मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २९ आइतबार १४:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जन्ममिति बढाएर २७ वर्ष पहिलेदेखि वृद्धभत्ता, १४ जनालाई कारबाही गरिने

Read Time : < 1 मिनेट
२०७९ जेठ २९ आइतबार १४:०१:००

बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ। आफैँले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिने १४ जना भेटिएका छन्। उनीहरूलाई कारबाही र जरिवाना हुने भएको छ।

सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो। यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको हो।

जिल्लाको डिलाशैनी गाउँपालिकाका १३ र दोगडाकेदार गाउँपालिकाका एकजनाको नागरिकता केरमेट गरेको पाइएको हो। कुनैको प्रतितिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका वेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

‘कार्यालयमा आएको उजुरीका आधारमा पनि अनुन्धान थालिएको हो,’ उनले भने, ‘केरमेट गरेको पाइएपछि  किन सच्याइएका रहेछन् भनेर हेर्दा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो।’ जन्ममिति सच्याएर केहीले ०५२ देखि तथा केहीले ०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको सूचना भारतीले जानकारी दिए। उनले भने, ‘नागरिकतामा मिति सच्याएर कम्तीमा तीन वर्ष र बढीमा २७ वर्ष पहिलादेखि वृद्धभत्ता बुझेको पाइएको छ।’

यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुलउपर गरिने भारतीले बताए। यस्तै नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्तर्गत थप कारबाही हुने जनाइएको छ।

यसरी नागरिकता केरमेट गर्नेहरूको नामावली भने सार्वजनिक गरिएको छैन। उनीहरूलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। रासस