मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २६ बिहीबार ०७:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सवा करोड घुसको मुद्दामा बिपी  स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपतिलाई विशेषबाट सफाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २६ बिहीबार ०७:२६:००

एक करोड २८ लाख बिगो रहेको घुससम्बन्धी मुद्दामा विशेष अदालतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति राजकुमार रौनियार र उनका भतिज डा. रामहरि रौनियारलाई सफाइ दिएको छ । भवन निर्माणमा ठेकेदारसँग घुस लिएको आरोपमा अख्तियारले रंगेहात पक्राउ गरी उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । 

प्रतिष्ठानको होस्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्यामसुन्दर निर्माण सेवाका सब–कन्ट्र्याक्टरबाट राजकुमारले कमिसनबापतको रकम मागेको आरोप अख्तियारले लगाएको थियो । सुरुमा आठ लाखसहित उनीहरूलाई आयोगले पक्राउ गरेको थियो भने छानबिनका क्रममा झासँग राजकुमारले एक करोड २८ लाख रुपैयाँ लिएको पुष्टि भएको थियो । उनलाई १३ वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर भएको थियो ।

अख्तियारले दायर गरेकोमध्ये बिगो र प्रतिवादीको ओहोदाका आधारमा घुससहित सबैभन्दा ठूलो मुद्दा यही थियो । विशेषमा राजकुमारसँग एक करोड २८ लाख रुपैयाँ बिगो मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३ (१) (झ) र दफा २४ बमोजिमको सजाय माग गर्दै मुद्दा दायर भएको थियो । उक्त ऐनको दफा ३ (१) (झ) अनुसार एक करोड रुपैयाँभन्दा बढी रिसवत लिएमा आठदेखि १० वर्षसम्म कैद हुन सक्छ ।

ऐनको दफा २४ ले भने थप सजायको व्यवस्था गरिएको छ । जसअनुसार ‘संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सोसरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख, महाप्रबन्धक वा सोसरहका पदाधिकारीले’ भ्रष्टाचार गरेमा थप तीन वर्ष कैद सजाय हुन्छ । गत वर्ष वैशाखमा सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावलीको नियम ३० खारेज गरेपछि अख्तियार आफैँले रकम उपलब्ध गराई गर्दै आएको स्टिङ अप्रेसनबाट संकलित प्रमाणलाई अदालतले ग्रहणयोग्य मान्न छाडेको थियो । यसपछि घुस–रिसवत मुद्दाका प्रतिवादीले धमाधम सफाइ पाइरहेका छन् ।

पूर्णपाठ नआए पनि रौनियारद्वयको मुद्दामा रंगेहातकै प्रमाण मात्र भएकाले विशेषले सफाइ दिने आधार बनाएको हुन सक्ने कानुन व्यवसायी बताउँछन् । अर्का आरोपी तथा राजकुमारका भतिज रामहरिका हकमा बरामद भएको आठ लाख रुपैयाँबराबरको बिगो र डेढदेखि दुई वर्षसम्म कैद सजाय माग गरिएको थियो । उनले पनि सफाइ पाएका छन् ।

उजुरीकर्ता झाले घुस दिएको भनी आयोगलाई जानकारी गराएको र स्विकारेकाले उनलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो । यसैगरी, पटक–पटक घुस रकम बुझी राजकुमारलाई दिएको कुरा स्विकारेका सवारीचालक दिवाकर कार्कीलाई पनि साक्षीका रूपमा प्रस्तुत गरिएको थियो । अख्तियारले उनलाई प्रतिवादी बनाएको थिएन ।