मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २१ शनिबार २०:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोबाइल अफ गरेर ‘लिडरसिप क्याम्प’मा पोखराका जनप्रतिनिधि र कर्मचारी 

Read Time : > 1 मिनेट
२०७९ जेठ २१ शनिबार २०:५९:००

पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहित निर्वाचित जनप्रतिनिधिका साथै कर्मचारीहरूको ‘लिडरसिप क्याम्प’ सुरु भएको छ । जनप्रतिनिधि र कर्मचारीले आगामी दिनमा गर्ने काममा उत्साह भर्न आयोजित क्याम्पको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमका बीच शनिबार उद्घाटन गरेका हुन् । 

लिडरसिप क्याम्पको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माण र जनताको सेवामा मिलेर काम गर्नुपर्ने बताए । उनले प्रदेशको राजधानी रहेको पोखराको विकासमा पोखरा महानगर र प्रदेश सरकारले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले आफू नेतृत्वको वर्तमान सरकार लामो समय नरहे पनि स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा निरन्तर काम गर्ने वातावारण निर्माण हुने धारणा राखे । 

उनले पोखरामा निर्वाचित हुनुअगाडि नै मेयर धनराज आचार्य संघीय राजधानी पुगेर पोखराको विकास निर्माणका लागि राखेको चासो अत्यन्त उत्साहपूर्ण रहेको बताए । ‘पोखरामा निर्वाचन भएर मतगणना हुँदै थियो । निर्वाचित हुने नहुने निश्चित थिएन । तर मेयरसावले यहाँको विकास र योजनाका निम्ति संघीय राजधानी पुगेर जसरी लबिङ गर्नुभयो । यसले उहाँको विकासप्रतिको चासो र भोक कस्तो छ भन्ने देखाउँछ । यस्तो विकासप्रेमी मेयर हामीले पाएका छौँ । उहाँको नेतृत्वमा पक्कै पनि पोखराले विकास निर्माणको फड्को मार्नेछ,’ उनले भने ।  उनले लिडरसिप क्यम्पले पोखरा कस्तो बन्ने भन्ने स्पष्ट मार्गचित्र दिने गरी सहभागीमा उत्साह भर्ने अपेक्षा राखे । 
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यशैली परिवर्तनका लागि ‘लिडरसिप क्याम्प’ आयोजना गरिएको जानकारी दिए। यो  क्याप्मले एउटै स्पिरिटका साथ मेयरदेखि वडाध्यक्ष, सदस्य र कर्मचारी सबैले काम गर्ने उनको भनाइ छ । ‘यो तीन दिन हाम्रा मोबाइल बज्ने छैनन् । हामी नयाँ ऊर्जा लिएर पोखरावासीका लागि केही गर्ने जोस र जाँगरका साथ यहाँबाट काममा फर्कनेछौँ,’ उनले भने ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्रका कास्की अध्यक्ष बखानसिंह गुरुङ र नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालले सम्बोधन गर्दै निर्वाचित जनप्रतिनिधिले घोषणापत्रमा जाहेर गरेको प्रतिबद्धताअनुरूप जनताले अनुभूति हुने गरी काम गर्नुपर्ने बताए ।
 कार्यक्रममा स्वागत गर्दै उपमेयर मञ्जुदेवी गुरुङ निर्वाचित भएपछि आफूहरू सबैको ध्यान नगरवासीको हितमा केन्द्रित हुने बताइन् । उनले महानगरपालिकाको विकास र सेवामा यो क्याम्पले नयाँपन दिने धारणा राखिन् । 
लिडरसिप क्याम्पमा महानगरका मेयर, उपमेयर, ३३ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, महानगरका महाशाखा र शाखा प्रमुखहरूसहित ६५ जनाको सहभागिता छ । 
सहभागीलाई मोटिभेसनल स्पिकर महेश दाहाल, रविन कटुवाल र रञ्जित आचार्यले मोटिभेसन गराइरहेका छन् ।
लिडरसिप क्याम्पको पहिलो दिन अत्यन्त उपयोगी रहेको पोखरा महानगर वडा नम्बर २८ का निवर्तमान वडाध्यक्षसमेत रहेका कार्यपालिका सदस्य निर्मल दियालीले बताए ।