मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
एजेन्सी
२०७५ चैत २ शनिबार ०९:३०:००
Read Time : < 1 मिनेट
अर्थ

विश्वका ५८ प्रतिशत रियल इस्टेट अर्बपति चिनियाँ

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत २ शनिबार ०९:३०:००

विश्वभरका रियल इस्टेट अर्बपतिको संख्यामा आधाभन्दा बढी चिनियाँ छन् । हुरुनले सार्वजनिक गरेको ग्लोबल रियल इस्टेट रिच लिस्टअनुसार विश्वभरका रियल इस्टेट अर्बपतिमा ५८ प्रतिशत चिनियाँ रहेका छन् ।

हुरुनको तथ्यांकअनुसार विश्वभर रियल इस्टेट अर्बपतिको संख्या २ सय ६२ जना रहेको छ । त्यसमा १ सय ३९ जना अर्बपति चिनियाँ छन् । रियल इस्टेट अर्बपतिको संख्यामा चीनले अमेरिकालाई पनि निकै पछाडि पारेको छ । सूचीको दोस्रो स्थानमा रहेको अमेरिकामा २६ जना मात्र रियल इस्टेट अर्बपति रहेका छन् । त्यस्तै बेलायतमा यो संख्या १७ रहेको छ । 

‘चीनको सहरीकरण मेगा ट्रेन्डले विश्व इतिहासकै सबैभन्दा ठूलो धनको विस्फोट गराएको छ,’ हुरुन रिसर्च इन्स्टिच्युटका अध्यक्ष एवं प्रमुख अनुसन्धानकर्ता रूपर्ट हुगवर्फले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘परिणाम आज विश्वका अधिकांश ठूला रियल इस्टेट डेभलपर्स चीनबाट आएका छन् ।’

सूचीको शीर्ष चार स्थान चिनियाँ डेभलपरले ओगटेका छन् । सेन्जेनस्थित एभरग्य्रान्ड ग्रुपका सु जियायिन ३७ अर्ब डलर नेटवर्थसहित सूचीको शीर्ष स्थानमा छन् । त्यस्तै हङकङ कंग्लोमेरेट च्युङ कङ होल्ड्सिका लिका सिंग २९ अर्ब डलर नेटवर्थसहित सूचीको दोस्रो स्थानमा परेका छन् । सूचीको तेस्रो र चौथो स्थानमा क्रमशः २७ अर्ब डलर र २३ अर्ब डलर नेटवर्थसहित हङकङस्थित हेन्डर्सन डेभलपमेन्टका ली साउ की र फोसानस्थित कन्ट्री गार्डेनका याङ हुइयान परेका छन् । याङ हुइयान रियल इस्टेट अर्बपतिको शीर्ष १० मा पर्न सफल एक मात्र महिला हुन् । 
एजेन्सीकाे सहयाेगमा