मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शान्ति तामाङ काठमाडौं
२०७९ जेठ १८ बुधबार ०९:११:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कात्तिकसम्म मेलम्चीको पानी रोक्ने तयारी 

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७९ जेठ १८ बुधबार ०९:११:००

वर्षाबाट आयोजनामा क्षति नहोस् भन्दै कात्तिकसम्म मेलम्चीको पानी रोक्ने तयारी 

उपत्यकावासीले लामो प्रतीक्षापछि प्रयोग गर्न पाएको मेलम्ची खानेपानी फेरि रोकिने भएको छ । गत असार र साउनमा आएको बाढीका कारण १० महिनासम्म उपत्यकावासीले पानी उपभोग गर्न पाएका थिएनन् । मेलम्ची आयोजनाको पुनर्निर्माणपछि गत ११ वैशाखबाट उपत्यकावासीले पानी प्रयोग गर्न पाएका थिए । तर पानी प्रयोगको एक महिनापछि वर्षात् सुरु हुने संकेतका कारण मेलम्चीको पानी रोकिने भएको हो ।

‘जल तथा मौसम विज्ञान विभागले प्रि–मनसुन सुरु हुनलागेको भनेकाले वर्षाबाट मेलम्ची खानेपानी आयोजनामा क्षति नहोस् भनेर अम्बाथानमा रहेको खानेपानी आयोजनाको सुरुङको मूलढोका बन्द गर्न लागिएको हो,’ खानेपानी मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकालले भने, ‘एक–दुई दिनभित्रै सुरुङको मूलढोका बन्द गर्छाैँ । त्यसपछि उपत्यकामा मेलम्चीको खानेपानी आउन बन्द हुनेछ ।’ 

मेलम्चीको पानी रोकिएसँगै अब उपत्यकाका धारामा पुरानै तालिकाअनुसार पानी आउनेछ । मेलम्चीको पानी उपत्यकामा ल्याउन रोकिए पनि आयोजनाका काम भने नरोकिने सहसचिव ढकालले बताए । १५ चैत ०७७ बाट २४ वर्ष पुरानो योजना पूरा भएपछि काठमाडौंका धारामा मेलम्चीको पानी आएको थियो । आयोजना सफल भएसँगै मेलम्चीको १७ करोड लिटर पानी उपत्यका भित्रिएको थियो ।

कात्तिकपछि फेरि मेलम्चीको पानी आउने 
खानेपानी मन्त्रालयका अनुसार हाललाई मेलम्चीको पानी बन्द गरिए पनि असोज–कात्तिकपछि फेरि मेलम्चीको पानी उपत्यकावासीको धारामा आउनेछ । मेलम्चीको पानीले उपत्यकावासीलाई केही राहत थपेको थियो । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ  । मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर प्रणालीमा जोडिएको छ । 

०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर सिन्धुपाल्चोकबाट काठमाडौंसम्म पानी ल्याउन आयोजना अगाडि बढाइएको थियो । ०५७ मा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि प्रारम्भिक चरणको कार्य सम्पन्न भएको थियो । ०५८ मा एसियाली विकास बैंकले एक सय २० मिलियन अमेरिकी डलरबराबरको ऋण सम्झौता स्वीकृत भएपछि आयोजना सुरु भएको थियो । आयोजना सञ्चालन तथा सम्पन्न गर्ने उद्देश्यले ०५९ मा आयोजनाको विस्तृत अध्ययन तथा डिजाइन गरी प्रारम्भिक लागत अनुमान भएको थियो । हाल चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम गरिरहेको छ । इटालियन कम्पनी सिएमसीले ठेक्का तोडेर हिँडेपछि सिनो हाइड्रोले ठेक्का पाएको थियो । सिनो हाइड्रोले नै बाढीपछिको पुनर्निर्माणको कामसमेत सम्पन्न गरेर गत वैशाखमा उपत्यकामा मेलम्चीको पानी आएको थियो ।

२४ वर्ष पुरानो मेलम्ची खानेपानी विकास समिति खारेज
सरकारले २४ वर्ष पुरानो मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यअनुसार मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज भएको हो । यी समितिबाट सम्पादन हुँदै आएका काम खानेपानी तथा ढल व्यवस्थापन विभागमातहतबाट सञ्चालन गरिने भएको छ ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको विकल्प खोज्ने भएको छ । मेलम्ची खानेपानीको विकल्पस्वरूप सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी आपूर्ति गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट प्रारम्भिक अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । नगरकोट, दक्षिणकाली, रामकोट र गोदावरी क्षेत्र गरी उपत्यकाका चार दिशामा पानीपोखरीसहितको जलाधार क्षेत्र निर्माण गर्न अध्ययन गरी यस्ता जलाधारलाई खानेपानी आपूर्तिको वैकल्पिक स्रोतको रूपमा विकाससमेत गरिने भएको छ ।