मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ २२ आइतबार ०९:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषिमा लगानी बढाउन निजी क्षेत्रलाई प्रदेश १ सरकारको आग्रह 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ २२ आइतबार ०९:१७:००

कृषिमा व्यावसायिक लगानी गरेर उत्पादन बढाउन प्रदेश १ सरकारले निजी क्षेत्रलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका लागि उद्योगी–व्यवसायीहरूसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘तपाईंहरू व्यावसायिक कृषिका लागि लगानी गर्नुहोस्, हामीले के–कसरी गर्नुपर्छ, हामी तयार छौँ ।’ उनले कृषिसँगै पर्यटन र ऊर्जा क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउन सहयोग गर्ने बताए । 

आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी वर्षको बजेटमा प्रदेश १ सरकारले कृषि क्षेत्रमा निजी क्षेत्रलाई प्राथमिकता दिने जानकारी गराए । प्रदेशको कृषि क्षेत्रलाई औद्योगिकीकरण नगरेसम्म उपलब्धि प्राप्त हुन नसक्ने भन्दै कृषि वस्तुको उत्पादनमा समेत अनुदान दिने गरी बजेट निर्माण गर्ने उनले बताए । उनले भने, ‘आगामी दिनमा विश्वमा डरलाग्दो खाद्य संकट आउँदै छ, यसैले हामीले आत्मनिर्भर हुने गरी उत्पादन बढाउनुको विकल्प छैन । यसैले सरकार कृषि क्षेत्रमा निजी क्षेत्रको अधिक लगानी भित्र्याउन तयार छ ।’ यसैगरी आगामी बजेटमा प्रदेश १ सरकारले प्रसिद्ध तीर्थस्थलहरूसम्म पुग्ने पूर्वाधारहरू निर्माण गर्न पर्याप्त बजेट विनियोजन गर्ने सोच बनाएको छ । 

कृषिमा लगानी बढाउन उद्योगी–व्यवसायीहरूको पनि सुझाव 
कार्यक्रममा उद्योगी–व्यवसायीहरूले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादन बढाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले भने, ‘आगामी वर्ष विश्वमा कृषि उत्पादन झन्–झन् घट्दै जाने पक्का छ, यसैले सरकारले कृषि उत्पादन बढाएर विविधीकरण गरी आफ्नो ब्रान्डिङ गर्न जरुरी छ ।’

प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउत, उद्योग वाणिज्य संघ प्रदेश १ अध्यक्ष टीकाराम ढकाललगायतले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादन बढाउन सके मात्र खाद्य सुरक्षा हुने बताए । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले पनि नीतिगत सुधार गरेर प्रदेशमा सीधै देशी–विदेशी लगानीकर्ता भित्र्याएर उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले पनि संघीय सरकारले जस्तै उद्योगी–व्यवसायीहरूको मनोबल बढाउनुपर्ने सुझाव दिए । 

सिँचाइका लागि कृषकहरूलाई बिजुलीमा अनुदान दिने, मल र बिउबिजन सहज रूपमा उपलब्ध गराउने, स्थानीय उद्योगहरूलाई अनुदान उपलब्ध गराउने, बाँझो र पर्ती जमिनमा उद्योग स्थापना गराउने, कृषक समूहलाई निजी क्षेत्रसँग जोड्नुपर्ने र बजारीकरणमा सहयोग गर्ने र घरेलु र जडीबुटी उद्योगहरूलाई प्राथमिकता दिने गरी आगामी बजेट निर्माण गर्न प्रदेश १ सरकारले सुझाव दिएको छ ।