१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डम्बर चेम्जोङ
२०७५ चैत २ शनिबार ०८:०७:००
Read Time : > 7 मिनेट
साहित्य

संस्कृति हेर्दै मानवशास्त्री आँखा

Read Time : > 7 मिनेट
डम्बर चेम्जोङ
२०७५ चैत २ शनिबार ०८:०७:००

संस्कृतिको परिभाषा
मानवशास्त्रीय परिभाषामा संस्कृति भनेको मानव जीवनपद्धतिको सम्पूर्णता बुझिन्छ । संस्कृति निर्माणको क्षमता भएकै कारण मानव समुदाय अन्य प्राणीभन्दा विशिष्ट रूपको मानिन्छ । संस्कृति भन्नाले मानव जीवनसँग सम्बन्धित मानवले निर्माण गरेका सारा भौतिक वस्तु र त्यसभित्र निहित अभौतिकखाले सबै अर्थपूर्णता वा सारभूत अर्थबोधसमेत बुझिन्छ । त्यसैले कुनै जाति–समुदायको संस्कृति भनेको उनीहरूका गीत, संगीत, कलाकारिता, लवाइखुवाइ, चाडपर्व, धर्मकर्म, पूजाआजा, अनुष्ठान मात्र होइनन्, ती सम्पूर्णमा अन्तरनिहित  प्रतीकात्मक अर्थपूर्णताले मात्र संस्कृतिको परिभाषा दिन्छ । 

मानवशास्त्रमा संस्कृतिको परिभाषा गर्ने प्रथम मानवशास्त्री इ. बी. टाइलर हुन् । सन् १८७१ मा प्रकाशित उनको पुस्तक ‘प्रिमिटिभ कल्चर’मा उनले लेखेका छन््, ‘बृहत्तम मानवशास्त्रीय अर्थमा संस्कृति वा सभ्यता भन्नाले मानव जीवनको ती सम्पूर्ण पक्षहरू जस्तैः ज्ञान, आस्था, कला, नीति, कानुन, रीतिथिति र अन्य कुनै पनि मानवीय क्षमता तथा आनिबानी जो मान्छेले आफ्नो समाजको सदस्य हुनुको हैसियतमा प्राप्त गर्छ ।’

मानवशास्त्रमा उक्त परिभाषा नै संस्कृतिको प्रथम र त्यो बेलाको राम्रो परिभाषा मानिन्छ । तर, टाइलरपछि संस्कृतिको परिभाषामा प्रशस्त परिमार्जन भएका छन् । मानवशास्त्रमा क्रमशः प्रचलित र स्थापित हुँदै आउने नयाँ–नयाँ मानवशास्त्रीय सिद्धान्तले पनि संस्कृतिको परिभाषामा क्रमशः परिमार्जन गर्दै ल्याएका छन् । लेस्ली ह्वाइटले संस्कृतिलाई मूलतः प्रतीकात्मकता र बिम्ब (सिम्बोल)को सन्दर्भमा परिभाषा गर्छन् । उनी मान्छे किन सांस्कृतिक हो भन्ने सवालमा भन्छन्, ‘मान्छे मात्र यस्तो प्राणी हो, जसले चोखो (होली) पानी र शुद्ध (डिस्टिल्ड) पानी छुट्याउन सक्छ ।’ यसैगरी क्लिफोर्ड गिर्ज भन्छन्, ‘मान्छे भनेको ऊ आफैँले निर्माण गरेको अर्थमहत्ताहरूको सञ्जाल (वेब अफ सिग्निफिकन्सेस)मा अल्झेको प्राणी हो र ती अर्थमहत्ताहरूको सञ्जाल नै संस्कृति हो ।’ गीर्जका अनुसार, संस्कृति मान्छेहरूको मन–मस्तिष्कमा होइन, उनीहरूको क्रियाकलाप र परस्पर व्यवहारहरूमा हेर्नु–बुझ्नुपर्छ ।

