मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
वसन्त आचार्य
२०७५ चैत २ शनिबार ०८:१४:००
Read Time : > 3 मिनेट
ब्लग

करिश्मा  मानन्धरको चिठी 

Read Time : > 3 मिनेट
वसन्त आचार्य
२०७५ चैत २ शनिबार ०८:१४:००

बालापन

घरमा रेडियोले प्रवेश पाउनु र मैले जनै लगाउनु एकै समय परेको थियो । दुवैको जन्मदिन जुम्ल्याहाजस्तो । जनैजस्तै रेडियो पनि मबाट कहिल्यै छुटेन । जहाँ जाँदा पनि रेडियो बोकेर लैजाने मेरो आदत बनिसकेको थियो । बरू म प्राणवायुलाई छाड्न सक्थेँ, तर रेडियो...? 

म फलाम भए रेडियो चुम्बक, अनि म चुम्बक भए रेडियो फलाम । म मुटु भए रेडियो धड्कन, म धड्कन भए रेडियो मुटु । मन र रहरको पत्र–पत्र रेडियोको रेसाले बनेको थियो । 

रेडियोको नशा ‘तीनपाने’भन्दा पनि खतरनाक हुँदो रहेछ । तीनपानेले एकछिन छुन्छ अनि भाग्छ तर, रेडियोको नशा भने लागेपछि लागिरहने, साथीहरू भन्थे, ‘यसरी त भाङ पो लाग्छ रे ।’ लाग्थ्यो, म रेडियो सुन्नकै लागि जन्मिएको हुँ , या मार्कोनीले मलाई जीवित राख्नकै लागि रेडियो बनाएका थिए । रेडियो बन्छु भन्दाभन्दै कतै म मान्छे त बनिनँ ? 

घरमा बाले रेडियो मात्र सुनेको देखेर गाली गरेपछि कहिलेकाहीँ झँ्वाक चल्थ्यो अनि भनिदिन्थेँ, ‘अब म मर्छु र मेरो लासमा रेडियो हालिदिनू’ । 

न त मैले कहिल्यै मर्ने आँट गरेँ न त मेरो लासमा रेडियो नै राख्नुपर्ने भयो । र, मेरो यो घुर्कीले मेरा बा कहिल्यै पनि गल्नुभएन । बा यो संसारमा मलाई नै गाली गर्नकै लागि आएका हुन् कि जस्तो लाग्थ्यो । 

रेडियो सुन्दासुन्दै रेडियोमा आफ्नो नाम पनि घन्काउने रहर टुसाउन थाल्यो । टुसाउँदासम्म त जेनतेन मन सम्हालेँ । तर, नाम गुञ्जाउने पो कसरी ? बजारमा विभिन्न विषयका कोचिङ सेन्टर खुलेका थिए, तर यो रेडियोमा नाम कसरी गुञ्जाउने कुनै पनि कोचिङ सेन्टर थिएन । रेडियो पसलको विज्ञापन गरेजस्तो रेडियोमा नामको विज्ञापन गर्न पनि कहाँ सम्भव थियो र ? रेडियोमा नाम गुञ्जाउने मेरो रहर कहाँ आँगनको कर्कलाको पातमा झुन्डिएको एक तुर्के पानीजस्तो थियो त ? यो त यशोदाले कृष्णलाई थालीभरि देखाएको चन्द्रमा जस्तो पो थियो त । 

जिन्दगीमा मानिसले के–के गर्छ के–के । सबैको गुरु त हुँदैन नि । खोइ कताबाट यो कुरा हिउँ बनेर मुटुमा पस्यो । अनि लागेँ आफैँ गुरु बन्न । विभिन्न पत्रिकामा छापिएका कविताका टुक्कालाई यताउता पारेर पठाएँ । आधा एउटा अनि आधा अर्कोबाट सारेको के पो मिल्थ्यो होला र ? स्कुलमा खाने खाजाको पैसा मात्रै सहिद भयो, रेडियोमा कहिल्यै पनि नाम बजेन । 

मनले कौतुहलताको सारंगी रेटिरह्यो । पत्र पठाएपछि रेडियो सुन्ने रोगले झनै च्याप्दोरहेछ । रेडियोकोे ज्वरो १०४ डिग्रीभन्दा उकालो लाग्यो । रेडियो कार्यक्रमका लागि पत्र पठाएपछि प्रसारण हुनेदिन स्कुल नजाऊँ–नजाऊँ हुन्थ्यो । भनिदिन्थेँ, ‘आज टाउको दुखेको छ, पेट दुखेको छ’ आदि–आदि । मैले भनेअनुरूपका रोग निको पार्न औषधि आमाले खुवाउनुहुन्थ्यो । कस्तो क्रेज, म अकारण रेडियो सुन्नकै लागि केयौँपटक औषधिसमेत खान्थे । 

रेडियोमा नाम आउँछ कि भन्ने आशामा मैले कार्यक्रम सुरु भएदेखि सञ्चालकले नमस्कार नभन्दासम्म एकछिन पनि नछाडेर सुन्थे । तर, सबैको नाम अटाउने रेडियोमा मेरो नाम कहिल्यै अटाएन । 

हावाको गति उस्तै थियो, फूलहरू बतासमा मिसिएर साल्सा नाँचिरहेका थिए । प्रकृतिको लय र गति एकनास थियो, बस एकथोक मात्रै बदलिएको थियो रेडियोमा मेरो नाम बजेको थियो । 

