१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुवास भट्ट नयाँ पत्रिका
२०७९ जेठ १८ बुधबार ०७:५८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कारागारमा ‘खेताला कैदी’को मृत्युबारे छानबिन समिति प्रतिवेदन : मूल कैदी फरार हुँदा घटनाको चुरो पत्ता लागेन

Read Time : > 4 मिनेट
२०७९ जेठ १८ बुधबार ०७:५८:००

रोल्पा कारागारमा ‘खेताला कैदी’को मृत्यु प्रकरणबारे छानबिन गर्न कारागार व्यवस्थापन विभागद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । समितिले १० दिन लगाएर तयार गरेको प्रतिवेदन सोमबार विभागलाई बुझाएको हो । 

मूल कैदी फरार रहेका कारण सत्यतथ्य बुझ्न कठिन भएको भन्दै समितिले यस प्रकरणमा जोडिएका घटनाक्रम समेटेर सामान्य सुझावसहितको प्रतिवेदन बुझाएको छ । विजयविक्रम शाहको नाममा जेल भुक्तान गरिरहेका सुन्दर हरिजन चमार ४ जेठ राति रोल्पा कारागारको शौचालयमा झुन्डिएको भेटिएपछि त्यस सम्बन्धमा छानबिन गर्न विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा ६ जेठमा पाँचसदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले बाँके जेल र स्थानान्तरण भएर गएको रोल्पा जेल, प्रहरी, प्रशासन तथा मृतक र मूल कैदी शाहको परिवारसँगको भेटेर तथा ‘फिल्ड अध्ययन’का आधारमा प्रतिवेदन तयार गरेको छ । 

कैदीबन्दी साटासाटका विषय जटिल र विशिष्ट खालको देखियो : फणीन्द्रमणि पोखरेल प्रवक्ता, गृह मन्त्रालय 
पहिले कारागारमा कोही कैदीबन्दीको मृत्यु भयो भने समिति गठन गरेर टुंग्याउने गरिन्थ्यो । तर, यो विषय अलि जटिल र विशिष्ट खालको देखियो । यसमा कैदीबन्दी साटासाटका विषय पनि आए । सुरुमा सामान्य रूपमा हेरेका थियौँ, तर धेरै विषय जोडिएको देखिएपछि छानबिनका लागि समिति गठन गरिएको हो । विभागको रिपोर्ट हेरेका छैनौँ । 

कैदीहरूबीच मिलेमतोको आशंका 
समितिले प्रतिवेदनमा घटनासँग जोडिएका पक्षहरूलाई समेटेको छ । समितिले घटनामा कैदीहरूबीच मिलेमतोको आशंका गरेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार शाह र हरिजनले घरपरिवारका सदस्य केही समयदेखि रोल्पामा रहेका कारण घरायसी तथा भेटघाटका लागि रोल्पा कारागारमा स्थानान्तरण गरी पाऊँ भन्ने निवेदन बाँके कारागार प्रशासनमा दिएका थिए । १२ असोज ०७७ मा उनीहरूले दिएको निवेदन उही दिन बाँके कारागारले कारागार व्यवस्थापन विभागलाई स्थानान्तरण स्वीकृतिका लागि सिफारिस गर्‍यो । विभागले २८ असोजमा स्थानान्तरणको स्वीकृति दिएको देखिन्छ । विभागको स्वीकृतिपछि ८ मंसिरमा उनीहरूलाई रोल्पा स्थानान्तरण गरिएको थियो । चोरीको मुद्दामा जेल गएका हरिजन पुस अन्तिमतिर छुट्दै थिए । जेल भुक्तान हुन लागेका हरिजन किन हातहतियार मुद्दामा जेल परेका शाहको सट्टामा ‘खेताला कैदी’ बन्न तयार भए भन्ने विषयलाई छानबिन समितिले प्रश्नको घेरामा राखेको छ । 

रोल्पा जेलमा सुन्दर हरिजन विजयविक्रम शाहको नाममा र विजयविक्रम शाह सुन्दर हरिजनको नाममा प्रवेश गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । यसबाट उनीहरूबीच मिलेमतो भएको आशंका छानबिन समितिले गरेको छ । कतिसम्म भने ४ जेठमा मृत्यु भएका आत्महत्या गरेका हरिजनबारे जेल प्रशासनमा रहेको विवरणमा उनको नाम विजयविक्रम शाह उल्लेख भएको देखिन्छ । यति मात्र होइन, उनी उपचार गर्न जाँदा अस्पतालको विरामी पुर्जी आदिमा पनि नाम विजयविक्रम शाह नै छ । 

