मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २५ बुधबार ०७:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचन एकै चरणमा सम्भव हुने आयोगको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २५ बुधबार ०७:३४:००

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अगाडि बढाएको छ । आयोगका अनुसार १ असारबाट मतदाता नामावली संकलन गर्ने, अपायक स्थानका मतदानस्थलको विवरण माग गर्ने तथा निर्वाचनसम्बन्धी कार्यविधि र नियमावली परिवर्तनलगायतका काम अगाडि बढाइएको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सरकारले निर्वाचनको मिति तोक्ने भएकाले त्यसअघि आयोगले आफ्नो तयारी अगाडि बढाएको हो । उनले यसबारे आयोगसँग सरकार र दलहरूले अनौपचारिक रूपमा निर्वाचन मितिबारे परामर्शसमेत गरिरहेको बताए । आयोगले २२ मंसिरमा पदावधि सकिने निष्कर्षका आधारमा आयोगले तयारी थालेको उनले जानकारी दिए ।

‘औपचारिक रूपमा सरकारले आयोगलाई परामर्शका लागि बोलाएको छैन । अनौपचारिक रूपमा सरकारका तर्फबाट मन्त्रीहरू र राजनीतिक दलबाट कहिले उपयुक्त हुन्छ भनेर चासो राखिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘हामीले सबै रूपमा कात्तिकको अन्तिम साता या मंसिरको सुरुवातमा उपयुक्त हुने देखेका छौँ । यही परामर्श उहाँहरूलाई दिएका छौँ ।’

आयोगले फागुनमा राष्ट्रपति र उपराष्ट्रपतिको समेत निर्वाचन गर्नुपर्ने भएकाले २२ मंसिरभित्र निर्वाचन सक्नुपर्ने निष्कर्ष निकालेको छ । आयोगले प्रारम्भिक रूपमा एकै चरणमा निर्वाचन सम्भव हुने निष्कर्ष निकालेको थपलियाले जानकारी दिए । उनले स्थानीय तह निर्वाचनमा धेरै मतदानस्थल र मतगणनास्थलको सुरक्षा गर्नुपर्ने भएकाले सुरक्षा कमजोरी देखिए पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने मतदानस्थल र मतगणनास्थल कम हुने भएकाले सम्भव हुने देखिएको बताए ।

‘हामी एकै स्थानमा पनि सुरक्षा कमजोरी नहोस् भन्ने चाहन्छौँ । तर, अध्ययनले सरकारले सुुरक्षाको बन्दोबस्त मिलाएको अवस्थामा एकै चरणमा निर्वाचन सम्भव हुन्छ । कम खर्चमा निर्वाचन गर्न सकिन्छ,’ उनले भने ।