Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २७ शुक्रबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद चौधरीले संसदमा भनिन् : न्याय चाहियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २७ शुक्रबार १६:२०:००

लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ, पूर्वमन्त्री एवं सांसद चन्दा चौधरीले २७ वैशाखमा आफूमाथि महोत्तरीको मटिहानीमा दुर्व्यवहार र आक्रमण गर्ने व्यक्तिमाथि कारबाहीका लागि गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभामा शुक्रबार बोल्ने क्रममा सांसद चौधरीले उनी स्वयं र बृद्ध आमामाथि दुर्व्यवहार र आक्रमण हुँदा सुरक्षाकर्मीले बचाएको उल्लेख गरेकी छिन्।

उनले पहिले नै प्रहरीमा जाहेरी दिइसकेको उल्लेख गर्दै त्यसबारे कारबाही के भइरहेको छ भनी गृहमन्त्री खाणसँग प्रश्नसमेत गरेकी छिन्। सांसद चौधरीमाथि २७ वैशाखमा मटिहानीमा एकीकृत समाजवादीका कार्यकर्ताले आक्रमण गरेका थिए। ‘म ४० मिनेट जति घरमा थुनिएर बसेँ। सशस्त्र प्रहरीका एसपीले आएर रेस्क्यु गर्नुभयो। नभए ममाथि जे पनि हुन सक्थ्यो,’ चौधरीले संसदमा भनेकी छिन्, ‘मलाई न्याय चाहियो।’

उनले २०५४ सालमा आफ्ना दाइलाई पनि बेपत्ता बनाइएको भन्दै अहिलेसम्म लास वा सास दुवै नभेटिएको स्मरण गरिन्। उनले भनिन्, ‘ममाथि दुर्व्यवहार भएको विषयमा कारबाही के भएको छ गृहमन्त्रीज्यू ? जानकारी पाऊँ।’

लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाणलाई भेटेर दोषीमाथि कारबाहीका लागि आग्रह गरिसकेका छन्। ठाकुुरले अघिल्लो साता संसदमा पनि चौधरीमाथि ‘सांघातिक आक्रमण’ भएको, उनकी ८० वर्षीया आमामाथि गाली बेइज्जती भएको, निर्वाचनमा चौधरीसहित आफ्ना दलका नेता कार्यकर्तामाथि आतंक मच्चाइएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका थिए।

चौधरीले ज्यान लिने अभिप्रायले आफूमाथि अभद्र व्यवहार गरेको किटानीसहित दोषीमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएकी छिन्। चौधरीले आक्रमणमा संलग्न भएको भन्दै एकीकृत समाजवादीका स्थानीय कार्यकर्ता विजय चौधरी, जितेन्द्र चौधरी, निरज चौधरीलगायतमाथि कारबाही गर्न माग गरेकी छिन्।