मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चार्लोट प्राउडम्यान
२०७९ जेठ २२ आइतबार ०७:३९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महिलाको आवाज अँठ्याउने डेप–हर्ड फैसला 

डेप–हर्ड मुद्दामा आएको फैसला अमेरिकी कानुनी व्यवस्थामा विश्वास गर्ने महिलाको हार हो । यो सुनुवाइ एक विद्रूप सर्कस थियो र फैसलाले महिलाको आवाजलाई अँठ्याएको छ ।

Read Time : > 2 मिनेट
चार्लोट प्राउडम्यान
२०७९ जेठ २२ आइतबार ०७:३९:००

हामी पराजित भयौँ । हामी पहिले पनि पराजित नै थियौँ । अहिलेको पराजयले घाउमा नुनचुक दलेको छ । बुधबार अमेरिका, भर्जिनियाको एक अदालतको निर्णायक मण्डलले एम्बर हर्डलाई सन् २०१८ मा वासिंगटन पोस्टमा लेखेको लेखले आफ्ना पूर्वश्रीमान् जोनी डेप (हलिवुडका प्रख्यात अभिनेता) को मानहानि गरेको फैसला सुनाएको छ । फैसलाले हर्डको लेखमा प्रस्तुत गरिएका तर्कलाई पुष्टि गरेको छ । सुनुवाइलाई नजिकबाट नियालिरहेका र सम्भावित विजयले आफूलाई अभिव्यक्त गर्न प्रोत्साहन गर्नेछ भनेर आशा गरेका कैयौँ मानिसको मुटु छियाछिया भएको छ । 

सन् २०१८ को लेखमा रहेका तीन दाबीले डेपको मानहानि गरेको थियो वा थिएन भन्ने फैसला गर्न अदालतको निर्णायक मण्डललाई सोधिएको थियो । ‘दुई वर्षअघि म घरेलु दुव्र्यवहारको प्रतिनिधित्व गर्ने एक सार्वजनिक व्यक्ति बनेँ र मैले आफ्ना पीडा निर्भीक रूपमा व्यक्त गर्ने महिलाप्रतिको हाम्रो संस्कृतिको घृणालाई नजिकैबाट महसुस गरेँ’ भन्ने लेखको एक वाक्यलाई पनि अदालतले संज्ञान लिएको थियो । स्मरण रहोस्, हर्डको लेखमा कहीँ पनि डेपको नाम उल्लेख थिएन ।

तथापि, निर्णायक मण्डलले हर्डले डेपको मानहानि गरेको भन्दै एक करोड तीन लाख ३५ हजार डलर जरिवाना तिर्न आदेश दिएको छ । निर्णायक मण्डलले डेपका वकिलले हर्डको भोगाइ एक ‘अफवाह’ हो भन्ने भनाइले हर्डको मानहानि भएको फैसला पनि गर्‍यो । र, हर्डले २० लाख डलर मात्र जरिवाना पाइन् ।
भर्जिनियाको फैसला आउनुअघि इंग्ल्यान्ड र वेल्सको उच्च अदालतका एक न्यायाधीशले दुई वर्षअघि डेपले ‘सन न्युजपेपर’मा आफूलाई ‘श्रीमती कुट्ने व्यक्ति’ भनेर लेखिएको लेखविरुद्ध मानहानिको दाबी गर्दै दायर गरिएको मुद्दा खारेजीपछि आएको हो । इंग्ल्यान्ड र वेल्सको उच्च अदालतको फैसलामा डेपले हर्डमाथि गरेको भनिएका १४ हिंसाका घटनामा १२ घटना पुष्टि भएको जनाएको थियो । अहिलेको अमेरिकी फैसलाले हर्डले महिलाप्रतिको सांस्कृतिक घृणाभन्दा ठूलो घृणा व्यहोरेकी छिन् अर्थात् उनले वैश्विक अपमान झेलेकी छिन् ।

हर्ड–डेप मामिला एक भयावह प्रकरण बन्न पुग्यो, जहाँ एक महिलाले आफूमाथि यौन दुव्र्यवहार भएको भन्ने विषयलाई टिकटकमा ख्यालठट्टाका विषय बनाएर उडाइएको थियो । ट्विटरमा ‘एम्बर इज लायर’ (एम्बर ठग हो), ‘एम्बर अ साइकोप्याथ’ (एम्बर पागल हो), ‘टिमजोनी’लगायत ह्यासट्यागले मिडिया ट्रायल (सञ्चार माध्यममै मुद्दाको सुनुवाइ) नै गर्‍यो । अर्कातिर एम्बर समर्थकलाई हत्या र बलात्कारका धम्की आए । 