संस्कृतिको वस्तुरूप र सारतत्व 
संस्कृतिलाई रूप पक्ष र सार पक्ष, दुई पाटोबाट बुझ्नुपर्छ । संस्कृतिको वस्तु पक्ष– जो ज्ञानेन्द्रियहरूले महसुस गर्न सकिन्छ–लाई रूप भनेर बुझे सजिलो हुन्छ । कुनै समुदायविशेषको संस्कृति भनेर जुन नाचगान प्रस्तुत गरिन्छ वा लुगाफाटा वा कुनै बाजागाजा वा कुनै पूजा–अनुष्ठानमा प्रयोग हुने सामासरदाम, उत्पादनका साधन, प्रविधि, कला सिर्जना आदि जस्ता वस्तुहरू रूप पक्ष हुन् । तत्तत् वस्तुभित्र अन्तरनिहित अर्थ–वैशिष्ट्यहरूचाहिँ सार पक्ष हुन् । यस अर्थमा संस्कृतिको वस्तु पक्ष भनेको बोक्रो हो भने सार भनेको गुदी । वस्तु पक्ष भनेको मासु हो भने सार पक्ष भनेको हाड । खानाको परिकार संस्कृतिको वस्तु पक्ष हो भने स्वाद र बास्ना त्यसको सारभूतता । 

संस्कृतिलाई वस्तुगत (ट्यान्जिबल) र अभौतिक वा अमूर्त (इन्ट्यान्जिबल) भनेर छुट्याउने चलन पनि छ । इन्ट्यान्जिबल संस्कृति भन्नाले इतिहास, भूमिसँगको अविच्छिन्न नाता, मौखिक परम्परामा कायम रहेको (जस्तै) लिम्बूको मुन्धुम, मठमन्दिर आदिको कथास्थाजस्ता कुरालाई इन्ट्यान्जिबल संस्कृति भनिन्छ । मानवशास्त्रमा चाहिँ रूपपक्षीय संस्कृतिलाई ट्यान्जिबल र सारपक्षीय संस्कृतिलाई इन्ट्यान्जिबल भनिन्छ ।     

संस्कृतिका विशेषताहरू
संस्कृति मानव समुदायको साझा सम्पत्ति हो । मान्छे जन्मन्छन्, मर्छन्, तर संस्कृति रहिरहन्छ । यस अर्थमा संस्कृति मान्छेले व्यक्तिगत तहमा बनाउने होइन, बरु संस्कृतिले मान्छे बन्ने हो, र मान्छेले त संस्कृति पालन गर्ने मात्र हो ।  संस्कृति भनेको सामाजिक संरचनाजस्तै हो, तर व्यक्ति व्यक्ति नै हो । व्यक्ति नाशवान् हुन्छ, तर संस्कृति शाश्वत । संस्कृतिका केही विशेषता यस्ता हुन्छन्–  
१)    संस्कृति सामाजिक सामूहिकतामा आधारित हुन्छ । यो व्यक्तिगत कुरा होइन । तर, समाजका सदस्यहरूले परस्परमा साझा अर्थबोध गरेको कुरामा आधारित हुन्छ संस्कृति । यसलाई सम्पूर्णता (टोटालिटी वा होलिस्टिक) को अर्थमा बुझिन्छ । भन्नुको मतलब कुनै संस्कृतिको एक पाटोलाई एकांगी वा एकपक्षीय व्याख्या गरेर मात्र अर्थ खुल्दैन । सम्पूर्णपक्षीय व्याख्या गर्नुपर्छ ।  

२)    संस्कृति पुस्ता–पुस्तान्तरमा हस्तान्तरण हुन्छ । एक पुस्ताबाट अर्को पुस्तामा र व्यक्तिहरूबीचसमेत संस्कृतिको हस्तान्तरण भाषाका माध्यमबाट हुन्छ । यस अर्थमा भाषा संस्कृति प्रसार र हस्तान्तरणको भेइकल हो । कुनै व्यक्तिले संस्कृति प्रथमतः परिवारबाटै सिक्छ । बच्चाले वा व्यक्तिले परिवार र समुदायबाटै क्रमशः सांस्कृतिक हुने प्रक्रियालाई सामाजिकीकरण र सांस्कृतिकीकरण भनिन्छ । त्यसो त मानवशास्त्रीहरूले व्यक्तिको व्यवहार, उसको चिन्तन र शोच, वैचारिक धरातलजस्ता कुराको निर्धारण पनि सामाजिकीकरण वा सांस्कृतिकीकरणले गर्छ भन्छन् । 