रोल्पा पुगेको ५० दिनमै २८ पुसमा शाह जेलमुक्त भएर गएका थिए । हरिजनको जेल अवधि सकिएपछि परिचय फेरेर उनको नाममा बसेका शाह जेलमुक्त भए । शाहको सट्टामा उनकै परिचयमा हरिजन जेलमा रहे । 

हरिजन गत ४ जेठमा शौचालयमा झुन्डिएको अवस्थामा फेला परेपछि शाहको परिचयमा बसेकाले जेल प्रशासनले शाहकै आफन्तसँग सम्पर्क प्रयास गरेको थियो । तर, शाह कारागारमुक्त भइसकेको सूचना पाएपछि प्रहरीले अन्य उपाय अपनायो । यसक्रममा हरिजनको परिवारलाई मृतकको फोटो पठाएर सोधपुछ गर्दा मृतक शाह नभई सुन्दर भएको र उनले शाहको नाममा कैद भुक्तान गरिरहेको फेला पारेको थियो । मुचुल्का गर्दा शाह नै देखिएको र दाइ राजकुमार हरिजनले सनाखत गरेपछि मात्र मृतक सुन्दर रहेको पहिचान भएको थियो । 

एक वर्ष कैद तोकिएका सुन्दर कैद भुक्तान भइसक्दा नछुटेको सम्बन्धमा सोधखोज र चासो नराखेको, परिवारले पैसा पठाइरहेको, फोन सम्पर्क भइरहेको इत्यादिका आधारमा घटनामा मृतक सुन्दरसमेतको संलग्नताको आशंका छानबिन समितिले औँल्याएको छ । मृत्यु हुनु अघिल्लो दिनसमेत हरिजनले आफ्नो दाजु राजकुमार हरिजनले नेपालगन्जबाट आइएमई पेमार्फत पठाएको पैसाको भुक्तानी दाबी गर्दा भुक्तानी फाराममा विजयविक्रम शाह नै नाम उल्लेख गरेका थिए । 

छानबिन समितिमा रहेका अधिकारीहरूका अनुसार मूल कैदी शाह अहिले भारतमा छन् । समितिले पाएको सूचनाअनुसार उनी त्यहाँ लागुऔषध मुद्दामा पत्नीसहित प्रहरी हिरासतमा छन् । शाह नहुँदा अनुसन्धानमा जटिलता भएको समितिले उल्लेख गरेको छ । 

‘अर्काको नामबाट २८ पुसमा जेलमुक्त भएका व्यक्ति सुन्दर हरिजन नभई विजयविक्रम शाह रहेको खुलिसकेकाले कैदी परिचय फरक पार्नमा निजको मुख्य भूमिका देखिन्छ,’ छानबिन प्रतिवेदनमा भनिएको छ । शाहलाई पक्राउ गरी को, कसको र कस्तो संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान अगाडि बढाउन उचित देखिने समितिको निष्कर्ष छ । घटनामा संलग्न दुईमध्ये एकले आत्महत्या गरिसकेको र अर्का फरार रहेकाले घटनाबारे यकिन निष्कर्ष निकाल्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।  

प्रशासनको संलग्नता नरहेको दाबी 
छानबिन समितिले जेल प्रशासनको संलग्नता नरहेको ठहर गरेको छ । जेल भुक्तान गर्न दुई महिनाभन्दा कम समय बाँकी रहेका व्यक्तिलाई स्थानान्तरण गर्ने, जेलभित्र रहेका कैदीहरूबीच परिचय फेर्ने, एउटाको नाममा अर्को बस्ने, सजाय सकिएको व्यक्ति जेलभित्र रहेर अवधि बाँकी रहेको व्यक्ति छुट्ने यस्तो गम्भीर खालको ‘सेटिङ’ कसरी भयो र यसमा जेल प्रशासनको भूमिकाबारे प्रतिवेदन मौन छ । किनभने जेल प्रशासनको मिलेमतो र संलग्नताविना यो सम्भव नै थिएन । अर्कोतर्फ, उनीहरू जेल स्थानान्तरण भएलगत्तै १० दिनपछि बाँके जेलका चौकीदार जेलबाट भागेर अहिलेसम्म फरार छन् भने त्यसलगत्तै जेलरको पनि सरुवा भएको थियो । 

