१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७९ जेठ १६ सोमबार १०:५४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेलम्चीको विकल्प खोजिने, खानेपानी क्षेत्रका लागि ३७ अर्ब बजेट

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७९ जेठ १६ सोमबार १०:५४:००

सरकारले मेलम्ची खानेपानी आयोजनाको विकल्प खोज्ने भएको छ । आइतबार संसद्मा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानीको विकल्पस्वरूप सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी आपूर्ति गर्न अध्ययन कार्य अगाडि बढाइने बताए । नगरकोट, दक्षिणकाली, रामकोट र गोदावरी क्षेत्र गरी उपत्यकाका चार दिशामा पानीपोखरीसहितको जलाधार क्षेत्र निर्माण गर्न अध्ययन गरी यस्ता जलाधारलाई खानेपानी आपूर्तिको वैकल्पिक स्रोतको रूपमा विकास गरिने भएको छ । 

सरकारले खानेपानी क्षेत्रका लागि ३७ अर्ब ३५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भएका खानेपानी आयोजनाहरू प्राथमिकीकरण गरी सम्पन्न गर्न सात अर्ब ३१ करोड विनियोजन गरेको बताए । 

खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम र केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत सञ्चालित ३१ आयोजना सम्पन्न गर्न चार अर्ब ९६ करोड विनियोजन भएको छ । यसबाट थप चार लाख ९३ हजार जनसंख्यालाई खानेपानी सेवा उपलब्ध हुनेछ । जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन आयोजनाहरूको कार्यान्वयनका लागि तीन अर्ब २३ करोड विनियोजन भएको छ । उक्त आयोजनाबाट थप एक लाख ५० हजार जनसंख्यालाई खानेपानी सेवा उपलब्ध हुनेछ । यसैगरी, एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गरिने र कार्यक्रमलाई दलितहरूको उच्च घनत्व भएको बस्तीहरूमा प्राथमिकताका साथ सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

 उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग
उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । 

मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर प्रणालीमा जोडिएको छ । यसरी केयुकेएलको कुल आपूर्ति ३० करोड लिटर पानी पुगेको थियो । केयुकेएलले अहिले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमुले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको छ । त्यस्तै, ट्युबेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ । 

मेलम्चीको १७ करोड लिटर नै पानी थपिएपछि हाल एक लाख ७० हजार धारामा पानी वितरण भइरहेको छ । मेलम्चीको पानी वितरणसँगै चुहावट पनि बढेको छ । नेटवर्क पुरानो भएको, तर पानीको भोलुम बढेका कारण चुवाहट स्वाभाविक नै हुने केयुकेएलले जनाएको छ । ‘अधिकांश नेटवर्क पुरानै छ, तर पानीको भोलुम बढ्यो । त्यसैले चुवाहट बढेको छ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने, ‘यसलाई नियन्त्रण गर्नका लागि मन्त्रालयले एउटा कमिटी नै बनाएको छ । हामीले पनि चुहावट भएका ठाउँका स्थानीयलाई तुरुन्त जानकारी दिनका लागि भनेका छौँ ।’

मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनका आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथान्तरणको व्यवस्था मिलाइनेसमेत बजेटमा उल्लेख गरिएको छ । याङ्ग्री र लार्के खोलाबाट मेलम्ची खानेपानी वितरण प्रणालीमा पानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिने भएको छ । सरकारले दोस्रो चरणको काडमाडौं उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत चक्रपथबाहिरका थप क्षेत्रहरूमा मेलम्ची खानेपानी वितरणका लागि पाइपलाइन बिछ्याउने कार्य सुरु गर्न एक अर्ब ९२ करोड विनियोजन गरेको छ ।