३)    मानव समाजका फरक–फरक संस्कृति हुन्छन् । मानवशास्त्रले कुनै पनि देशमा एकै संस्कृति हुन्छ भन्ने मान्यता राख्दैन । संस्कृतिहरू विविध हुन्छन् र वैशिष्ट्यपूर्ण भिन्नता नै कुनै पनि संस्कृतिको विशेषता हो । यस अर्थमा संस्कृति वैश्विक (युनिभर्सल) हुँदैन, बरु स्थानविशेष रूपले आफ्नै किसिमको विशिष्टतायुक्त (पार्टिकुलर) हुन्छ । त्यसैले मानवशास्त्रीय ढंगमा भन्नुपर्दा ‘नेपाली संस्कृति’ भन्नु समस्यामूलक हुन सक्छ । बरु मगर, क्षेत्री, बाहुन, राउटे, गुरुङ, लिम्बू संस्कृति भन्नुले विशिष्टतायुक्त सांस्कृतिक अर्थ दिन्छन् । ‘नेपाली संस्कृति’ भन्नुले गोलमटोल अर्थ दिन्छ किनभने नेपालमा आ–आफ्नै विशिष्टतायुक्त सयौँ भिन्न संस्कृतिहरू अर्थात् जीवनशैली छन् ।

४)     संस्कृतिले व्यक्तिहरू निर्माण गर्छ, साथै व्यक्तिले सामूहिक श्रमद्वारा त्यही संस्कृतिको पुनःनिर्माण गर्छन् । हो, व्यक्तिको जन्म हुनुअघि नै संस्कृति थियो, तर त्यसको पुनःनिर्माण वा सांस्कृतिक सम्बन्धको पुनरुत्पादनचाहिँ सामाजिक व्यक्तिहरूकै सामूहिक श्रमद्वारा हुन्छ । उदाहरणतः नेवारी समाज वा संस्कृतिलाई लिऊँ, नेवारी संस्कृति, समाज र त्यस समाजको गुठी परम्पराबीच अविच्छिन्न र अन्योन्याश्रित सम्बन्ध छ । यस्तो लाग्छ, गुठीको रीतिथिति नै नेवारी संस्कृति र शाश्वत पहिचानको आधारस्तम्भ हुन् । भनौँ, गुठी परम्परा शाश्वत र चिरस्थायी छन्, तर व्यक्तिको जीवन क्षणभंगुर ।

यहाँ बुझ्नुपर्ने कुरा के हो भने जसै कुनै नेवार परिवारमा व्यक्तिको मृत्यु हुन्छ, यस्तो अनुभूति होला कि अब समाजको गति ठप्प भयो । र, मान्छे रुन कराउन थाल्छन्, रुवाइको पनि रीत हुन्छ, समाजका कुन सदस्यहरू रुने भन्ने हुन्छ । समाजको गति त रोकिनु भएन, गतिवान् हुनैपर्छ । त्यसैले मृत्यु संस्कारसँग सम्बन्धित गुठी सक्रिय हुन्छ, मृतकलाई कसले तयार गर्ने, कसको भूमिका के, यी सबै कुरा गुठी व्यवस्थामा तय भएको हुन्छ । यसरी समाजका विभिन्न सदस्यहरू मिली मृत्यु संस्कार सम्पन्न गरिन्छ । त्यो हुनु भनेको समाज ठप्प भएको छैन, यस्तै संस्कारहरूद्वारा सामाजिक सम्बन्ध संस्कृति पुनःनिर्मित भइरहन्छन् भन्ने देखिन्छ ।

यसैगरी अर्को उदाहरण, तामाङ व्यक्तिको मृत्युमा त्यस समाजको कुल र कुटुम्ब दुवै खाले नातागोता क्रियाशील हुनुपर्छ । जस्तैः तामाङमा एउटा व्यक्तिको मृत्युमा ज्वाइँ (कुटुम्ब) खालले मृतक तयार गर्ने काम गर्नुपर्छ । बिहे गरेर गएका चेलीहरूले मलामीलाई खाजा–पानी बन्दोबस्त मिलाउनुपर्छ, मृतकको आत्माको चिरशान्तिका लागि लामाले अनुष्ठान सम्पन्न गर्दछन् । यो सारा प्रक्रियाले तामाङ समाज र संस्कृति जिउँदोजाग्दो नै छ है भन्ने बुझाउँछ । माथिका दुई उदाहरण दिनुको उद्देश्य यति मात्र हो कि, संस्कृतिले व्यक्तिहरू निर्माण गर्छ, तर व्यक्तिहरूकै सामूहिक श्रम र लगानीले संस्कृतिको पुनःनिर्माण पनि गर्दछ । यो परस्परमा निरन्तर चल्ने प्रक्रिया हो । 

