मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जितबहादुर केसी
२०७५ चैत २ शनिबार ०८:१४:००
Read Time : > 2 मिनेट
खेलकुद

खालीखुट्टै मनिलामा दौडिँदा

Read Time : > 2 मिनेट
जितबहादुर केसी
२०७५ चैत २ शनिबार ०८:१४:००

सन् १९७३ मा फिलिपिन्सको मनिलामा प्रथम एसियन ट्र्याक एन्ड फिल्ड प्रतियोगिता आयोजना भयो । एसियास्तरको सो प्रतियोगितामा नेपालका तर्फबाट जितबहादुर केसी, वैकुण्ठ मानन्धर, केशरबहादुर बानियाँ र भक्तबहादुर सापकोटाले भाग लिएका थिए । जसमध्ये म्याराथनतर्फ २६ वर्षीय जितबहादुरले कांस्य पदक जिते । जुन नेपाली खेलाडीले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक थियो । जितबहादुरले ती दिनलाई यसरी सम्झिएका छन् :

खालीखुट्टा दौडिएँ
०३० साल मंसिर ३ देखि ८ गतेसम्म चलेको थियो । प्रशिक्षक मधुशमशेर राणासहित चार खेलाडी खेल सुरु हुनुभन्दा चार दिनअघि बैंकक, हङकङ हुँदै हामी मनिला पुग्यौँ । मैले र वैकुण्ठले ४२ किमि म्याराथनमा भाग लिएका थियौँ । दक्षिण कोरिया, जापान, भारत, पाकिस्तान, मलेसिया, इन्डोनेसिया गरी करिब १४ देशका २४–२६ खेलाडी मेरा प्रतिस्पर्धी थिए ।

म्याराथन दौड सडकमा दौडने भएकाले जुत्ता लगाउन आवश्यक थियो । प्रायः सबै देशका खेलाडीका खुट्टामा जुत्ता थिए । तर, हामीसँग थिएन । नेपालमा स्पोर्टस् सुज पाइँदैनथ्यो । बाहिरबाट ल्याउँदा कम्तीमा पनि त्यतिवेलाको १२ हजारजति पथ्र्यो । सरकारले किनेर दिएन । त्यत्रो मूल्य हालेर जुत्ता किन्ने हैसियत मेरो थिएन । त्यसैले, नलगाई दौडिएँ ।

कोरियाली दुई खेलाडी चो जे–ह्युङ र पार्क चाङ युलसँग मेरो प्रतिस्पर्धा भयो । जसमध्ये चो अली अघि नै थिए त्यसैले तीव्र प्रतिस्पर्धा पार्कसँग भयो । कहिले म एक सेकेन्डले अघि हुन्थेँ, कहिले उनी ।

पहिले पानी परे पनि पछि टन्टलापुर घाम लागेको थियो । अलकत्रे सडकमा खाली खुट्टा कुद्नु छ । मेरा खुट्टा चहराइरहेका थिए । यसैबीच, मेरो नजर आफ्नै खुट्टामा पर्‍यो । मेरो औँला फुटेर रगताम्मे भएको रहेछ । म अलि हतोत्साही भएको थाहा पाए छन् प्रशिक्षक मधुशमशेरले । अनि, हौसल्ला दिँदै भने, ‘भुइँमा नहेरी अगाडि मात्र हेरेर दौड, तल हेर्न थाल्दा पछाडिकाले भेट्ला ।’ म भने थोरै खुर्र दौडिन्छु, अनि एकछिन उभिन्छु । एक्कासि मेरो नजर भारतीय खेलाडीमा पर्‍यो । पहिले त उसले जुत्ता लगाएको देखेको थिएँ । सायद, ती दौडनका लागि कम्फर्टेबल भएनन् । उसले बीचैमा फालेछ । त्यो भारतीयले हिन्दीमा भन्यो, ‘मेरा भि सुज नही हे ।’ इन्डोनेसिया र मलेसियाकाले पनि हिन्दी बुझ्दा रहेछन् । उनीहरू हाँसे । तीमध्ये एउटाले भन्यो, ‘रोड अच्छा नही हे ।’

