मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)को फेसबुकबाट ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २१ शनिबार १३:००:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल आठ रनमै अलआउट : युएई सात बलमै विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २१ शनिबार १३:००:००

आइसिसी यू–१९ विश्वकप एसियन छनोट क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाली महिला टोली ८.१ ओभरमा समेटियो 

नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले मलेसियामा सञ्चालन भइरहेको आइसिसी यू–१९ विश्वकप एसियन छनोट क्रिकेट प्रतियोगितामा खराव प्रदर्शन गरेको छ । महिला खेलाडीले अहिलेसम्मकै खराब ब्याटिङ प्रदर्शन गर्दा नेपाल केवल आठ रनमै अलआउट भयो । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाली महिला टोली ८.१ ओभरमा समेटियो । प्रत्युत्तरमा युएईले निकै सहज लक्ष्य पछ्याउँदा १.१ ओभरमा विनाविकेट क्षति नौ रन जोड्दै सानदार जित निकाल्यो । 

युएईका ओपनर थिरेथा सतिष चार तथा लेभान्या केन्य तीन रनमा अविजित रहे । नेपाली महिला खेलाडीले दुई अतिरिक्त रन दिए । नेपालकी बलर अनु कडायतले एक ओभरमा आठ रन तथा श्रीती जैसीले एक रन दिएका थिए । यसअघि पहिलो ब्याटिङ गरेको नेपाली खेलाडीले युएईको घातक बलिङ सामना गर्न सकेन । युएईबाट तीन बलरले मात्र बलिङ गरेका थिए । 

जसमध्ये महिंका गौरले चार ओभरमा दुई रन मात्र खर्चेर सर्वाधिक पाँच विकेट हात पारिन् । उनले आफ्नो स्पेलमा दुई मेडन ओभरसमेत फ्याँकिन् । यसैगरी नन्दाकुमारले चार ओभरमा ६ रन खर्चेर तीन विकेट लिइन् । समैराले ०.१ ओभर बलिङ गर्दा एक विकेट लिइन् । युएईले ८.१ ओभर मात्र बलिङ गर्दा एक पनि अतिरिक्त रन दिएन । 

इनिङ्सको १.३ ओभरमा नेपालले पहिलो विकेट गुमाएको थियो । ८.१ ओभरमा युएईले नेपाललाई आठ रनमै अलआउट गर्‍यो । नेपालको खराब ब्याटिङमा ६ ब्याट्सम्यान डक आउट भएका थिए । स्नेहा महराले नेपालको ब्याटिङमा सर्वाधिक तीन रन बनाइन् । यसैगरी ओपनर किरनकुमारी कुँवरले एक, अस्मा पुलामीले एक तथा अनुले एक रन बनाए । नेपालको इनिङ्समा दोस्रो सर्वाधिक रन मनिषा रानाले जोडिन् । उनले ६ बल सामना गरी दुई रन बनाइन् । 

नेपालको ब्याटिङमा एक पनि बाउन्ड्री निस्किएन । अन्जिली विश्वकर्मा, साना प्रवीन, सृष्टि जैसी, कृतिका मार्सानी, रन्जु श्रेष्ठ र अलिसा कुमारी यादव शून्य रनमा आउट भएका थिए । नेपालको इनिङ्समा ओपनर किरनले आठ तथा स्नेहाले दश बलको सामना गरेका थिए । नेपालले २.१ ओभर, २.२ ओभर र २.४ ओभरमा तीन विकेट गुमाएको थियो ।

महिंका गौरले आफ्नो पहिलो ओभरमै उत्कृष्ट बलिङ गर्दै नेपालका महत्वपूर्ण तीन विकेट लिइन् । त्यसपछि ६.३ र ६.५ ओभरमा नेपालले दुई विकेट गुमायो । नेपालको ब्याटिङमा मनिष राना दुई रनमा नटआउट रहिन् । 

छनोटमा नेपालको यो पहिलो हार हो । नेपालले शुक्रबार कतारलाई ७९ रनले हराएको थियो । युएईको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले भुटानलाई १६० रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनेछ । अब नेपालले सोमबार भुटानविरुद्ध खेल्नेछ । नेपालले मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।