नेपालभरि रेडियो घरमा राखेका मान्छेले मेरो नाम र कविता सुनेका थिए । मेरो जीवनमा त्यो ‘स्काइलाइन हेडलाइन’ बनाउन लायक समाचार थियो । आफैँबाट आनन्द लाग्न थाल्यो । सम्भवतः अमेरिका जाने डिभी परेजत्तिकै लेबलको खुसी ह्वात्त खस्यो । जेनतेन थेगेँ । ‘हर्ट अट्याक’ हुन त दिन भएन नि । 

भन्छन् नि पहिलोपटक नशामा मान्छेलाई पार्न गाह्रो हुन्छ दोस्रोपटकबाट मान्छेले आफैँ खोजी–खोजी खान्छ । मलाई पनि यस्तै भयो । जब पहिलोपटक रेडियोमा नाम प्रसारण भयो एकाएक रेडियोको नाम फुकाउने रहरले भर्खरको मनलाई काउकुती लगाउन थाल्यो । 

अनुरोध संगीतमा केयौँ चिठी पठाइयो । एक्लै चिठी पठाउँदा धेरै खर्च हुने भएर समूह बनाएर सहकारीमार्फत चिठी पठाउनको क्रमको सुरुवात भयो । 

लुगा किन्ने पैसादेखि लिएर, दसैंमा टीका लगाएका सबै पैसा जम्मा गरेर पत्र पठाउने मात्र मनमा रहर टुसायो । त्यतिवेला श्री ५ को सरकारको हुलाक सेवा विभागबाट सम्मानित हुन लायक तवरले चिठी पठाइयो । सायद यही रहरले नै हुन सक्छ मैले त्यसपछिका दिनमा स्कुलमा खाजा खाएको दुर्लभ रेकर्ड होला । 

सुर्खेत क्षेत्रीय प्रसारणसँगै, रेडियो नेपाल र अल इन्डियासम्म मेरो नाम दर्ता भयो । पत्र पठायो, रेडियोमा नाम सुन्यो अनि बुर्लुक्क उफ्रियो । आहा ! जिन्दगीको वास्तविक मजा त यो पो रहेछ । जिन्दगी रेडियो, रेडियो जिन्दगी ।

रेडियो नेपालमा त्यतिवेला चलचित्रका कार्यक्रममा बढी सहभागिता जनाइन्थ्यो । एउटा कार्यक्रम आउँथ्यो– हरिवंश आचार्यको स्वर्गीय श्रीमती मीरा आचार्यले चलाउने चलचित्रसम्बन्धी ‘चित्रलहर’ (?) । जसमा आफूलाई मनपर्ने कलाकारलाई प्रश्न सोध्न सकिन्थ्यो । रेडियोमा नाम गुञ्जाउने रहरमा कृषि कार्यक्रममा समेत चिठी पठाउन छाडिदैनथ्यो झन् चलचित्रको कार्यक्रम । मैले पनि मनपर्ने कलाकार करिश्मा मानन्धरलाई हस्ताक्षरसहितको फोटो चाहियो भनेर पत्र पठाएँ । 

भाग्यको नदी सुल्टो बग्यो कार्यक्रममा मेरो प्रश्न र नाम एकैपटक बज्यो पनि । नायिका मानन्धरले रेडियोमा हुलाकवाट छिट्टै फोटो पठाउने आश्वासनसमेत दिइन् । 

नेपालकी सर्वश्रेष्ठ नायिक करिश्मा मानन्धरले मलाई नै सम्बोधन गरेर ‘वसन्त जी तपाईंलाई मेरो फोटो हस्ताक्षर गरेर पठाइदिन्छु’ पो भनिन् । मलाई ठाउँको ठाउँ फेन्ट भइएलाजस्तो पो भयो त । एकछिन् आफैँलाई सम्हाल्न धौ–धौ पो भयो । 

एकाएक तुलसीपुरको निम्नवर्गीय परिवारको केटो सबैतिर सेलिब्रेटी पो बन्यो । ओहो ! कत्रो फोटो आउने हो ? म त फोटो फ्रेमका साइज छान्न बजार बजार धाउन थाले । करिश्मा मानन्धरले फोटो पठाउने भनेपछि एकाध शत्रुको अनुहार हेर्न लायक बनेको थियो । 

फोटो आउला–आउला भनेर दिनदिनै तीन महिनासम्म हुलाकमा तारिख धाइयो । कहाँ फोटो आउनु, पछि त साथीहरूले मेरो अन्टसन्ट नाम पो राख्न थाले । मन थाम्नै गाह्रो भएपछि बजारमा गएर पोस्टकार्ड किनेर आफँैले सिग्नेचर गरेँ । मन बुझाउन त सकिएन, तर साथीभाइको अन्टसन्ट भने केही मत्थर भयो । 

 रेडियोले नाम फुकेपछि घरभन्दा पाँच किलोमिटर वारपार गर्न मन लाग्ने । जसै स्कुलमा पास भएपछि रातो निधार बोकेर प्रचारमा हिँडिन्थ्यो । रेडियोमा नाम गुञ्जनु जीवनको सबैभन्दा ठूलो सफलताजस्तो पो लाग्थ्यो । मानिसहरू बाटोमा हिँड्दा रेडियोमा नाम आउने मान्छे भनेर औँल्याउँथे । यतिसम्म कि कार्यक्रममा नाम पत्र प्रसारण भयो भनेर डायरीको पानासमेत रंगाइयो ।