५)   मानवशास्त्रमा कुनै संस्कृति राम्रो, कुनै नराम्रो हुँदैन । सबै संस्कृति आफ्नै वैशिष्ट्ययुक्त हुन्छन् र संस्कृतिलाई हेर्दा बुझ्दा त्यसैको परिप्रेक्ष्य र विशिष्ट सन्दर्भमा हेर्नुपर्छ । अर्को कुरा के पनि हो भने हाम्रो चर्मचक्षुको नजरले कुनै वस्तुको रूप हेरेर त्यसमा अन्तरनिहित विशिष्ट अर्थ निक्र्योल गर्नु हुँदैन । वस्तु फरक–फरक भए पनि ती फरक वस्तुमा अन्तरनिहित विशिष्ट अर्थहरू उत्तिकै उदात्त र मुक्तिकामी हुन सक्छन् । उदाहरणतः एकजना बाहुनी बजैले फलफूल, दूध, गंगाजल, नरिवल आदि जस्ता ‘सात्विक’ वस्तुहरू आफ्नो इष्ट देवीदेवतालाई चढाउलिन् । त्यसैगरी एकजना लिम्बुनी बजैले आफ्ना इष्टदेवी, देउतालाई रक्सी, सुँगुरको मासु, जाँडजस्ता ‘तामसिक’ वस्तु चढाउलिन् ।

यस्तोमा ‘सात्विक’ वस्तु चढाउने पूजाआजा वा धर्म राम्रो, विकसित र ‘तामसिक’ वस्तु चढाउने धर्मचाहिँ अविकसित र पछौटे धर्म भन्ने किसिमको व्याख्या मानवशास्त्रले कहिल्यै गर्दैन । कदाचित् त्यसो गरियो भने त्यसमा सत्ता वा शक्तिसँग सम्बन्धित पूर्वाग्रहपूर्ण हेराइ रहेछ भन्ने हुन्छ । त्यो मानवशास्त्रीय हेराइ हुँदैन । बरु यसमा कसरी हेरिन्छ भने ‘तामसिक’ वस्तु देउतालाई चढाउने लिम्बुनी बजै र ‘सात्विक’ वस्तु देउतालाई चढाउने बाहुनी बजै, दुवैले ती वस्तुहरू आफ्नो इष्टदेवतालाई चढाएर प्राप्त गर्ने, अनुभव वा महसुस गर्ने जो सर्वोच्च आध्यात्मिक अर्थ र आनन्दबोध हो त्यो एकै तहको हुन्छ भनेर बुझ्नुपर्छ । यहाँ फेरि पनि के भन्न खोजिएको हो भने संस्कृतिको मानवशास्त्रीय अध्ययनमा वस्तुको रूप पक्षमा फरक देखिए पनि सारको शाश्वत अर्थबोध एकै तहको हुन्छ । 

संस्कृति बुझ्ने र नेपालमा संस्कृति सुहाउँदो विकास योजना वा त्यस्तै नीतिनियमहरू बनाउने मामिलामा नेपाल सरकार अबुझक्की देखिन्छ । सांस्कृतिक विविधता र बहुलता नेपालको वैशिष्ट्य हो, तर सरकारको संस्कृति हेर्ने नजर सँधै  कमजोर छ ।


संस्कृतिको अध्ययन कसरी गर्ने ?
मानवशास्त्रले संस्कृतिको अध्ययन सम्बन्धित जनसमुदायमै रहेर त्यहीँको दैनिक जीवनयापनका प्रक्रियामा सहभागी भएर सम्पन्न गरिनुपर्छ भन्ने मान्यता राख्छ । परम्परागत रूपमा मानवशास्त्रीय ‘फिल्डवर्क’ वा सहभागितामूलक अवलोकन लामो समय (कम्तीमा १ वर्ष) मा सम्पन्न गर्नुपर्छ भन्ने मान्यता छ । तर, हिजोआज भने छोटो समयमा पनि आफ्नो विभिन्न विषयगत रुचिअनुसार अध्ययन सम्पन्न गर्ने चलन बढ्दै छ । विगतमा मानवशास्त्रीले फरक भाषा बोल्ने आफूले पहिले कहिल्यै नभेटेका समाज संस्कृतिको अध्ययन गर्नाले पनि उनीहरूसँगै बस्दै, भाषा सिक्दै, बोल्दै यसरी लामो समय खर्च गरेर संस्कृतिको व्याख्या गर्न सक्षम हुन्थे । तर, भाषाको समस्या छैन भने छोटो समयमै पनि संस्कृतिको अध्ययन सम्भव छ भन्ने लाग्छ । 

