक रोग विशेषज्ञ

मानसिक रोगलाई ‘असन्तुलन’भन्दा पनि ‘मन कमजोर’को रूपमा बुझ्न जरुरी छ । जसलाई डर वा त्रासको रूपमा लिन सकिन्छ । कुनै घटना वा परिस्थितिका कारण पैदा हुने डर वा त्रासले मनोविज्ञानमा असर गर्छ । यसको सीधा असर दैनिक क्रियाकलापमा पर्न जान्छ । सामान्यतया काममा ध्यान केन्द्रित गर्न नसक्दा निम्तिने अनावश्यक तनावले अनिद्रा, भोक नलाग्ने, निराशा निम्त्याउँछ । नकारात्मक सोचका कारण सामान्य घटनाले समेत दैनिकीमा प्रत्यक्ष असर गरिरहेको हुन्छ । 

समाजमा सहज रूपमा स्विकार्न नसकेका घटनाहरूले मानिसमा बढी नकारात्मकता ल्याइरहेको पाइन्छ । जस्तै, यौन दुव्र्यवहारमा परेका बालिका वा किशोरीमा डिप्रेसन वा परिवार र साथीभाइबीच घुलमिलमा असहजता निम्त्याइरहेको पाइन्छ । यौन दुव्र्यवहार र बलात्कारजस्ता केसहरू लुकाइने प्रवृत्तिका कारण उनीहरूले अरूमाझ खुलाउन सकिरहेका हुँदैनन् । 

दबाइएको डर र त्रास दैनिक व्यवहारमा देखिन्छ, कतिपयमा समस्या बल्झिँदै जाने एन्जाइटीले डिप्रेसन वा अन्य कडा खालको मानसिक समस्या देखिने गर्छ । लैंगिक हिंसापीडित तथा प्रभावितमाथि परेको आघात तथा तनावपूर्ण अवस्थामा सुधार ल्याउन, मानसिक तनाव व्यवस्थापन गरी दैनिकी सहज बनाई समग्र रूपले उनीहरूको मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्न स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शको उपचारात्मक सेवा र व्यक्तिको व्यवहार, सोच, सम्बन्धमा सुधार ल्याएर सबै नागरिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण बनाउन सकेमा लैंगिक हिंसा बिस्तारै कम भएर जान्छ ।