मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २५ बुधबार ०९:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

छांगरूमा सशस्त्र प्रहरीको भवन निर्माण अलपत्र, तिंकरमा सशस्त्र खटाउने तयारी

Read Time : > 1 मिनेट
२०७९ जेठ २५ बुधबार ०९:०७:००

९ असोज ०७७ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले व्याँस गाउँपालिका– १ छांगरूमा सशस्त्र प्रहरी भवनको शिलान्यास गरे । अत्याधुनिक सुविधासहित ४० कोठे पक्की भवन निर्माण कार्य डेढ वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको थियो । तर, भवन निर्माण कार्य दुई वर्षसम्म अलपत्र छ । व्याँसको छांगरूमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी आधुनिक सुविधासम्पन्न भवन बनाउने भनिएको थियो । चिसो ठाउँमा सशस्त्र प्रहरीलाई समस्या हुन्छ भन्दै  १० करोड लागतमा भवन निर्माण सुरु गरिएको छ ।

शिलान्यासको क्रममा निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी सुरेश चन्दले झन् एक वर्षभित्र भवन निर्माण सक्ने योजना सुनाए । तर, यहाँको भवन निर्माण अलपत्र हुँदा सशस्त्र प्रहरी दुई वर्षदेखि भाडाको घरमा खुम्चिएर बसेको छ । बाह्रै महिना सशस्त्र प्रहरीले भाडाको भवनमा बसेर सीतापुल र आसपासका क्षेत्रमा ड्युटी गर्छ ।
भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर तल छांगरूमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण सुरु गरिएको थियो ।

अहिलेसम्म भवनको पहिलो तला मात्रै बनेको छ । ‘अहिले आएर निर्माण व्यवसायीले केही मजदुर लगाएर भवनभित्रको केही काम मात्रै सुरु गराएको छ,’ सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले भने, ‘त्यसबाहेक भवनको बाँकी काम सुरु भएको छैन ।’ भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग अतिक्रमण गरी वर्षभरि बस्न मिल्ने सैन्य अखडा स्थापित गरेको छ । तर, नेपालको सुरक्षाकर्मीले भाडाका भवनमा बसेर सुरक्षा गर्नुपरेको छ ।

निर्माण व्यवसायीले काठ नपाउँदा भवनको काम अघि बढ्न नसकेको जनाएको छ । भवनमा झन्डै पाँच हजार क्युफिट काठ आवश्यक पर्ने बताइएको छ । सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीको भवनको लागि व्याँसको सामुदायिक तथा सरकारी वनबाट काठ उपलब्ध गराउने भनेको थियो । तर, स्थानीयले सामुदायिक वनको काठ उपलब्ध गराउन नसकिने जनाएपछि निर्माण व्यवसायी समस्यामा परेको हो । 

अहिले सरकारी वनबाट भवनका लागि चाहिने काठ खोजी भइरहेको निर्माण व्यवसायी प्रतिनिधि ललितसिंह बोहराले बताए । ‘काठ प्राप्तिमा ढिलाइ भएको कारण भवन निर्माणमा ढिलाइ भएको हाे,’ उनले भने, ‘केही दिनमा काठको टुंगो लाग्दै छ ।’ सरकारले ३१ वैशाख ०७७ मा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट राख्ने निर्णय गरेको थियो भने सरकारले नक्सा नै जारी गरेपछि २८ असारको मन्त्रिपरिषद् बैठकले व्याँसमा बाह्रैमास सशस्त्र प्रहरीको गुल्म राख्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीको भवन निर्माणका लागि स्थानीयले गागा क्षेत्रमा १५ रोपनी जग्गा सशस्त्रलाई दिएका छन् । सशस्त्र प्रहरी बाह्रैमास बसेपछि यो क्षेत्रमा चोरी–सिकारी नियन्त्रण र भारतीय अतिक्रमण गर्नबाट जोगाउन सकिन्छ ।

माथि व्याँस गाउँपालिका– १ तिंकरमा सशस्त्र प्रहरी राख्न गत वर्ष भवन बनेको छ । तर, अहिलेसम्म सशस्त्र प्रहरी खटिएको छैन । नेपाल प्रहरीसँगै तिंकरको छायालेकमा चीनसँगको सीमा क्षेत्रसम्मको सुरक्षाका लागि तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट राख्न भवन निर्माण गरिएको छ ।  गत आर्थिक वर्षमा सरकारले एक करोड लागतमा भवन निर्माण गरेको हो । बिओपी तिब्बत नाका भएर हुने चोरी, तस्करी, सिकार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि राख्ने तयारी गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति डिएसपी धीरेन्द्र शाह तिंकरमा सशस्त्र प्रहरी खटाउन लेखापढी गरिएको बताउँछन् । ‘हामीले प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने, ‘आदेश आएको छैन ।’ बिओपीमा बस्ने आवश्यक जनशक्ति, भौतिक पूर्वाधारको व्यवस्थापन गर्दै छौँ । अहिले छांगरू गुल्मअन्तर्गत व्याँस गाउँपालिका– २ दुम्लिङमा बिओपी सञ्चालनमा छ ।