संस्कृतिको अध्ययन प्रथमतः निर्दोष नजर (इनोसेन्ट आइज) र खुला दिमाग (ओपन माइन्ड) का साथ सुरु गर्नुपर्छ भन्छन् मानवशास्त्री फ्रेडरिक बार्थ । भनाइको अर्थ, हामीमा कुनै संस्कृतिप्रति पूर्वाग्रही नजर हुनुहुन्न । कारण, कुनै पनि संस्कृतिको आफ्नै वैशिष्ट्य र ऐतिहासिकी हुन्छ । त्यसैले कुनै पनि संस्कृतिको अध्ययन गर्दा मानवशास्त्रीहरूले आफू हुर्के बढेको वा आफ्नो समाज र संस्कृतिबाट बोकिल्याएको जो बुझाइ छ, त्यस नजरबाट नहेरीकन, त्यही अध्ययनअन्तर्गतकै संस्कृतिको पृष्ठभूमि र परिप्रेक्ष्यमा हेर्नु र बुझ्नु जरुरी छ । जस्तै, कुनै पश्चिमा देशको मानवशास्त्रीले नेपालको कुनै गाउँ परिवेशको बाहुन परिवारको अध्ययन सुरु गर्दा उक्त बाहुन परिवारमा खानापश्चात् गाईको गोबरले चुलो लोटाएर ‘चोख्याएको’ कुरा जीवनमा पहिलोपटक देख्ला, तर उसले यसको विशिष्ट माने त्यही परिवारकै सांस्कृतिक पृष्ठभूमिमा के हुन सक्छ भनेर हेर्नुपर्ने हुन्छ, न कि अन्य अर्थमा ।

क्लिफोर्ड गिर्जले संस्कृतिबारे दुई तहको अध्ययन वा वर्णन हुन्छ भनेका छन्, ‘छिपछिपे वा सतही वर्णन (थिन डिस्क्रिप्सन) र सघन वर्णन (थिक डिस्क्रिप्सन) ।’ कुनै पनि पूजाआजा, अनुष्ठान, चाडपर्व, सामाजिक व्यवहार आदिको फोटोग्राफिक वा भिडियोले खिचेझैँ मात्र सपाट वर्णन गर्ने हो भने त्यस्तोलाई थिन डिस्क्रिप्सन भन्छन् उनी । त्यसैगरी सतही वर्णनमा देखिएका सारा विवरणलाई राजनीतिक, सामाजिक, ऐतिहासिक, धार्मिक आदि सन्दर्भहरूमा राखेर विस्तृत व्याख्या गर्ने हो भने त्यस्तो व्याख्यालाई सघन व्याख्या वा थिक डिस्क्रिप्सन भन्छन् गिर्ज । उनका अनुसार मानवशास्त्रको मूल काम भनेको संस्कृतिको सघन व्याख्या गर्नु हो ।

 कुनै पनि सांस्कृतिक अनुष्ठान, व्यवहार, चालचलन, पर्व, परिघटना आदिको सोझो सपाट वर्णनले मात्र पुग्दैन । गिर्ज भन्छन्, ‘प्याजको पत्र–पत्र उप्काउँदै लगेजस्तै संस्कृतिको अर्थसमेत तह तह गरेर खुलाउँदै स्पष्ट पार्न सकिन्छ ।’ संस्कृतिको अध्ययन विधिको उदाहरण गिर्जले मान्छेको आँखा स्वाभाविक रूपमा झिम्किनु (ब्लिंकिङ) र मान्छेले कसैप्रति लक्ष्य गरेर आँखा झिम्काउनु (विङकिङ) बीचको फरकसँग तुलना गरेर स्पष्ट पारेका छन् । स्वस्थ मान्छेको आँखा घरीघरी झिमझिम गर्नैपर्छ, अनुमान गरौँ, आँखा झिमझिम नगरी मान्छेको जीवन सम्भव होला ? तर, यस कुराको अर्थ यतिमै सीमित छ, स्वस्थ मान्छेको आँखा झिमझिम हुनु उसको शारीरिक आवश्यकता हो ।

