१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत २ शनिबार ०९:५६:००
Read Time : > 1 मिनेट
प्रदेश

लमजुङको भुजुङ सरसफाई गाउँ घोषणा

Read Time : > 1 मिनेट
२०७५ चैत २ शनिबार ०९:५६:००

लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ भुजुङ (साविकको भुजुङ गाविस) पूर्ण सरसफाई गाउँ बनेको छ । सरसफाईका ६ वटा सूचक पूरा भएपछि भुजुङलाई धुमधामका साथ पूर्ण सरसफाई गाउँ घोषणा गरिएको छ । 

भुजुङलाई पूर्ण सरसफाई गाउँ घोषणा गरी नाचगान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले सफा गाउँ नै पर्यटनको आधार भएको बताए । सरसफाईलाई पर्यटनसंग जोड्नुपर्ने धारणा राख्दै उनले सफा गाउँ पर्यटकले रुचाउने भएकाले सरसफाईमा सबै एकजुट हुनुपर्ने बताए । 

पर्यटन समृद्धिको आधार भएको र पर्यटन प्रवर्द्धनमा सरसफाई अत्यावश्यक रहेको उनले बताए । क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले स्वास्थ्य, सरसफाई र वातावरणमा समृद्धि ल्याउनुपर्ने बताए ।

‘वातावरणीय सरसफाईमा गाउँपालिकाको चासो छ । हामीले योजना बनाएर अघि बढेका छौं’ उनले भने । एक्याप केन्द्रीय आयोजना प्रमुख राजकुमार गुरुङले पर्यटन प्रवद्र्धनका लागि सरसफाई अत्यावश्यक रहेको बताए । ‘हामीले एक्याप क्षेत्रभित्रका सवै ठाउँमा सरसफाई अभियान थालेका छौं । सरसफाईयुक्त गाउँ बनाएर पर्यटकीय गाउँ बनाउने नागरिकको अभियानमा हाम्रो सहयोग छ’ उनले भने । 

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले नागरिकको स्वास्थ्य ईज्जतसंग जोडिने भएकाले गाउँलाई सुन्दर बनाउन सरसफाई निरन्तरता दिनुपर्ने बताए । सुआहारा कार्यक्रमका वातावरण अधिकृत रोशन चौलागाईले सफा खाना र सफा वातावरणले मानिस निरोगी बन्ने बताए । 

वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं वडाअध्यक्ष खिमबहादुर गुरुङका अनुसार हिजोआज ब्यक्तिगत तथा वातावरणीय सरसफाईमा गाउँले अघि बढेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँमा स्थानीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले सफा र स्वच्छ घर अभियान संचालन गरेको हो । 

अभियान अन्तर्गत भुजुङमा रहेका करीब ४ सय घरधुरीमा सरसफाईको सूचक पूरा भएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताए । उनका अनुसार सरसफाईका सूचकअनुसार स्थनीयले शौचालयको प्रयोग, सावुनपानीले हात धुने बानी, सरसफाईयुक्त खाना, स्वच्छ पिउने पानी, घरआँगनको सरसफाई र वातावरणीय सरसफाईमा ध्यान दिएका छन् ।

क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले गाउँपालिकाको ९ वडामध्ये भुजुङसहित ३ वडा पूर्ण सरसफाई गाउँ घोषणा भइसकेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख बामदेव पौडेलले जिल्लालाई खुला दिसामुक्त बनाएसंगै सरसफाईको अभियानलाई तीब्र पारिएको बताए । 

सरसफाई सम्बन्धी १४ बुँदे घोषणापत्रलाई निरन्तरता दिएमा ब्यक्ति र समुदाय सधैं सफा रहिरहने उनले बताए । उनका अनुसार क्व्होलासोंथर गाउँपालिकाका ३ र मर्स्याङदी गाउँपालिकाका एउटा वडा पूर्ण सरसफाई वडा घोषणा भइसकेको छ । कूल ७५ वटामध्ये बाँकी वडामा अभियानका साथ सरसफाई का कार्यक्रम भइरहेको उनले बताए ।