आफ्ना अधिकारका लागि मुखर भएर उभिएकी महिलालाई गलत साबित गर्न स्त्रीद्वेषी उपाय बारम्बार अवलम्बन गरेको देखेर हामी हैरान छौँ । हिंसाको घटना भइसक्दा पनि हर्डलाई आफ्ना श्रीमान्लाई नछोडेको वा श्रीमान्विरुद्ध प्रतिकार नगरेको वा पर्याप्त रूपमा चोटिल नभएको वा प्रमाण नभएको भन्दै दोषारोपण गरिएको थियो । जब हर्ड प्रमाणसहित आइन् उनलाई डेपको समूहले हर्डलाई कपटी, ठग भन्दै प्रस्तुत गर्‍यो र अदालतले पनि डेप समूहकै दाबीलाई पत्यायो । 
हर्डका मनोचिकित्सक डन हुजेसले हर्डको रोग पोस्ट–ट्रमेटिक स्ट्रेस डिसअर्डर घरेलु हिंसाका कारण भएको भनेर बयान दिएकी थिइन् । अर्कातर्फ डेपका पक्षबाट बयान दिएका मनोचिकित्सक स्यानन करीले हर्डलाई बर्डरलाइन पर्सनालिटी डिसअर्डर र हिस्ट्रायोनिक पर्सनालिटी डिसअर्डर भएको बताएका थिए । जब कि करीले हर्डको मानसिक अवस्थाको जाँच कहिल्यै गरेकी थिइनन् । 

एक वकिलका नाताले पीडितलाई रोगी देखाउनु पीडित विश्वासयोग्य नरहेको भन्ने प्रमाणित गर्ने हत्कण्डा हो भन्ने पाएकी छु । त्यो ‘पागल’, ‘सन्तुलन गुमेकी’ हो भन्ने अभिव्यक्ति स्त्रीद्वेषी अस्त्र बन्ने गरेका छन् । यस मुद्दालाई नजिकबाट नियालेका महिला आफूमाथि हिंसा भएको परिस्थितिमा हर्डजस्तै अपमानित एवं लाचार हुन सक्ने भनेर डराउनेछन् । यस मुद्दाले घरेलु हिंसाका पीडितले आफूलाई एक ‘परम्परागत पीडित’ देखाउनुपर्नेछ, जहाँ पीडित आवाजविहीन र लाचार हुन्छन् । ‘परम्परागत पीडित’ बिरलै हुन्छन् । अदालतमा मैले कैयौँ हिंसात्मक सम्बन्धबाट पीडितले विविध ढंगले व्यवहार गर्ने गरेको पाएकी छु । ‘परम्परागत पीडित’ हामीले सम्भवतः पुरुषले लेखेका चलचित्रमा मात्र भेट्छौँ । 

जसै भर्जिनिया फैसला आयो, अनलाइनमा कैयौँ हिंसापीडितले आफू उजाडिएको भन्दै निराशा व्यक्त गरेका छन् । मनोचिकित्सक रोलिङ स्टोनका अनुसार ‘सयौँ’ पीडितले आफ्ना भनाइ–भोगाइ र आफूले दायर गरेका मुद्दा फिर्ता लिएका छन् । यो फैसला अमेरिकी कानुनी व्यवस्थामा विश्वास गर्ने महिलाको हार हो । यो व्यवस्था नै स्त्रीद्वेषी रहेको प्रमाणित भएको छ । 

के तपाईंलाई, आफूमाथि दुव्र्यवहार गरेको पुरुष अगाडि बसिरहेको छ र तपाईंलाई अपमानपूर्ण मुस्कानले चियाइरहेको अवस्थामा पीडित महिलाले बयान दिनु ठीक हो भन्ने लाग्छ ? के तपाईंलाई सम्पूर्ण अदालती सुनुवाइ, जहाँ पीडितका नितान्त व्यक्तिगत पीडा र त्रासदीलाई विश्वभरि देखाइनु जायज लाग्छ ? के पीडकको नाम पनि उल्लेख नगरी आफ्नो पीडाको अनुभव लेखेकी हर्डलाई एक करोड डलरभन्दा बढीको जरिवाना तिराउनु न्यायसंगत हो ?

हर्डको सार्वजनिक सम्बन्ध निर्माण गर्ने र कानुनी सल्लाह दिने समूह नै थियो, तैपनि उनले जित्न सकिनन् । हामी करिब ६ साता लामो सुनुवाइमा एक पीडित महिलालाई खलनायकका रूपमा प्रस्तुत गरेको हृदयविदारक घटना र एक चर्चित पुरुषको देवत्वकरण भएको घटनाका साक्षी बन्यौँ । हामी कमजोरको प्रतिरक्षा गर्ने भनिएको न्याय व्यवस्थाको विफलताको पनि साक्षी बन्यौँ । डेप–हर्ड सुनुवाइ एक विद्रूप सर्कस थियो र फैसलाले महिलाको आवाजलाई अँठ्याएको छ ।  द वासिङटन पोस्टबाट