योभन्दा बढी आँखा झिमझिम गर्नुको अर्थ छैन । यो खाले वर्णनलाई नै थिन डिस्क्रिप्सन भन्छन् गिर्ज । तर, कुनै व्यक्तिले एउटा समूहमा बैठक गरिरहेको बखत अर्को व्यक्तिलाई लक्षित गरेर आँखा झिम्काइदियो भने त्यसको अनेकखाले, जस्तै षड्यन्त्र वा कुनै गोप्य सल्लाह, माया–प्रीतिका कुराको अर्थ लाग्न सक्छ । यस्तो आँखा झिम्काइको अर्थ सामाजिक, सांस्कृतिक, राजनीतिक, सांस्कृतिक पृष्ठभूमिमा मात्र बुझ्न सकिन्छ । त्यसका लागि समाज संस्कृतिका सम्बन्धित सदस्यहरूले आँखा अरूतिर झिम्काउनुको अर्थ के कस्ता हुन सक्छन् भन्ने निहितार्थ एक–आपसमा सामाजिक रूपमा नै बुझिल्याएको हुनुपर्छ । अनि मात्र आँखा अरूतर्फ झिम्काउनुको अर्थ खुल्छ । यस्तो विस्तृत र विस्तारित किसिमले अर्थ खुलाउने, व्याख्या गर्ने प्रक्रियालाई क्लिफोर्ड गिर्जले थिक डिस्क्रिप्सन विधि भनेका छन् । फेरि पनि, आँखा झिम्किने र झिम्काउने प्रक्रियालाई संस्कृतिको रूप पक्षबाट हेर्दा एउटै देखिन्छन् । फोटो, भिडियो लिने हो भने उस्तै देखिन्छन्, तर अर्थपूर्ण सारपक्षको कोणबाट हेर्ने हो भने आँखा ‘झिम्किनु’(फिजिओलोजिकल नेसेसिटी) र ‘झिम्काउनु’ (सोसल एक्टिभिटी, कन्सपिरेसी) बीच बृहत् भिन्नता छन् । सारमा भन्ने हो भने संस्कृति अध्ययन र वर्णन गर्ने प्रमुख विधि ‘थिक डिस्क्रिप्सन’ नै हो । 

नेपाल सरकार र नेपाली संस्कृतिहरू
संस्कृति बुझ्ने र नेपालमा संस्कृतिसुहाउँदो विकास योजना वा त्यस्तै नीति–नियमहरू बनाउने मामिलामा नेपाल सरकार अत्यन्तै अबुझकी देखिन्छ । सांस्कृतिक विविधता र बहुलता नेपालको वैशिष्ट्य हो, तर नेपाल सरकारको संस्कृति हेर्ने नजर सधैँ कमजोर छ । एकाधपटकबाहेक, संस्कृतिलाई कहिले खेलकुद मन्त्रालयसँग राख्ने र दोहोरी गीतको अर्थमा सीमित गर्ने गरिन्थ्यो भने अहिले पर्यटन मन्त्रालयअन्तर्गत राखेर विदेशी पर्यटकलाई आदिवासीका मकै भुट्ने हाँडी, जाँड बोक्ने चिन्डो आदि प्रदर्शन गरेर केही डलरमा शुल्क आम्दानी गर्ने स्रोतका रूपमा संस्कृतिलाई लिएको छ, नेपाल सरकारले । अन्य समयमा जे भए पनि प्रथम संविधानसभाको सुरुदेखि झन्डै अन्त्यसम्म भने ‘संघीय मामला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति’ मन्त्रालय भनेर नेपालको सांस्कृतिक विविधतालाई संघीय प्रणालीको आधार मान्ने हो कि भन्ने आशासम्म पलाएको थियो । तर, प्रथम संविधानसभाको अन्तिम कालतिर डा. बाबुराम भट्टराईको प्रधानमन्त्रित्व कालमै संस्कृतिलाई फेरि ‘पर्यटन र नागरिक उड्डयन’ मन्त्रालयमा मिसाइयो । संस्कृति अर्थात् आमसमुदायको जीवनपद्धतिलाई ‘नागरिक उड्डयन र पर्यटन’ मन्त्रालयसँग  मिसाउनुले के देखाउँछ भने सरकार आज पनि नेपाली संस्कृतिका केही वस्तु पक्षहरू विदेशी पर्यटकलाई बेच्दै केही डलर आर्जन गर्ने तहभन्दा माथि सोच्न सक्दैन । 

(चेम्जोङ त्रिवि मानवशास्त्र केन्द्रीय विभाग प्रमुख हुन् ।)