मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ जेठ २० शुक्रबार ०५:५७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार महिनामै पाँच हजार ड्रोन आयात,  भारतमा तस्करीको आशंका

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ जेठ २० शुक्रबार ०५:५७:००

विदेशी मुद्रा सञ्चितिमा चाप बढिरहेका वेला नेपालमा ठूलो संख्यामा ड्रोन आयात गरी भारतमा तस्करी गर्ने प्रवृत्ति बढेको छ । भारतमा ड्रोन आयातमा प्रतिबन्ध गरिएपछि नेपालबाट तस्करी हुन थालेको हो । 

भन्सार कार्यालयहरूबाट प्राप्त तथ्यांकअनुसार नेपालमा ड्रोनको आयात अत्यधिक र अस्वाभाविक देखिएको छ । पछिल्लो चार महिनामा मात्र करिब पाँच हजार ड्रोन आयात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट मात्र करिब तीन हजार ड्रोन आयात भएको छ । त्यस्तै, वीरगन्ज र विराटनगर भन्सारबाट एक–एक हजार ड्रोन आयात भएको छ । अन्य भन्सार कार्यालयबाट पनि ड्रोन आयात भएका छन् ।

विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले ड्रोनको आयात धेरै बढेको बताए । ‘हुन त ड्रोनको छुट्टै एचएस कोड छैन,’ उनले भने, ‘खेलौनादेखि क्यामेराका रूपमा आउने गर्छ, हामीले विवरण केलाएर हेर्दा करिब तीन हजारको संख्यामा ड्रोन आयात भएको देखिन्छ ।’ 

सुरक्षा निकायले गृह मन्त्रालयमा पेस गरेको प्रतिवेदनअनुसार ड्रोन तस्करीमा उच्चपदस्थ व्यक्तिका आफन्त नै संलग्न छन् । अत्यधिक नाफा भएकाले त्यसमा ठूलै गिरोह सक्रिय छ । भन्सार कार्यालयले भन्सार पासमा ढिलाइ गरेपछि राजस्व प्रशासनकै एक उच्च प्रशासकले दबाब दिएर छाड्न लगाएको स्रोत बताउँछ । 

भारत सरकारले गत माघदेखि ड्रोन आयातमा प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण तथा स्वदेशमै बनेका ड्रोनलाई प्रोत्साहन गर्न भन्दै भारतले अनुसन्धानका कामका लागि बाहेक ड्रोन आयात रोकेको छ । भारतमा अत्यधिक माग भएपछि नेपालमा आयात गरेर खुला सीमाबाट तस्करी गर्न थालिएको सुरक्षा स्रोतको भनाइ छ । यसले एकातर्फ तस्करीको अपराध बढेको छ भने अर्काेतर्फ विदेशी मुद्रा सञ्चितिमा समेत धक्का लागेको छ । 

विगतमा नेपालमा ड्रोनको छुट्टै एचएस कोड नहुँदा ठ्याक्कै कति आयात भयो भन्न नसकिने भन्सार अधिकारीहरू बताउँछन् । यस वर्षको बजेटमा पहिलोपटक खेलौना ड्रोन र क्यामेरा ड्रोनको एचएस कोड राखेर त्यसमा भन्सार शुल्कसमेत तोकिएको छ । यसअघि १३ प्रतिशत मूल्य अभिवृद्धि करबाहेक भन्सार शुल्कसमेत तिर्नुपर्दैन थियो । यसपटकको बजेटमा १० प्रतिशत भन्सार शुल्क तोकिएको छ । 

पछिल्लो आयातको क्रम हेर्दा १० प्रतिशत भन्सार पनि निकै कम भएको भन्सारका कर्मचारी बताउँछन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अत्यधिक मात्रामा ड्रोन आयात गरिएको पाइएकोमा भन्सारसँग बुझेर त्यसबारे अध्ययन गरिने बताए । नेपालमा धेरै ड्रोन आयात गर्ने कम्पनीमाथि छानबिन गरेमा यसको दुरुपयोग सहजै पत्ता लाग्ने भन्सार कर्मचारीहरूको भनाइ छ । 

ड्रोन आयात गर्न पूर्वस्वीकृत लिनुपर्ने प्रावधान छैन 
नेपालमा ड्रोन आयात गर्न पूर्वस्वीकृत लिनुपर्ने प्रावधान छैन । आएका ड्रोनहरू के काममा प्रयोग भइरहेका छन् भनेर नियमनसमेत हुने गरेको छैन । ड्रोन प्रयोगका लागि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने प्रावधान छ । तर, यो प्रावधान पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । सुरक्षाका दृष्टिकोणले ड्रोनको जथाभावी प्रयोग जोखिमपूर्ण भएको प्रहरी अधिकारीहरू बताउँछन् । ड्रोन आयात र बिक्रीको समेत तथ्यांक राख्नुपर्ने आवश्यकता भएको उनीहरूको भनाइ छ ।