मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ १७ मंगलबार ०७:११:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुरानोलाई छाडेर जुम्लामा अर्काे हाई-अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणको घोषणा

Read Time : > 1 मिनेट
२०७९ जेठ १७ मंगलबार ०७:११:००

बजेट अभावले जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमीचौरमा निर्माण हुने हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर अलपत्रमा छ । आर्थिक वर्ष ०७४/७५ मा ३२ करोड तीन लाख रुपैयाँमा यो ट्रेनिङ सेन्टरको डिपिआर भएको थियो । त्यसपछि बजेट विनियोजन नहुँदा छुमीचौरमा निर्माण हुने भनिएको ट्रेनिङ सेन्टर अलपत्र भएको हो ।

एउटा हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर अलपत्र परिरहेकै अवस्थामा सरकारले ०७९/८० को बजेटमार्फत जुम्लामै अर्काे हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर बनाउन बजेट विनियोजन गरेको छ । सरकारले जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्ला पाटनमा हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर बनाउने बजेटमा उल्लेख छ । 

संसद्मा आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको टोप्ला पाटनलगायत स्थानमा हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर बन्ने बताए । हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणपछि विश्वभरका खेलाडीले हाई–अल्टिच्युटमा प्रशिक्षण गर्न पाउने उनले जनाए । तर, छुमचौरको हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर भने ५५ लाख खर्च भइसक्दा पनि पूर्ण हुन सकेको छैन । यहाँ सुविधा सम्पन्न भवन, खेलमैदान र अन्य संरचना बनाउने भनिए पनि बजेट अभावकै कारण बन्न सकेको छैन ।

बहुवर्षीय योजनाका रूपमा रहेको हाई–अल्टिच्युट ट्रेनिङ सेन्टरलाई तीन तहको सरकारबाट समेत आवश्यक बजेट नजुट्दा निर्माण कार्य अघि बढाउन मुस्किल परेको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले ७५ लाख बजेट विनियोजन गरेको थियो । विनियोजिन रकममध्ये २१ लाख खर्च भएको छ । ५४ लाख बजेट फ्रिज भएको जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरमबहादुर महतले बताए ।

उनले भने, ‘गत आर्थिक वर्षमा कर्णालीको सामाजिक विकास मन्त्रालयबाट ७५ लाख बजेट विनियोजन भएको छ । बजेट आए पनि चालू आवको दोस्रो चौमासिक बित्न लागिसक्दासम्म कामको सुरसार छैन । यो बजेट पनि फ्रिज हुने हो कि भन्ने शंका लाग्न थालेको छ ।’

दुई हजार आठ सय ५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर (खेल मैदान) निर्माण गर्न डिपिआर गरिएको हो । ‘विश्वकै अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड बनाएको छुमचौरमा बन्ने खेलमैदानले पर्यटक पनि आकर्षण गर्ने र खेल क्षेत्रको विकासमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने आशा छ,’ महतले भने । 

के–के संरचना बन्दै छन्  ?
हाई–अल्टिच्युट ट्रेनिङ सेन्टरमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथ्लेटिक्सलगायत दुई दर्जनभन्दा बढी खेलका पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ । यसैगरी हिटिङ स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षा गार्ड घर, पाहुना घर, टिकट काउन्टरलगायत संरचना निर्माण हुने डिपिआरमा उल्लेख छ ।