मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७५ चैत २ शनिबार ०९:४७:००
Read Time : > 3 मिनेट
खेलकुद

विमानस्थल नओर्लिँदासम्म रोलीको चिन्ता

Read Time : > 3 मिनेट
२०७५ चैत २ शनिबार ०९:४७:००

विश्वकै ठूलो ज्यान भएका बडिबिल्डर रोली विंक्लर नेपालमा आउने घोषणा हुँदा धेरैलाई विश्वास थिएन । धेरैले रोली नेपाल आउने एउटा हल्लाका रूपमा मात्र लिएका थिए । तर, आयोजनाको जिम्मेवारी लिएका तीनपटक मिस्टर नेपाल र दुईपटक धर्म श्री विजेता सानु गुरुङले आफ्नो वचनलाई प्रमाणित गर्दै बडिबिल्डिङका बादशाहलाई नेपालमा भित्र्याए ।

धेरैले आयोजकलाई रोलीलाई भजाएर कार्यक्रम हाइट बढाउने प्रयोग गर्न खोजिएको आरोपसमेत लगाए । किनकि, केही समयअघि मात्र सलमान खान नेपाल आउने भनी टिकट काटिसकेका समर्थकलाई अन्तिम समयमा नआउने जानकारी गराइएको थियो । त्यसैले, धेरैले रोलीको आगमनलाई सलमानसँग तुलना गरेका थिए । सानु सम्झन्छन् ‘धेरैजना नाटक गर्न लागेको आरोप लगाउनसमेत पछि परेनन् ।’

नाटक होइन यथार्थ थियो
त्यस्तै, पृष्ठभूमिमा वर्तमान समयकै बडिबिल्डिङ क्षेत्रमा भीमकाय शरीर भएका रोली आउने घोषणा हुँदा विश्वासभन्दा अविश्वास धेरै थियो । तर, आयोजकले रोली ल्याउने वचनलाई यथार्थ बनाए । नेपालमा रहँदा रोलीको लोभिँदो शरीरको पोज हेर्न उनका समर्थक भने जति रकम तिर्न तयार थिए । तर, उनले सम्भवतः संसारका अन्य बडिबिल्डिरलाई समेत अचम्म पार्दै आफ्ना मनपर्दा पोज समर्थकसामु प्रस्तुत गरे साथै दर्शक र समर्थक माझ गएर उनले धेरै समय फोटोसेसनमा बिताएका थिए ।

सहज थिएन रोलीको नेपाल यात्रा
बल्डिबिल्डिङ क्षेत्रकै हाइप्रोफाइल व्यक्तित्वका रूपमा रहेका रोली नेपालमा ल्याउन सहज थिएन तर त्यसलाई सहज बनाए नेपालका अनुभवी तथा सफल बडिबिल्डर सानुले । सानुले आइएफबिबी प्रोफेसनल लिगको क्वालिफायर नेपालमा हुने घोषणा गरे । त्यसको लगत्तै उनले क्वालिफायरमा रोलीको पनि विशिष्ट पाहुनाका रूपमा पोज दिने जानकारी गराए । सानुले आफ्नो महत्चाकांक्षी योजना सार्वजनिक गर्दाको क्षण सम्झँदै भने, ‘सुरुमा कसैले पनि पत्याएका थिएनन्, आइएफबिबी प्रोफेसनल लिगको छनोट नेपालमा हुने र रोली पनि नेपालमा आउने कुरा,’ सानुले थपे, ‘यसै क्षेत्रमा लागेका व्यक्तिहरूले समेत रोली आउने केवल बकम्फुसे गफ र सलमान नेपालमा आउनेजस्तै कुरा भएको टिप्पणी गरे ।’ एकदम टाइट सेड्युलमा चल्ने रोली विकसित मुलुकमा आयोजना हुने कार्यक्रममा पनि खासै जाँदैनन् । यस्तो अवस्थामा उनलाई नेपाल ल्याउनु आफैँमा ठूलो चुनौती रहेको मान्छन् गुरुङ ।

मिस्टर ओलम्पियन लक्ष्य
केही सातापछि रोलीको आफ्नै कार्यक्रम थियो । त्यो कार्यक्रममा सहभागी हुन उनी डाइटिङमा बसेका थिए । बडिबिल्डिङ क्षेत्रमा लागेको व्यक्ति डाइटिङमा बस्दा प्रत्येक पलको ख्याल गर्छन् । भविष्यकै मिस्टर ओलम्पिया बन्ने लक्ष्य राखेका रोली नेपालमा आउँदा उनको नियमित सेड्युल बिग्रन सक्थ्यो । जसले गर्दा थप अप्ठ्यारो अवस्था आउने सम्भावना थियो । तर, सानुले प्रस्ताव गरे र रोलीले स्विकारे । सानुले भने, ‘सुरुमा रोलीले अर्को साता कार्यक्रम छ भन्नुभएको थियो र नआउनेजस्तो कुरा गर्नुभयो, ‘रोलीसँगको सुरुवाती कुरा सम्झँदै उनले भने, ‘हामीले उहाँलाई अन्य राष्ट्रमा नभएको मानसम्मान नेपालमा दिने र पुनः आउने किसिमको वातावरण तयार गर्ने विश्वास दिलाएपछि उहाँ पोजेटिभ हुनुभयो ।’

