१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २० शुक्रबार ०६:५१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २० शुक्रबार ०६:५१:००

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरमा १० रुपैयाँ घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियमको मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ, डिजेल र मट्टीतेल एक सय ५३ पर्ने भएको छ । 

बुधबार मात्रै पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन अर्थ मन्त्रालयले उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो । पेट्रोलियम पदार्थमा सरकारले पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ लिँदै आएको छ । यही कर हटाउन अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएसँगै पेट्रोलियमको मूल्य घटेको निगमले जनाएको छ । 

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् नै रहेको छ । एलपी ग्यासको १८ सय प्रतिसिलिन्डर रहेको छ । त्यस्तै, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर एक सय ६६ रुपैयाँ रहेको छ । 

बुधबार मात्र भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपाललाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियमको मूल्य थप बढेको छ । नयाँ मूल्य सूचीअनुसार निगमको पेट्रोल खरिद लागत नै प्रतिलिटर २०१.४१ रुपैयाँ रहेको छ । त्यस्तै, डिजेलको १८१.३३ रुपैयाँ रहेको छ भने खाना पकाउने एलपी ग्यासको खरिद लागत २५५१.१५ रुपैयाँ छ ।

ग्यासमा ७५१.१४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । आइओसीले नयाँ मूल्य पठाएसँगै आगामी १५ दिनमा करिब तीन अर्ब सात करोड ५० लाख घाटा हुने निगमले जनाएको थियो । बिहीबार नेपाली बजारमा भाउ कम भएसँगै अब आगामी पन्ध्र दिनमा निगमको घाटा बढेर तीन अर्ब ८९ करोड ५२ लाख पुग्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले तीनवटा वस्तुमा लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

यो मूल्य बिहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आउनेछ । अर्थ मन्त्रालयले पूर्वाधार कर लिटरमै १० रुपैयाँ घटाउने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो ।

अर्थले मूल्य समायोजन गर्न भने पनि भन्सार बिन्दुमा कार्यान्वयन हुने पूर्वाधार कर भने लिइरहेको थियो । यो लिइरहेर मूल्य घटाउन नसकिने अडानमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू थिए ।

तर, मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र संसद्मा आफैँले बोलेको कुरा कार्यान्वयन नगर्दा नेगेटिभ म्यासेज जाने भन्दै मूल्य घटाउन निगम सञ्चालक समितिलाई निर्देशन दिएका हुन् ।

त्यही निर्देशनअनुसार बिहीबार सञ्चालक समिति बैठक बसेर यो निर्णय गरिएको हो । यो निर्णयपछि अब उपभोक्ताले पेट्रोल लिटरको एक सय ७० र डिजेल तथा मट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा पाउनेछन् ।