मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ३ आइतबार ०८:४१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

नवजात शिशु स्याहार्दा ध्यान दिनैपर्ने विषय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ३ आइतबार ०८:४१:००

नवजात शिशु हेरविचार गर्नु निकै कठिन काम हो । जन्मिनेबित्तिकै बाहिरी वातावरणमा घुलमिल हुन नवजात शिशुलाई गाह्रो भइरहेको हुन्छ । यस्तो अवस्थामा उनीहरूको विशेष स्याहार गर्न आवश्यक छ । अब लागौँ, स्याहार्ने तरिकातर्फ । 

- जन्मिनेबित्तिकै बच्चाले हातगोडा चलाउन, सास फेर्न र रुन सुरु गर्दछन् । त्यसैले, सबैभन्दा पहिला त उनीहरूको सरसफाइ गर्नुपर्छ । बच्चालाई तुरुन्तै आमाको दूध चुसाउनुपर्छ । दूध चुस्न थालेपछि आमाको पाठेघर खुम्चिन मद्दत गर्छ । जसले गर्दा, रगत बग्न कम हुनुका साथै सालनाल झर्नसमेत सहज हुन्छ । 

- बच्चाको नाल चल्न छोडेर सेतो भइसकेपछि सफा हतियारले काट्नुपर्छ । जसबाट धनुष्टंकार रोगबाट उनीहरूलाई बचाउन सकिन्छ । नाल सुकेर नझर्दासम्म सफा राख्नुपर्छ । 

- नवजात शिशुलाई सुरु–सुरुमा बाहिरी तापमानअनुसार आफ्नो शरीरलाई ढाल्न गाह्रो हुन्छ । त्यसैले, उनीहरूको शरीरलाई छोपेर राख्नुपर्ने हुन्छ । 

- बच्चाले दूध राम्ररी चुसेको वा नचुसेको भन्नेमा ध्यान दिनुपर्छ । सधैँ बसेर मात्र आमाले दूध चुसाउनुपर्छ । दूध खुवाइसकेपछि बच्चालाई जहिले पनि ठाडो बनाएर मालिस गरिदिनुपर्छ । जसले गर्दा बच्चाले बान्ता गर्दैन र दूध पचाउन सक्छ ।

- सकेसम्म बच्चालाई कोल्टे पारेर सुताउनुपर्छ । उत्तानो पार्दा बच्चाले बान्ता गरेमा सर्किने डर हुन्छ । 

- सबै लुगा खोलिदिएर हावा नपर्ने गरी बिहानको न्यानो घाममा बच्चालाई केही समय राख्नुपर्छ । यसले शरीरमा न्यानोपन हुनुका साथै आमाको शरीरबाट नराम्रो रगत वा किरणबाट हुन सक्ने असरबाट बचाउँछ ।  

- बच्चा जन्मेको २४ घन्टामा दिशा–पिसाब गरिसकेको हुनुपर्छ । यदि नगरेमा जन्मजात गुदद्वार बन्द भएको हुने खतरा हुन्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

- प्रायः भोक लाग्दा र पिसाब फेरेर चिसो महसुस भएमा बच्चा रुने गर्छ, यो सामान्य हो । तर, बच्चा निरन्तर रोइरहेमा चिकित्सकलाई कहाँ देखाउनुपर्ने हुन्छ ।  

- बच्चा जन्मिएको दुईदेखि चार दिनमा शरीरमा पहेँलोपना देखिन सक्छ, जुन आफैँ निको भएर जान्छ । यस्तो अवस्था आयो भनेर आमाले चिल्लो, बेसार आदि बार्न आवश्यक छैन ।

- बच्चा जन्मिँदै नीला दाग, आँखाको परेला वरिपरि रातो दाग, मुखभित्र र तालुमा सानो गिर्खाजस्ता बिमिरा आउन सक्छन् । यस्तो भएमा आत्तिन हुँदैन । किनकि, यी स्वतः हराएर जान्छन् । 

- लामो समयसम्म डाइपर लगाइदिइराख्नु हुँदैन । यसले छालामा समस्या आउने हुन सक्छ । समाधानका लागि छाला नरम बनाउने क्रिम लगाउनुका साथै केही समय खुला छाड्नसमेत उपयुक्त हुन्छ । 

- शिशुलाई तेलले मालिस गर्न एकदमै आवश्यक छ । जन्मेको १० दिनपछि बच्चाको शरीरमा तेल मालिस गर्न सकिन्छ, जसले मांशपेसी बलियो बनाउँछ । 

- बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । त्यसपछि ठोस आहार दिन सकिन्छ । तर, उनीहरूले पचाउन नसक्ने खानेकुरा भने खान दिनुहुँदैन ।