नेपाल आउने त्यो सन्देश
विभिन्न चरणको छलफलपछि रोली नेपाल आउने पक्का भयो । रोलीले स्वयम्ले आफ्नो इस्ट्राग्राममा समर्थकको नाममा यस्तो सन्देश दिए । ‘नमस्कार सम्पूर्ण समर्थकहरूलाई सूचना छ, म अब केही दिन नेपालमा रहनेछु, त्यहाँ आफ्नो पोज दिन्छु ।’ रोलीले यस्तो सन्देश सार्वजनिक गर्दा सानुलाई विश्वास लागेन । किनभने यति छिट्टै रोलीले आफ्नो अन्य कार्यक्रमका बाबजुत आफ्नो प्रस्ताव स्विकार्छन् भन्ने विश्वास थिएन् । तर, रोली आउने कुरापछि भने सानुलाई अन्य डर सुरु भयो । उनी भन्छन्, ‘रोली नआउँदासम्म मनमा अनेक थरी कुरा खेलेको थियो, यदि उहाँ नआउँदा मैले अहिलेसम्म कमाएको इज्जत धुलोमा पर्न सक्थ्यो,’ करिअर नै दाउमा राखेर रोली ल्याउने योजना बनाएको सानुले बताए ।

विमानस्थल ओर्लिएसँगै तोडिएको भ्रम
सानुलाई इमेलबाट रोलीले जानकारी गराएका थिए । तर, विमानस्थल नआएसम्म सानुको डर कम भएको थिएन । उनले भने, ‘जब रोली आगमन कक्षबाट नेपालको पाइला टेके त्यसवेला सबैको भ्रम पनि भंग भयो भने हामीले अर्को युद्ध जितेझैं अनुभव गर्‍र्यौँ ।’ विमानस्थलदेखि क्वालिफायर चरणसम्म रोलीले प्रत्येक क्षणका तस्बिर कैद गरी सामाजिक सञ्जालमा पोस्ट गर्दै गए । सन् २०१८ को ओलम्पियाको पहिलो छनोट खेल नेपालमा भइरहेको सन्देश पनि रोलीले दिँदै गए । ‘रोलीजस्तो बडिबिल्डरले यहाँ आएर नेपालको समेत प्रचार गर्नुभयो,’ रोलीलाई धन्यवाद दिँदै सानुले भने, ‘नेपालमा पनि रोली जतिका बडिबिल्डर आउँदो रहेछ भन्ने संसारले थाहा पायो ।’

फेरि आउने आश्वासन
नेपालका फ्यानहरूबाट पाएको मानसम्मान तथा मायाबाट रोली दंग भए । उनी अफ सिजनको समयमा नेपाल आउने वाचा गरेका छन् । ‘योपटक छोटो भयो, तर म अफ सिजनमा पक्कै लामो बसाइ बस्ने गरी नेपाल आउनेछु,’ रोलीले सानुलाई दोस्रोपटक नेपाल आउने आश्वस्त पारे  । उनले प्रोफेसनल बडिबिल्डङबारे थप योजना बनाउनेबारे पनि छलफल भएको जानकारी दिए । रोलीले नेपालमा बिताएको क्षण सम्झँदै भने, ‘नेपालमा यति धेरै मेरा फ्यान छन् भन्ने कल्पना पनि गरेको थिइनँ,’ रोलीले नेपालबारे गरेको तारिफ उनको मनमा अझै ताजै छ । गत महिना प्रज्ञा भवनमा भएको आइएफबिबी प्रोफेसनल क्वालिफायर सफल हुनुमा रोलीको योगदान अतुलनीय रहेको सानु मान्छन् ।

के थियो रोलीको सुझाब
जाँदा जाँदै रोलीले नेपालमा प्रोफेसनल बडिबिल्डिङ खेल गराउन त्यस किसिमको इन्फ्रास्ट्रक्चर विकास गर्नुपर्ने सुझाब दिएको गुरुङले बताए । उनले भने, ‘अहिले नेपालमा जति पनि बडिबिल्डिङ खेल हुन्छन्, ती सबै एमेच्योर हुन्,’ सानु भन्छन्, ‘यहाँ प्रोफेसनल गेम गराउनुछ भने कम्तीमा पनि ७० केजी तौलमाथि गराउनुपर्छ, त्यसका लागि विश्वस्तरीय स्ट्रक्चर आवश्यक हुन्छ जुन नेपालमा छैन ।’ त्यसो त आइएफबिबी लिग नेपालमा भित्र्याउन सानुले चार वर्ष मिहिनेत गरेका थिए । बेलायतमा हुने विश्वस्तरीय बडिबिल्डिङ प्रतियोगितामा जाने क्रममा सानुले त्यहाँ आइएफबिबीका व्यक्तिसँग सम्बन्ध अघि बढाएका थिए । र, उनले बिस्तारै यो प्रकारका प्रतियोगिता नेपालमा पनि गर्न सकिन्छ भन्ने सन्देश संप्रेषण गरेका थिए ।’

सानुलाई विश्वास गर्दै आइएफबिबीका पदाधिकारीले एकपटक नेपाललाई मौका दिनुपर्छ भन्दै प्रतियोगिता आयोजना गर्न अधिकार दिए । ‘मैले युकेमा आइएफबिबीका पदाकारीको मन जित्दा नै यो प्रतियोगिता नेपालले आयोजना गर्न पाएको हो,’ उनले भने । यसपटक २२ जना खेलाडीले मात्र भाग लिए । तर, अर्कोपटक कम्तीमा पनि १ सय ५० जना खेलाडी सहभागी गराउने योजना गुरुङको छ । 

गुरुङले भने, ‘योपटक नेपालबाट त्यति धेरै खेलाडीले प्रतिस्पर्धा गरेनन्, तर मलाई आशा छ अर्कोपटक प्रोकार्ड बुझेकाले पक्कै पनि सहभागिता जनाउनेछन्,’ आशावादी हुँदै सानुले भने, ‘त्यो समयमा अझ ठूलो कार्यक्रम आयोजना गर्न सकिनेछ ।’