यस्ता छन् प्रतिवेदनका सुझाव 
छानबिन समितिले कारागार सुधारका विषयमा पनि सुझाव दिएको छ । आगामी दिनमा कैदीबन्दी सरुवा गर्दा निवेदकको निवेदन जेलरबाट सनाखत गर्ने व्यवस्था गर्ने, एक वर्षभन्दा कम अवधिको घर ठेगानाभन्दा अन्यत्र सरुवा नगर्ने, कारागारबाट बाहिर लैजाँदा प्रत्येक कैदीको दैनिक विवरण प्रमाणित गरी राख्नेलगायतका सुझाव समितिले दिएको छ । 

त्यस्तै, आत्महत्या गर्न सक्ने सम्भाव्य स्थान बन्द गरी सुरक्षित कारागार बनाउने, कैदीबन्दीहरूको आधिकारिकता खुल्ने फोटो तथा औँठाछापसहितको विवरण, अविलम्ब राष्ट्रिय परिचयपत्र विवरणमार्फत सबैको जैविक तथा आधिकारिकता खुल्ने विवरण यथाशक्य चाँडो प्रमाणीकरण गर्न पनि प्रतिवेदनले सुझाएको छ । 

गृहले बनायो फेरि अर्को छानबिन समिति 
हरिजन मृत्यु प्रकरणमा गृह मन्त्रालयले अर्को छानबिन समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले स्थलगत अध्ययन गरी जेलमा हरिजनको मृत्यु प्रकरणबारे छानबिन गर्न मंगलबार पाँचसदस्यीय छानबिन समिति गठन गरेका हुन् । ‘सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको सम्बन्धमा निजहरूको स्थानान्तरण तथा आत्महत्याको घटनाका सम्बन्धमा उक्त घटना के कसरी घट्न गएको हो, सो सम्बन्धमा के कसो भएको हो, स्थलगत रूपमा अध्ययन अनुसन्धान गरी काम सुरु भएको मितिले सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न’ छानबिन समिति गठन गरिएको गृहको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईं संयोजक रहेको समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । कारागार व्यवस्थापन विभागका उपसचिव झंकनाथ ढकाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हरिजनको आत्महत्यासँग धेरै पक्ष जोडिएको र विशिष्ट खालको विषय भएकाले समिति गठन गर्नुपरेको बताए । 

सांसदहरूले कारागारमा ‘खेताला कैदी’ मृत्यु प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले यस प्रकरणको संसदीय छानबिन गर्न माग गरेकी हुन् । कारागारमा हरिजनको मृत्यु प्रकरणसँग समग्र घटनाको छानबिन गर्नुपर्ने उनको भनाइ छ । विशंखेले यस घटनाबाट नेपालको सिंगो न्यायप्रणाली, सुरक्षा संयन्त्र र राज्यको पूरै शासन संरचनामाथि प्रश्नचिह्न खडा भएको बताइन् । 

हरिजन परिवारले बुझे शव 

रोल्पा कारागारमा मृत भेटिएका नेपालगन्ज उपमहानगरपालिका– २, दैलेखी बंगलाका २० वर्षीय सुन्दर हरिजनको शव परिवारजनले बुझेका छन् । घटनाबारे छानबिन गर्न गठित समितिले कारागार विभागलाई प्रतिवेदन बुझाएपछि परिवारजनले मंगलबार शव बुझेका हुन् । कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको नेतृत्वमा ६ जेठमा गठन भएको छानबिन समितिले १६ जेठमा विभागलाई प्रतिवेदन बुझाएको होे । 

मोबाइल चोरीको आरोपमा बाँके जिल्ला अदालतले सुन्दरलाई १० हजार रुपैयाँ धरौटी बुझाउन भनेको थियो । तर, हरिजनले धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भएका थिए । हातहतियार तथा खरखजाना मुद्दामा सजाय पाएका सुर्खेतका विजयविक्रम शाहलाई कारागारबाट भगाएर शाहको सजाय भुक्तान गर्न हरिजनलाई लगाएको खुलेको छ । 

शौचालयको चुकुल भित्रबाट लगाएको र हरिजन गलबन्दीको पासोमा झुन्डिएको अवस्थामा फेला परेकाले उनको मृत्यु आत्महत्याबाट भएको देखिएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।