ट्रयाकमा पसेपछि खुट्टा असाध्यै पोल्यो । अन्तिममा मैले सकिनँ र तेस्रोमा चित्त बुझाउनुपर्‍यो । दौड सकिएपछि पनि मेरा खुट्टाबाट रगत बग्न रोकिएन ।

जेनतेन रोड पार गरेर रंगशालाको गेटभित्र छिरियो । भित्र पनि एक राउन्ड लगाउन बाँकी थियो । ट्रयाकमा पसेपछि त झन् असाध्यै पोल्यो । प्रतिस्पर्धी कोरियन खेलाडी पार्कले फिनिसिङ दियो । अन्तिममा मैले सकिनँ र तेस्रोमा चित्त बुझाउनुपर्‍यो ।

दौड सकिएपछि पनि मेरा खुट्टाबाट रगत बग्न रोकिएन । त्यसैले, मलाई हत्तपत्त मेडिकल लगे । औँलामा ब्यान्डेज लगाइदिए । पछि, प्रशिक्षक मधुशमशेर आए । अनि भने, ‘दौड पूरा गरेर ऐतिहासिक पदक ल्याएकोमा स्याबास ।’ उनले थपे, ‘तिमी बीचमै ढल्छौ कि भन्ने डर लागेको थियो ।’ केही समयपछि साथीहरू पनि आए ।

त्यो वेला अहिले जस्तो छ्यापछ्याप्ती मिडिया थिएनन् । मोबाइलको कल्पनै नगरौँ, क्यामेरा पनि थिएन । त्यसैले, त्यस्तो ऐतिहासिक दिनको फोटो छैन । उता (फिलिपिन्स)मा विदेशीले हाम्रो फोटो खिचेको देखेको थिएँ । तर, त्यो केको माध्यमले यहाँ आउँथ्यो र ! अहिलेजस्तो इमेल थिएन ।

वीरेन्द्रको आदेश पालना भएन
मैले पदक दिलाएकोबारे गोर्खापत्रले समाचार छाप्यो । रेडियो नेपालले समाचार फुक्यो । त्यसले गर्दा, मेरो नाम देशभर फैलिइसकेको रहेछ । जब म त्रिभुवन विमानस्थलमा झरेँ । थुप्रैजना भेला भएका थिए । साथीहरूले बोके । परिवारले उल्लास मनाए । मलाई खुला भ्यानमा राखेर सहर घुमाइयो । सिन्दुर जात्रा गरे । अन्त्यमा त्रिपुरेश्वरस्थित राखेपको कार्यालय ल्याइयो । एथलेटिक्ससँगै फुटबल, बक्सिङ आदि सबै खेलका खेलाडी सहभागी भए । 

राखेप सदस्यसचिव खड्गविक्रम शाहदेखि मेरा प्रशिक्षक लक्ष्मणविक्रम शाहसम्म आएका थिए । सोहीबीच राजा वीरेन्द्र पनि आए । प्रधानमन्त्री कीर्तिनिधि विष्ट पनि सहभागी थिए । 

मसँग हात मिलाएर भने, ‘राम्रो गर्‍यौ, स्यावास् !’ प्रधानमन्त्रीतिरै हेर्दै थपे, ‘यिनको राम्रो व्यस्था गरिदिनू, काठमाडौंमा घर र मधेसमा जग्गा दिनू ।’ तर, पछि ममाथि षड्यन्त्र भयो । मलाई दिने भनिएका पैसा पनि अरूले खाए । पछि, जम्मा पाँच सय मात्र हात लाग्यो ।
(दीपेन्द्र सापकोटासँगको कुराकानीमा आधारित)